मूल्यवृद्धिविरुद्ध पाेखरामा एमालेकाे प्रदर्शन

समाधान संवाददाता २०७९ जेठ ११ गते १४:४४

पोखरा l
नेपाल सरकारले खाना पकाउने ग्याँससहित डिजल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनमा गरेको मूल्य वृद्धिको विरोधमा नेकपा (एमाले)का मोर्चा संगठनले मंगलबार प्रदर्शन गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीको आयोजनामा पोखराको चिप्लेढुंगाको मानव अधिकारचोकमा युवा, विद्यार्थी र मजदूरले मूल्यवृद्धिको विरोधमा प्रर्दशन गरेका हुन् ।कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य डिल्लीराम सुवेदीले स्थानीय तह निर्वाचनको मतदानको मसी सुक्न नपाउँदै सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको उपहार जनतालाई दिएको बताए ।

उनले मूल्य समायोजन भन्ने बाहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाएको आरोप लगाए ।
युवा संघ नेपाल कास्की अध्यक्ष पानबहादुर जिसीले गठबन्धन सरकारले देश आर्थिक संकटमा परेको बाहाना बनाएर आम जनताको दैनिक प्रयोग हुने वस्तुमा मूल्यवृद्धि गरेको दाबी गरे । मूल्य वृद्धि फिर्ता नहुदासम्म युवा विद्यार्थीको आन्दोलन जारी रहने उनले उल्लेख गरे ।

Advertisement

अनेरास्ववियु गण्डकीले निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर नाफा निकाल्ने उद्देश्यले पटक पटक मूल्यवृद्धि गरेको आरोप लगाएको छ । युनियनका गण्डकी संयोजक प्रकाश पौडेलले मूल्य वृद्धि फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । ‘कोभिड १९ को मारमा परेका जनतालाई थोपरिएको महंगीले रोजीरोटीको समस्या थपेको छ । धेरै नागरिक बेरोजगार बन्नु परेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले दैनिक उपभोग्य वस्तुमा मूल्य नियन्त्रण गर्नुको सट्टा इन्धन तथा पेट्रोलियम पदार्थमा मुल्य बढाएर उपहार दिएको छ ।’

विज्ञप्तिमा सबै प्रकारको मुल्य वृद्धि बिरुद्धको आन्दोलनमा जुट्न सबैमा अपिल गरिएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हप्ता दिनमै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा २० र खाना पकाउने ग्याँसमा २ सय बढाएर पेट्रोल प्रतिलिटर १ सय ८०, डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ६३ तथा ग्यासको मूल्य १ हजार ८ सय पुर्‍याएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया