वारागुङ मुक्तिक्षेत्रको कार्यपालिका निर्वाचन अगावै एमालेको सेटै निर्विरोध

समाधान संवाददाता २०७९ जेठ ७ गते १९:३३

जोमसोम– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कार्यपालिका निर्वाचन अगावै नेकपा एमालेबाट उम्मेदवारी दिएका सबै सदस्य निर्विरोध निर्वाचित भएका छन् ।स्थानीय तह सदस्य निर्वाचन २०७९ को निर्वाचनमा नेकपा एमालेले अध्यक्ष,उपाध्यक्षसहित २० पदमा बिजयी हासिल गरेको थियो। नेपाली कांग्रेसले २ वडाध्यक्षसहित ७ पद जितेको थियो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमाले वडा १,३ र ५ मा वडाध्यक्ष जितेको थियो । कांग्रेसले वडा २ र ४ मा वडाध्यक्ष पद जितेको थियो । जेठ १३ गते तय गरिएको वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिका निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दिने कार्यतालिका थियो । तर,वारागुङ मुक्तिक्षेत्रको गाउँसभामा एमालेका स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसबाट कुनै सदस्यले उम्मेदवारी दर्ता गराएनन् ।
वारागुङ मुक्तिक्षेत्रकी निर्वाचन अधिकृत सारदादेवी पौडेलले कार्यपालिका निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारको मात्रै उम्मेदवारी दर्ता भएको बताईन् । उनले एकल पार्टीबाट मात्रै महिलातर्फ ४ र दलित तथा अल्संख्यक सदस्यका लागि २ जना गरी ६ जनाको मात्रै उम्मेदवारी परेकाले स्वत: निर्विरोध निर्वाचित भएपनि यसको घोषणा केहीदिनपछि गर्ने जानकारी दिईन् ।
नेकपा एमालेबाट कार्यपालिका सदस्यमा निर्विरोध हुनेमा महिलातर्फ कुन्जाङमो गुरुङ,माया गुरुङ,ल्हाक्चोम गुरुङ र मनकुमारी कामी छन् । यस्तै दलित वा अल्पसंख्यकतर्फ मुनु दमाई र ल्हम्ङे गुरुङ निर्विरोध भएकमा हुन् । योसंगै वारागुङको कार्यपालिकामा एमाले ११ जना सदस्य र नेपाली कागे्रसका २ जना सदस्य हुनेछन् । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया