पोखराका बहुमत वडामा कांग्रेस विजयी

समाधान संवाददाता २०७९ जेठ ९ गते १०:५४

पोखरा l
पोखरा महानगरपालिकाका ३३ वडामध्ये आइतबार साँझसम्म २३ वडाको मत गणना सकिएको छ । बाँकी वडाको मत गणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

Advertisement

पोखराका ३३ मध्ये आइतबारसम्म कांग्रेसले १७ वडामा वडामा जित हाँसिल गरेको हो । ०७४ सालको स्थानीय तह निर्वाचनमा कुल ११ वडा सिमित रहेको कांग्रेसले यस पटक भने बहुमत वडा जितिसकेको छ । गणना हुन बाँकी अधिकांश वडामा पनि कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् ।

पोखरा महानगरपालिकाका ५ वडाका नतिजा आइतबार सार्वजनिक भए । तीमध्ये कांग्रेसले ३ वडामा जित्यो भने एमालेले २ वडाध्यक्ष जितेको छ । वडा सदस्यहरु भने मिश्रित रुपमा चुनिएका छन् । पोखरा १० मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेस उम्मेदवार राजेश गुरुङ १ हजार ८ सय ६६ मत ल्याएर वडाध्यक्ष निर्वाचित भए । उनले एमालेकी पवित्रादेवी गुरुङलाई पराजित गरेका हुन् । एमालेकी पवित्राले ९ सय ८७ मत ल्याइन् । त्यस्तै वडा सदस्यमा कांग्रेसकै परमेश्वरबहादुर कार्की, पूर्णचन्द्र न्यौपाने, नरदेवी गुरुङ र सुनीमाया सार्की चुनिए ।

Advertisement

आइतबार नै पोखरा १५ को मतगणनाको परिणाम सार्वजनिक भयो । यो वडामा एमालेका उम्मेदवारको प्यानल नै निर्वाचित भएको छ । वडाध्यक्षमा तोरणबहादुर बानियाँ निर्वाचित भए । उनले २ हजार ३ सय ३८ मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका मीनबहादुर गिरी १ हजार ७ सय २ मतमा सीमित भए । आशीष भण्डारी, बलराम पौडेल, सेतीमाया गुरुङ र मन्दिरा परियार वडा सदस्यमा निर्वाचित भएका छन् ।

पोखरा १६ मा कांग्रेस उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् । ४ सदस्य भने एमालेबाट चुनिएका छन् । यो एमालेका मेयर उम्मेदवार कृष्णबहादुर थापाको गृह वडा हो । यहाँ वडाध्यक्षमा कांग्रेसका अमृत शर्मा तिमिल्सिना चुनिएका छन् । उनी ३ हजार ३ सय १८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पधी एमालेका राजेश गुरुङले ३ हजार १ सय ७० मत ल्याए । सदस्यमा भने एमाले उम्मेदवार रामकाजी गुरुङ, रामचन्द्र आचार्य, राजकुमारी बानियाँ र मञ्जु नेपालीले जितेका छन् ।
वडानम्बर २९ मा एमालेको प्यानल नै विजयी भएको छ । वडामा एमालेका श्रीप्रसाद गुरुङ नेतृत्वको टोली चुनिएको हो ।

Advertisement

रुङले २ हाजर ४९ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी सुदेव गुरुङले १ हजार ६ सय ७४ मत पाएका छन् । यहाँ क्षेत्रबहादुर गुरुङ, कालिदास पोखरेल, निर्मला पौडेल र शुकमाया विश्वकर्मा वडा सदस्यमा निर्वाचित बने । पोखरा ३० मा कांग्रेस उम्मेदवार दुर्गाप्रसाद सुवेदी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले २ हजार ३ सय ५९ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेका सोमनाथ बास्तोलाले २ हजार १ सय ४९ मत प्राप्त गरे । खुला सदस्यमा कांग्रेसका मंगलकाजी मानन्धर र विनोदप्रसाद लामिछाने निर्वाचित भएका छन् भने एमालेका भिवकुमारी पुन गर्वुजा र उमा परियार सदस्य चुनिएका छन् ।

तपाईको प्रतिक्रिया