मेयरका उम्मेदवार कृष्ण थापाकै वडा पोखरा १६ मा एमाले पराजित

समाधान संवाददाता २०७९ जेठ ८ गते १८:४८

पोखरा ।

Advertisement

एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापाकै वडा पोखरा १६ मा उनका पार्टीबाट वडाध्यक्षका उम्मेदवार पराजित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार अमृत शर्मा तिमिल्सिना विजयी भएका छन् । एमालेबाट पोखरा १६ को वडाध्यक्षमा राजेश गुरुङ ‘राजु’ उम्मेदवार थिए ।

विजयी भएका तिमिल्सिनालाई गुरुङले बधाई दिएका छन् । उक्त वडाको नतिजा आइतबार सार्वजनिक भएको हो । शनिबार राति राजेशले फेसबुक स्टाटस लेख्दै आफू पराजित हुने संकेत गरेका थिए ।

Advertisement

उनले लेखेका थिए: हरेक पार्टीभित्रका घात अनि प्रतिघात, अनि जातीयताको आधारमा कसैलाई बार लगाउने क्रिया जबसम्म पार्टीका मै ठूला, मै जान्ने हुँ भन्नेहरुबाट हुन्छ तब यहाँ हजारौ ‘बालेन’ हरुलाई स्वीकार्न तपाईं तयार हुनुपर्छ !

आइतबार अपरान्ह फेरि उनले अर्को फेसबुक स्टाटस पोस्ट गर्दै लेखेका छन् :

Advertisement

आभारी छु यहाँहरु सबै प्रति !

अंकको निर्णयमा पछाडि परे यसलाई मैले सहज रुपमा लिएको छु, जनताको सेवामा समर्पित म आफूलाई आगामी दिनहरुमा अझ अगाडि बढाउने नै छु ! यतिबेला हजारौ वडाबासीहरुबाट मैले पाएको साथ्, माया, स्नेह मेरा निम्ति अमूल्य निधि हुन् र यिनै कुराहरु मेरा निम्ति ठुलो उर्जाको रुपमा रहनेछ !

वडाको नेतृत्व लिने सवालमा विजयी हुनुभएका गठबन्धनबाट नेतृत्व गर्नुहुने मेरा प्रिय अमृत तिमिल्सिना एवम् मेरा पार्टीबाट विजयी हुनुभएका ४ जना सदस्यको टिमलाई हार्दिक बधाई एवम् सफल कार्यकालको कामना सहित अबको दिनमा हाम्रो यो सुन्दर वडालाई अझ सुन्दर बनाउनको निम्ति मेरो रचनात्मक सहयोग सदैब रहने जानकारी गर्दछु ! सूर्य चिन्हलाई माया गरी मतदान गर्नुहुने प्रति आभारी छु !

यस यात्रामा मेरा निम्ति दिनरात नभनी खट्नुहुने सम्पूर्णप्रति हृदयदेखि नै सम्मानका साथै यहाँहरु सबैको जय होस् !

तपाईको प्रतिक्रिया