केआइयसी एम १२ भक्कुको फराकिलो जित

समाधान संवाददाता २०७९ जेठ ११ गते १५:५७

पोखरा ।
जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ७ खेल भएका छन् ।
रामेश्वरी माविको खेल मैदानमा भएकाे प्रतियोगिताको मंगलबारको खेलमा भीमाद युथ क्लबले रन्जन स्मृति युथ क्लब भीमादलाई ३–२ ले पराजित गरेको छ । भीमादका लागि लोकेश थापाले २ र अभिषेक राईले १गोल गर्दै जित दिलाउँदा रन्जन स्मृतिका लागि राजन सोसान गुरुङ र आगमन खड्काले गोल फर्काए ।

सहिद स्मृति विद्यालयले मेरो नेपाल युवा क्लब एलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गरेको छ । सहिद स्मृतिको तर्फबाट आशीष थापा, सुजन तामाङ र सन्दीप गुरुङले गोल गरे । मेरो नेपाल लागि सौरभ कार्की र सरोज सुनारले गोल गरे पनि जितका पर्याप्त हुन सकेन । अर्को खेलमा विजयपुर एफसीमाथि भण्डारढीकको आर्दश क्लबले २–० को नतिजा निकाल्यो । विकास परियारले दुवै गोल गरेका थिए ।

काउरे बयरघारी स्याङ्जालाई मसिना एफसीले ४–० फराकिलो गोल अन्तरले हरायो । विजय श्रेष्ठले २, क्षितिज जिटीले १ र विश्व थापाले १ गोल गरेका थिए । केआईईसी एम १२ भक्कुले खाल्टे गैरी गाँउलाई १०–० गोलले पराजित गरेको छ । सरोज तितुङले डबल ह्याट्रिक गरे । विकास गुरुङले २, मनोज गुरुङ र मीन गुरुङले समान १ गोल गरेका थिए ।

हाम्रो एफसीलाई जनएकता युवा क्लब हरियोले ४–० को नजिता निकाल्दै अर्को चरणमा प्रवेश गरेको छ । जनएकताका लागि आशीष कार्कीले २, सन्देश देवकोटाले १ र समुन्द्र सुवेदीले १ गोल थपेका थिए । विजयपुर एफसीले मसिना मेनचेस्टर फुडजोनलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा विजेताले १ लाख ११ हजार, उपविजेताले ६१ हजार नगद पुरस्कार प्राप्त गर्ने जनएकता युवा क्लबका सचिव घनश्याम अधिकारी(श्याम)ले जानकारी दिए । फाइनल जेठ १४ गते हुनेछ ।

तपाईको प्रतिक्रिया