लाेकप्रिय मतसहित मञ्जुकाे जीत सुनिश्चत

सञ्जय रानाभाट २०७९ जेठ १० गते १२:४७

सञ्जय रानाभाट

पोखरा l
पोखरा महानगरमा उपमेयरकी उम्मेदवार मञ्जु गुरुङले ‘पपुलर’ मत पाइरहँदा एमालेभित्र भने अन्तर्घातको चर्चामा छ । स्थानीय चुनावका लागि उम्मेदवारी नजिकिँदै गर्दा नेकपा (एमाले) सचिवालय बैठकले वैशाख १० गते महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

५ वर्ष उपमेयर भएर काम गरिसकेकी गुरुङले सिधै अस्वीकार गरिन् । वैशाख ११ गते बसेको एमाले सचिवालय बैठकले उम्मेदवार परिवर्तन गर्‍यो । मेयरमा कृष्ण थापा र उपमेयरमा गुरुङलाई नै उम्मेदवार बनाउने निर्णय भयो । केन्द्रीय नेताहरूको दबाबपछि गुरुङले एमाले सचिवालयको निर्णय स्वीकारिन् ।

Advertisement

त्यति बेला एमाले कार्यकर्तामा जनप्रिय नेतालाई उम्मेदवार बनाउनुपर्ने आवाज उठेको थियो । तर, एमाले सचिवालयले गुरुङलाई मेयरको उम्मेदवार बनाउने निर्णय गर्न सकेन । जबकी उनी मेयरको दाबेदार थिइन् । टिकट वितरण हुँदा देखिएको एमालेको विवाद अझै सकिएको छैन । अहिले मतगणना अन्तिम चरणमा पुग्दा झन् चर्किएको छ । एकातिर, पार्टीले मेयरमा राम्रो उम्मेदवार नउठाएको गुनासो कार्यकर्ता गरिरहेका छन् भने अर्कातिर ‘अन्तरघात’को विषय उठेको छ ।

एमाले उम्मेदवारले पाइरहेको मतले पनि त्यसमा मलजल गरेको छ । सोमबार साँझसम्म १ लाख २८ हजार ३ सय १६ मत गणना हुँदा मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपमेयरमा एमालेकी गुरुङ जित नजिक पुगेका छन् ।

Advertisement

गठबन्धनका आचार्यले ५१ हजार ८ सय ८१ मत पाएका छन् भने एमालेका मेयर उम्मेदवार थापाले ४७ हजार ५ सय ७१ मत पाएका छन् । जबकी एमाले उपमेयरकी उम्मेदवार गुरुङले ५४ हजार ३ सय २८ मत पाएकी छन् । कांग्रेसका उपमेयर उम्मेदवार कोपिला रानाभाटले ५० हजार ६ सय २६ मत पाएकी छन् ।

पोखरामा एमाले बलियो मानिएको भए पनि मेयरका उम्मेदवारले भने उपमेयरले जसरी मत पाउन सकेनन् । एमालेका मेयरका उम्मेदवारभन्दा उपमेयरका उम्मेदवरको मत झण्डै १० हजार बढी छ । उपमेयरकै जति मत मेयरका उम्मेदवारले पाएको भए गठबन्धका आचार्यभन्दा अगाडि हुन्थे ।

थापा निकटका एमाले नेताहरू अन्तर्घात भएको दाबी गर्छन् । तर, अर्को समूहका नेताहरु भने उम्मेदवार छनोटमा ध्यान नदिएकाले मत कम आएको तर्क गर्छन् । एमालेका एक नेता भन्छन्, ‘पार्टीले उम्मेदवार चयनमा ध्यान दिएन । ०७४ को जस्तै परिस्थिति सोच्यो । मतदाताको भावना बुझेन ।’ एउटै व्यक्ति दोहोर्‍याएकाले नयाँ मतदाता बिच्किएको उनको भनाइ छ ।
एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने पनि पार्टीमा अन्तर्घात र कार्यकर्ता अनुशासनमा नबस्दा सोचे अनुरुपको मत नआएको बताउँछन् । ‘उपमेयर र वडा सदस्यका उम्मेदवारले पाएको मतले पनि हामी पोखरामा कमजोर नभएको स्पष्ट हुन्छ,’ न्यौपाने भन्छन्, ‘मत विपक्ष दलका नेतालाई जानुमा हामीबीचको अनुशासन भंग भएको र कार्यकताले पार्टी प्रणाली नमानेको देखिन्छ ।’

मेयर र वडाध्यक्षमा पार्टीकै कार्यकताको मत नआएको उनको भनाइ छ । ‘हाम्रो प्यानल मतमा वडाध्यक्ष र मेयर ‘मिस’ भइरहेका छ । त्यो भनेको हाम्रो पार्टीको आन्तरिक व्यवस्थापनको कमजोरीले देखियो,’ उनी भन्छन्, ‘मेयरमा एमालेलाई सिध्याउनुपर्छ भन्ने पार्टीभित्रै नेता लाग्नुभयो । यस कारण अन्तर्घात भएको स्पष्ट हुन्छ ।’

मत कम आउनुमा एकीकृत समाजवादीका नेता आचार्यको लोकप्रियतासमेत भएको गठबन्धनका नेताहरु बताउँछन् । ‘प्रमुख कारण त धनराजप्रतिको मानिसको आकर्षण नै हो । धनराजलाई मतदाताले पत्याए,’ गठबन्धनका एक नेताले भने, ‘एमालेकै नेताले धनराजलाई मत हालेको मत प्याटर्नमा देखिएको छ ।’

नेता दीपक पौडेलको टिकट खोसिएकाले पनि मेयरको उम्मेदवारले मत नपाएको एमालेका अर्का नेताले बताउँछन् । ‘उम्मेदवार मन नपरेर जाने मत चार–पाँच प्रतिशत बुझ्न सकिन्छ । यो भनेको चारदेखि पाँच हजार होला,’ ती नेता भन्छन्, ‘हामीले १०–१५ हजारले जित्ने आधार धेरै थिए । तर, आफ्नै पार्टीका मान्छेले विपक्षी दललाई समर्थन गरेपछि मत कम आयो ।”
एमाले नेता तथा कार्यकर्ताले मेयरमा खाली छोडेको भए पनि जित्न सक्ने देखिएको उनको भनाइ छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया