कांग्रेस २०७४ मा भन्दा धेरै वडा जित्न सफल

अघिल्लो पटक ११ वटा मात्र वडा जितेको कांग्रेसले नतिजा आएका १२ मध्ये १४ मा सफलता प्राप्त गरिसकेको छ

सञ्जय रानाभाट २०७९ जेठ ८ गते १५:०४

सञ्जय रानाभाट

पोखरा l
पोखरा महानगरपालिकामा ३३ मध्ये शनिबार बेलुकासम्म १९ वडाको मतगणना सार्वजनिक भइसकेको छ । गणना भएका वडामध्ये १४ वडामा कांग्रेस उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् । विगतमा एमालेले जितेका वडामा पनि यसपटक कांग्रेसले बाजी मारेको छ । ०७४ सालमा ११ वडामा सीमित रहेको कांग्रेसले यसपटक भने एमाले विरासतलाई भत्काएर १४ वडा जितिसकेको छ ।

पाँच वर्षअघि एमालेले मेयर÷उपमेयरसहित पोखरा महानगरपालकामा २२ वडा जितेको थियो । तर, यसपटक परिस्थिति ठिक उल्टो बनेको छ । विगतमा एमालेले जितेका ७, १३, १४, २४, २५, २६ र २८ वडामा कांग्रेस उम्मेदवार वडाध्यक्षमा निर्वाचित भइसकेका छन् ।

Advertisement

कांग्रेसले यसपटक एमालेको विरासत तोडेर नयाँ रेकर्ड कायम गरेको हो । तर, पोखरा ६ मा विगतमा कांग्रेसले जितेको थियो । यसपटक एमालेले त्यो वडा फर्काउन सफल भएको छ । २०५४ मा वडा नम्बर ६ एमालेले जितेको थियो । २०४९ देखि एमालेको पकडमा रहेको वडा नम्बर ७ मा यसपालि कांग्रेसले वडाध्यक्ष जितेको छ । यद्यपि अरु ४ सदस्य भने एमालेबाटै आएका छन् । त्यस्तै अवस्था वडा नम्बर २४ र २५ पनि भयो । वडाध्यक्ष कांग्रेसले जित्दा अरु सदस्य भने एमालेका विजयी भएका छन् ।

शनिबार ३ वटा वडाको नतिजा सार्वजनिक हुँदा सबैमा कांग्रेसले बाजी मारेको छ । पोखरा २८ मा कांग्रेस उम्मेदवार श्रीकृष्ण लामिछाने वडाध्यक्ष निर्वाचित भएका छन् । उनले १६ सय ५८ मत ल्याए । लामिछानेले निकटतम प्रतिद्वन्द्वी एमालेका बैनबहादुर गुरुङलाई पराजित गरे ।

Advertisement

गुरुङले १५ सय ६ मत ल्याए । माओवादीका वडाध्यक्ष उम्मेदवार श्याम केसीलाई ३११ मत प्राप्त भयो । पोखरा २८ को वडा सदस्यमा कांग्रेसका कमल थापा र एमालेका वीरेन्द्र भण्डारी निर्वाचित भएका छन् । महिला सदस्यमा कांग्रेसका डाल्डादेवी भुजेल, दलित महिला सदस्यमा कांग्रेसकै इन्द्रकला कामी निर्वाचित भएकी छन् ।

पोखरा १४ मा पनि नेपाली कांग्रेस उम्मेदवार बोधबहादुर कार्की वडाध्यक्ष निर्वाचित भएका छन् । कार्कीले विगतमा एमालेले जितेको वडा यसपटक ठूलो मतान्तरसहित कांग्रेसको भागमा पार्न सफल भए । कार्कीले एमाले उम्मेदवार डेलबहादुर गुरुङलाई १५ सय ३६ को फराकिलो मतले पराजित गरेका हुन् । काकीले ३ हजार २ सय ८० मत ल्याउँदा एमालेका गुरुङले १७ सय ५४ मत प्राप्त गरे ।

पोखरा १४ वडा सदस्यमा ३ जना कांग्रेस सदस्य र एकजना एमालेबाट निर्वाचित भएका छन् । एमालेका गोपालप्रसाद सापकोटा, कांग्रेसका कृष्णहरि काफ्ले, दिलमाया गुरुङ र तनुर्जा सार्की थापा निर्वाचित भएका छन् । कांग्रेसबाट वडाध्यक्ष उम्मेदवारमा दोहोरिएका पूर्णकुमार गुरुङ फेरि पोखरा २७ मा निर्वाचित भएका छन् । गुरुङले २४ सय ३४ मत ल्याए । उनका प्रतिस्पर्धी एमालेका सूर्यमणि लामिछानेलाई १९ सय ४० मत प्राप्त भएको छ । पोखरा २७ को सदस्यमा कांग्रेसका सूर्यबहादुर वाग्ले, जितेन्द्रबहादुर क्षेत्री, लक्ष्मी विक सदस्य निर्वाचित भए । एमालेकी बुद्धिकुमारी मगर वडा सदस्य भएकी छन् ।

हालसम्म १, २, ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४, २०, २३, २४, २५ र २६, २७, २८ नम्बर वडाको नजिता सार्वजनिक भएको छ । तीमध्ये ५ वटामा एमालेका अध्यक्ष र बाँकीमा कांग्रेसकाले जितेका छन् । वडा नम्बर १, ५, ६, ८ र २० मा बाहेक कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया