
लमजुङ l
गुमानसिंह अर्यालले कहिल्यै हार व्यहोर्नु परेको छैन । बेँसीसहरका ६५ वर्षीय अर्याल प्रधानपञ्चदेखि हालको स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता बन्न सफल भएका छन् । बेँसीशहर नगरपालिका वडा नं ९ का अर्याल बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै पुनःदोस्रो कार्यकालका लागि नगर प्रमुख बनेका छन् ।
पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रुपमा विसं ०४३ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक जनप्रतिनिधि अर्थात बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च चुनिएका थिए । उक्त बेला बमबहादुर अर्याल, रणबहादुर अधिकारी, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेल, गणेशबहादुर रावललगायत सात जना उम्मेदवारलाई हराउँदै उनी प्रधानपञ्च भएका थिए । विसं २०४६ को परिवर्तसँगै गाउँ पञ्चायत गाविसमा परिणत भयो ।
सोपश्चात् विसं ०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले)ले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नं ८ को अध्यक्षको उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेसका रणबहादुर अधिकारीसँग चुनावी प्रतिस्पर्धामा बराल पराजित भए तर, भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा चुनिए ।
०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई पुनःबेँसीशहर गाविसको अध्यक्ष पदको उम्मेदवार बनायो । मोहनबहादुर थापालाई उपाध्यक्षको टिकट दियो । तर, थापा पराजित भए । यता कांग्रेस उम्मेदवार बेँसीशहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल भने गाविस अध्यक्षमा निर्वाचित बने ।
०५४ मा तिलकबहादुर पौडेललाई हराएका अर्यालसँग प्रतिस्पर्धा गर्न पौडेलकै जेठा छोरा भेषबहादुर पौडेल ०७४ को निर्वाचनमा होमिए । तर, अर्यालले २ सय ९७ मतान्तरले पौडेललाई हराए । अर्यालले त्यति बेला ७ हजार ६ सय २४ मत प्राप्त गरेका थिए भने पौडेलले ७ हजार ३ सय २७ मत प्राप्त गरेका थिए ।
सो बेलामा नेकपा (माओवादी केन्द्र)सँग मिलेर एमाले चुनावमा होमिएको थियो । तर यस पटकको स्थानीय तह निर्वाचनमा एक्लै निर्जाचन प्रतिस्पर्धामा लागेको एमालेको उम्मेदवार अर्यालले कांग्रेस, गठबन्धनको तर्फबाट कांग्रेसका श्रीकान्त घिमिरेलाई प्रमुखमा पछि पार्दै २ हजार ८ को फराकिलो मतान्तरले जित हासिल गरेका हुन् ।
अर्यालले ९ हजार ४ सय ७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका घिमिरेले ७ हजार ४ सय ७१ मत प्राप्त गरे । विसं २०३७ देखि कानुन व्यवसायमा लाग्नुभएका अर्याल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी जिल्लास्थित बार इकाइको अध्यक्षसमेत भएका थ्एि । हाल एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य रहेका उनी यसअघि जिल्ला कमिटी लमजुङको दुई कार्यकाल उपाध्यक्ष र पटक पटक कमिटीमा बसेर काम गरिसकेका छन् ।
अर्याल करिब ४ दशकदेखि जनप्रतिनिधिमा क्रियाशील रहँदै आएका छन् । उहाँ विसं २०४३ देखि हालसम्म भएका ५ वटा चुनावमा निरन्तर विजयी यात्रामा अघि बढेका छन् । उनले कहिल्यै हार बेहोर्नु परेको छैन । जनताको निःस्वार्थ सेवाको परिणामले आफू लगातार जनप्रतिनिधि बन्न सफल बनेको उनको भनाइ छ ।
‘नगरलाई समानुपातिक ढङ्गले विकसित बनाउने, सबैलाई समेटेर समावेशी सिद्धान्त अनुसार नागरिकको सम्मान गर्दै अघि बढिरहन्छु’, अर्यालले भने । राजनीतिमा विश्राम लिनेबारे सोच्ने बेला नभएको उनी तर्क गर्छन् ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया