पहिला जोसँग हारे, अहिले उसैलाई हराए

समाधान संवाददाता २०७९ जेठ ७ गते १३:५५

पोखरा ।
म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका नेकपा (एमाले) का बेगप्रसाद गर्बुजाले त्यतिबेलाकै प्रतिस्पर्धीलाई पराजित गरेका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई गर्बुजाले हराएका हुन् ।

विसं २०७४ मा रोकाले गर्बुजालाई ८५ मतले पराजित गरेका थिए । यस पटकको निर्वाचनमा गर्बुजाले रोकालाई १ सय २१ मतान्तरले हराउँदै जित हासिल गरे । गर्बुजाले ३ हजार ९१, रोकाले २ हजार ९ सय ७० र नेकपा (माओवादी केन्द्र) का रेशमबहादुर जुग्जालीले २ हजार २ सय २५ मत प्राप्त गरेका छन् । १३ हजार २ सय १ मतदाता रहेको मालिकामा ८ हजार ८ सय ४५ मत खसेको थियो ।

६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा एमालेले २२ वडासहित ४ स्थानीय तहमा प्रमुख, ३ स्थानीय तहमा उपप्रमुख, कांग्रेसले १७ वडासहित २ स्थानीय तहमा प्रमुख र एउटामा उपप्रमुख तथा माओवादी केन्द्रले ६ वडासहित २ स्थानीय तहमा उपप्रमुखमा जित हासिल गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया