धनगढी र धरानमा स्वतन्त्रको जित

पोखरा l
धनगढी र धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन् । धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६ हजार ८ सय ६५ मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान प्रमुख नृपबहादुर वडले १४ हजार ८ सय १७ मत पाए ।
उपप्रमुखमा नेकपा (एमाले)का प्रत्यासी कन्दकला राना थारु १५ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी बनिन् । उनकी प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का शान्ति अधिकारीले १२ हजार ६ सय ७० मत पाएकी छन् । गत निर्वाचनमा पनि उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार रहेका हमाल निवर्तमान प्रमुख वडसँग झण्डै २ हजार ७ सय मतान्तरले पराजित गरेका थिए । उपमहानगरको प्रमुखमा कांग्रेस र उपप्रमुख माओवादीका तर्फबाट तालमेल गरी उम्मेदवारी दिइएको थियो ।
वडामा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति सत्ता साझेदार दलबीच भएको थियो । उपमहानगरका अधिकांश वडामा अध्यक्ष र सदस्यमा कांग्रेसले जितेको छ । विजयी हमालले विगतमा कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्दा ‘सुन्दर सुदूरपश्चिम प्रदेश अभियान’ सुरुवात गरेका थिए । उनकै अग्रसरतामा केही वर्षदेखि धनगढीमा कपडा बैंक सञ्चालनमा छ । बैंकमा एक पटक प्रयोग भएका कपडा पनि लगाउन मिल्ने व्यवस्था छ ।
बैंकबाट कपडा सित्तैमा उपलब्ध गराउने गरिएकाले गरीब तथा न्यून आय भएका वर्गका व्यक्तिलाई ठूलो राहत मिलेको छ । त्यस बैंकमा इच्छुक व्यक्तिले तयारी कपडासमेत उपलब्ध गराउने गरेका छन् । हमालले केही वर्षदेखि धनगढीमा निःशुल्क शब वाहनको पनि व्यवस्था गरेका थिए । नवनिर्वाचित प्रमुख हमालले उपमहानगरपालिकाले गर्ने काम पारदर्शी, जनमुखी र भ्रष्टाचाररहित बनाउने प्रतिबद्धता गरेका छन् । कैलालीका सबै १३ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जिल्लामा नागरिक उन्मुक्ति पार्टीले ४ पालिका प्रमुख र ३ पालिका उपप्रमुखमा विजयी हुँदै पहिलो दल बनेको छ ।
कांग्रेस ३ पालिका प्रमुख र ५ पालिका उपप्रमुखमा, एमाले २ पालिका प्रमुख र ३ पालिका उपप्रमुख, माओवादी २ पालिका प्रमुख र २ पालिका उपप्रमुख, नेकपा (एकीकृत समाजवादी) १ पालिका प्रमुखमा विजयी भएका छन् । माओवादी, कांग्रेस र एकीकृत समाजवादीबीच जिल्लाका पालिकाको प्रमुख÷उपप्रमुख पदमा तालमेल गरिएको थियो । सत्ता साझेदार दलहरुबीच गरिएको तालमेल अनुसारको नतिजा घोडाघोडी र गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा आएको छ । अन्य पालिका तहमा तालमेल अनुसारको नतिजा आउन सकेन । ०७४ को निर्वाचनमा जिल्लामा एमालेले ७ पालिका, कांग्रेसले ३, माओवादीले २ र तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले १ पालिका प्रमुख जितेका थिए ।
धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । ३९ वर्षीय राई कांग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै धरानको मेयर बनेका हुन् । लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका उनले राईले २० हजार ८ सय २१ मत पाएकाा छन् । निकटतम प्रतिद्वन्द्वी किशोरले १६ हजार ५९ मत पाए । एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८ सय २५ मत पाएर तेस्रो बनिन् ।
उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा २० हजार ५ सय १० मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत पाएका छन् । उपमेयरमा लौरो नै चिह्न पाएका दत्तकुमार लिम्बु भने ४ हजार १ सय २९ मत पाएर पराजित बने । राई खानेपानीको मुद्दा लिएर धरानमा लगातार आन्दोलन गर्दै आएका थिए । सोही मुद्दाका कारण उनी धरान क्षेत्रमा लोकप्रिय छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया