थासाङमा कालोपत्रे गर्न ६० करोडको टेन्डर

समाधान संवाददाता २०७९ जेठ ८ गते १०:५३

जोमसोम–

Advertisement

मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका अन्तर्गत लेते, छयो, कुञ्जो, टिटी, हुँदै सिर्खुङसहित ५ गाउँ जोड्ने १२ किमी कालोपत्रे सडक निर्माण गर्न ६० करोडको ठेक्का टेन्डर आह्वान गरिएको छ ।संघीय एक निर्वाचन क्षेत्र एक रणनितिक महत्वको सडक अन्तर्गत डिभिजन सडक कार्यालय बाग्लुङले हालै कालोपत्रेका लागि ठेक्का आह्वान गरेको डिभिजन सडक कार्यालय बाग्लुङका प्रमुख बलिराज मल्लले जानकारी दिए ।
थासाङको ५ गाउँ जोड्ने सडकको डिबिएसडी कालोपत्रे सडक निर्माण गर्न संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनको पहलमा भौतिक पूर्वाधार मन्त्रालयले बजेटको व्यवस्था मिलाएको थियो । मन्त्रालयले गत आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत कार्यक्रम अनुरुप थासाङको ग्रामीण भेक जोड्ने सडक स्तरोन्नतिका लागि कालोपत्रे गर्न बजेट विनियोजन भएपनि कोरोनाका कारण ढिलाई हुन पुगेको डिभिजन सडक प्रमुख मल्लले जानकारी दिए ।उनका अनुसार मन्त्रालयले थासाङको ३, ५ र २ वडा जोड्ने १२ किमी सडकको डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने जिम्मा डिभिजन सडक कार्यालय बाग्लुङलाई अख्तियारी दिएको हो । मन्त्रालय अन्तर्गत सो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर ) निर्माणको काम सकिएर ठेक्का टेन्डर खुलाईएको उनले जनाए ।
सडक डिभिजन कार्यालयले थासाङको ५ गाउँ जोड्ने रणनितिक सडकको कालोपत्रेको ठेक्का टेन्डरको समय अवधि चालु आर्थिक वर्षमा सकिने र श्रावणदेखि कालोपत्रे गर्ने काम सुरुआत गर्ने जनाएको छ ।
यसअघि कोरोना कहरले उक्त सडकको प्रारम्भिक काममा अवरोध पुगे पनि अहिले सो सडक निर्माणको पूर्व भेरिफिकेसन सर्बेसहित डिपिआर समेत फाईनल भईसकेको छ । उक्त सडकको डिपिआर निर्माण काठमाडौंको स्पार्क कल्सन्टेन्सी प्रालिले तयार गरेको थियो ‘अहिले डिपिआर गर्ने सकिएको छ ,उनले भने,अब नयाँ आर्थिक वर्षदेखि कालोपत्रेको काम सुरु हुन्छ ।’
राष्ट्रिय गौरबको बेनी—जोमसोम सडक अन्तर्गत थासाङको लेतेदेखि सिर्खुङसम्मको करिव १२ किमी सडक कालोपत्रेका लागि बजेट बिनियोजन भई ठेक्का प्रक्रिया अघि बढेको संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताए। उनले कोरोना कहरले केही समय फिल्ड भेरिफेकसनको काम हुन नसक्दा कालोपत्रेको ठेक्का प्रक्रिया अघि बढ्न नसकेको बताए । थासाङको ग्रामीण भेक जोड्ने सडकको ७ मिटर कालोपत्रे, ५० सेमी सोल्जर र १ मिटर नाली निर्माण गरिने छ। कालोपत्रे सडक निर्माणपछि थासाङको छयो, कुञ्जो, ताक्लुङ, टिटी, सिर्खुङ लगायतका गाउँका स्थानीय लाभान्वित हुने सांसद तुलाचनको भनाई छ ।
सो क्षेत्रका गाउँमा पक्की पुल र सडकको पहँुच नहुँदा निकै समस्या पर्दा स्थानीयको कृषि उपज सामाग्री सहज ढुवानी र बजारीकरणमा समस्या पर्ने गरेको सांसद तुलाचनले उल्लेख गरे।
मुस्ताङको तल्लो क्षेत्र भएर पनि सडक पहुँच नपुग्दा ओझेलमा परेको छयो, कुञ्जो, टिटी र सिर्खुङका स्थानीयले निकै सास्ती भोग्न बाध्य छन् । कृषि र पशुपालनले प्रचूर सम्भावना रहेको सो क्षेत्रका बासिन्दाले बर्खायामको मौसममा कृषि उपजको बजारीकणमा समस्या पर्दै आइरहेको थियो। गाउँमा सडक पहुँचसँगै कालोपत्रेको ठेक्का प्रक्रियामा अघि बढाईएपछि स्थानीय बासिन्दा निकै उत्साहित भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया