पाेखराका १६ औं मेयर धनराज भन्छन्– बजेट ४ गुणा पुर्‍याउँछौं, २ महिनाभित्रै पार्किङ व्यवस्थित गर्छौं

सञ्जय रानाभाट २०७९ जेठ ११ गते ११:४९

पोखरा।

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा मञ्जुदेवी गुरूङ पोखराको १६ औं मेयरमा निर्वाचित भएका छन् । आचार्यले ५८ हजार ८ सय ९३ मत र गुरुङले ६० हजार ५ सय ४६ मत ल्याएर निर्वाचित भएकी हुन् । एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । थापा र आचार्य बीचको मतान्तर ६ हजार ४५ छ । राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत ल्याए । उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले गठबन्धनबाट उमेदवार कोपिला रानाभाट बिचको मतान्तर ३ हजार ८ सय ८३ छ । नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याइन् ।

मेयर धनराजसँग गरिएकाे कुराकानी :

Advertisement

मेयर निर्वाचित हुनुभयो । अबका तपाईंका योजना के के छन् ?


पहिलो कुरा त हामी पोखरेलीलाई हामी सुशासनका प्रत्याभूति दिन्छौं । पोखरा महानगरपालिकालाई सबैले अनुभूति गर्ने वातावरण बनाउँछौं । पोखराका वडा र महानगरपालिकाबाट पोखरेलीको काम बिना झन्झट हुने व्यवस्था गर्छौं । पोखराको विकासका लािग अल्पकालीन र दीर्घकालीन योजना बनाएर जान्छौं । ६ महिनभित्र हामी जन्म, मृत्यु, बसाइसराईंका तथ्यांकलाई व्यवस्थित गर्छाैं । यस्ता घटना दर्ता र सिफारिस निशुल्क गर्छौं । वडादेखि महानगरसम्म जो जो निर्वाचित हुनुभयो, सपथ ग्रहणपछि दलभन्दा माथि उठेर पोखरालाई साच्चिकै पोखरा बनाउन हामी मिलेरअघि जान्छौं ।

Advertisement


महानगरमा अर्को पार्टीबाट उपमेयर चुनिनुभएको छ । काम, कारबाहीमा कत्तिको सहज होला ?


अब हामी पार्टीको भन्दा पनि सबै पोखरेलीको साझा मेयर र उपमेयर भयौं । त्यसले पोखरालाई राम्रो गर्ने कुरामा हामी सबैले सकारात्मक भएर सोच्नुपर्छ । हामी सबैको अभिभावकत्व ग्रहण गरेर जान्छौं र टिममै काम गर्छौं ।


केन्द्र सरकार फेरबदल हुँदा परिवेश फेरिन सक्छ । यस्तो भए पोखरामा के होला ? तपाईं कसरी अघि जानुहुन्छ ?


यस्तो छ, यो गठबन्धन हामीले ५ वर्षका लागि गरेका हौं, यो पूरा कार्यकाल जान्छ । अब कुरा आयो, अल्पमत र बहुमतको । हामी नगरसभामा पनि पोखरा बनाउने कुरा गर्ने हो । नगरसभा प्रत्यक्ष प्रशारण गरी विश्वभरी हेर्न मिल्ने व्यवस्था गर्छाैं । जसले नचाहिँदो कुरा गर्छ, पब्लिकले नोटिस गरिहाल्छन् । सबै निर्णय सर्वसम्मत गर्ने मेरो प्रयत्न हुन्छ । त्यहाँ कुनै पनि स्वार्थ हुँदैन । जब स्वार्थ राखिँदैन भने त्यहाँ अल्पमत र बहुमत भन्ने हुँदैन । एमालेबाट आएका साथीहरु हिजोका मेरै सहकर्मी हुनुहुन्छ । गठबन्धनको प्रतिनिधित्व पनि हाम्रो टिम हो । यसमा सबै पोखरेलीको साथ मिल्ने अपेक्षा छ ।


पोखरालाई सिधै विदेशसँग जोड्ने विमानस्थल सञ्चालन र ल्यान्डफिल साइट व्यवस्थापनबारे केही सोच्नु भएको छ ?


मतगणना चलिरहँदा म संघ सरकारका अर्थमन्त्री र पर्यटन मन्त्री दुवैसँग भेट गरेर आएको छु । अस्ति मुख्यमन्त्रीज्यू, मन्त्रिज्यूसँग एक रात काठमाडौं गएर पोखराको ल्यान्डफिल साइटका लागि बजेट विनियोजित गर्न अनुरोध गरेको छु । अर्को कुरा पोखरालाई पर्यटकीय राजधानी घोषण गर्ने कुरा संघ सरकारको नीति तथा कार्यक्रममा राखिदिन आग्रह गरेको छु । आशा छ, उहाँहरुले यसलाई सकारात्मक रुपमा लिइदिनुहुने छ ।


अब महानगरपालिकाको बजेट कस्तो आउँछ, मेगा बजेट कि पुरानै किसिमको ?


हैन, हामी सुरुआतमै मेगा बजेट ल्याउँदैनौं । सुरुआतमा कार्यालयलाई सिस्टममा ल्याउन यहाँको वातावरण बुझछौं । संघ सरकारले कति बजेट दिन्छ ? सबै कुरालाई हेरेर । अहिलेको बजेटले कुन स्टाइलमा काम गरिरहेको छ ? यसलाई परिमाजित गर्नुपरे गरेर काम गर्र्र्छाैं । एक महिना महानगरपालिकाको अवस्था हेछौं । त्यसपछि कस्तो बजेट ल्याउँदा ठीक हुन्छ । हामी ल्याउँछौं ।


तपाईंले नेतृत्व हस्तान्तरण गर्दा महानगरको बजेट कति पुग्ला ?


पोखरा महानगरपालिकाको बजेट मेरो कार्यकाल सकिएर जाँदासम्म ४ गुणा बढी हुनेछ ।


गौरवका योजना कसरी अगाडि बढाउनुहुन्छ ?

ट्राफिक व्यवस्थापनबारे हामीले बैठक गरिसकेका छौं । उहाँहरुले एउटा प्रस्ताव ल्याउनुभएको छ । त्यसबारे हामी पहिलो बैठकमा छलफल गर्छौं । पोखरामा पार्किङ व्यवस्थित र लाइनमा बस्नुनपर्ने अवस्था हामी २ महिनाभित्रै बनाउँछौं । स–शुल्क र निशुल्क पार्किङका ठाउँहरुका तोक्छौं ।


महानगर छिर्दा तपाईंले देख्नुभएका अड्चन के के छन् ?


सबै कुरा त थाहा छैन । सुनेका छौं । त्यहाँ धेरै अप्ठ्यारो छ । अब गएपछि नै थाहा होला । चुनौती सबै ठाउँमा हुन्छन् । त्यसलाई समाधान गर्दै अगाडि बढ्ने मेरो प्रयत्न हुन्छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया