‘चुनावले दलमाथि औंला ठड्याएको छ’

समाधान संवाददाता २०७९ जेठ १२ गते १०:४१

पोखरा ।
गण्डकी प्रदेशका सांसद हरिशरण आचार्यले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनले नेपालका राजनीतिक दलमाथि औंला ठड्याएको बताएका छन् । गण्डकी प्रदेश सभाको बुधबार सुरु बजेट अधिवेशनमा सांसद आचार्यले राजनीतिक दलले जनताको भावना अनुरुप काम गर्न नसक्दा दलविरुद्ध औंला ठड्याएको बताए ।

‘सरकारले दिन प्रतिदिन पेट्रोलियम पदार्थ, खाद्यान्नको मूल्यवृद्धि गर्दा जनता चपेटामा परेका छन्,’ उनले भने, ‘जनताको भावना विपरीत मूल्यवृद्धि हुँदा सरकार र राजनीतिक दल जिम्मेवार बन्न सकेका छैनन् ।’ छिटोभन्दा छिटो मूल्यवृद्धिलाई नियन्त्रण गरी मुलुकलाई धरासयी बनाउनबाट जोगाउन सबै अगाडि बढ्न जरुरी रहेको उनले बताए ।

प्रादेशिक प्रणालीले पनि देशको अर्थतन्त्रलाई धराशयी बनाएको सांसद आचार्यले बताए । ‘अर्थतन्त्रमा आएको विकराल अवस्थालाई नियमन गर्ने हो भने एकपटक एकीकृत रुपमा यो शासकीय स्वरुप परिर्वनत गर्न आवश्यक छ,’ उनले भने, ‘यो मुलुकमा प्रत्यक्ष कार्यकारीको राष्ट्रपतीय प्रणाली आवश्यक छ । यो नहुँदा एक दिन त रमाउन सकौंला तर भविष्य उज्ज्वल बनाएर अघि बढ्ने आधार बन्न सक्दैन ।’

Advertisement

गत वैशाख ३० को चुनावको धरान र काठमाडौंको मत परिणामले दलहरुप्रति जनतामा वितृष्णा भएको प्रमाणित भएको आचार्यको भनाइ छ । ‘धरानमा न कुनै संगठन छ, न कुनै भिड छ, न कुनै औपचारिकता देखिन्छ । तर कसरी अनौपचारिक कुरालाई धरानका जनताले मन पराए ? काठमाडौँमा मधेसका छोरा काठमाडौँ आएर उम्मेदवार बनेर कसरी जनताको मन जित्न सफल भयो । हामी सबै पार्टीलाई पाखा लगाएर एउटा व्यक्ति कसरी हावी भइराखेको छ,’ उनले भने, ‘गम्भीर समीक्षा गर्न जरुरी छ । अन्यथा देश दुर्घटनामा नजाला भन्न सकिँदैन ।’ देशलाई दुर्घटनामा जान नदिन राजनीतिक मूल्य मान्यता स्खलित हुुन नदिई अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देश आर्थिक संकटतर्फ जान लागेको बताए । अन्तर्राष्ट्रिय बजारमा दिनहुँजसो बढेको सामान खरिद गर्दा आर्थिक संकट हुन लागेको उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दासम्म सरकारले खरिद गरी मूल्यवृद्धि गराई जनताको ढाड सेक्ने काम गरेको छ,’ उनले भने, ‘सरकारले विकल्प खोजेर देशलाई आर्थिक संकटबाट जोगाउनुको सट्टा मूल्यवृद्धि गराई जनतालाई आर्थिक चपेटामा पार्न खोजेको छ ।’

Advertisement

जनताको हित हुने कार्यमा एमालेको साथ रहने भएकाले अहिलेको आर्थिक संकटबाट देशलाई मुक्त बनाउन पनि एमालेको साथ रहने गुरुङले बताए । आफ्नो पालामा भएका बहुवर्षीय योजनालाई आगामी बजेटमा निरन्तरता दिन उनले प्रदेश सरकारलाई आग्रह गरे । ‘योजना बनाउनेदेखि कानुने कुरामा गण्डकी प्रदेश संघीय सरकार अगाडि थियो,’ उनले भने, ‘जसलाई निरन्तरता दिन सरकारले लोकप्रिय बजेट ल्याउनुपर्छ ।’ प्रदेशले पहिलो विश्वविद्यालय स्थापना गर्न सफल भएकाले उक्त विश्वविद्यालयसँग सहकार्य गरेर अगाडि बढ्न उनले आग्रह गरे ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले अघिल्लो सरकारले लिएको बहुवर्षीय योजनालाई आगामी बजेट तथा कार्यक्रममा पनि निरन्तरता दिएको बताए । उच्च आर्थिक वृद्धि लक्ष्य तय गर्दै बजेट तथा कार्यक्रम लिएको उनको भनाइ छ । उत्पादनका साधनको प्रभावकारी उपयोग गर्न नसकिने समस्या दोहोरिएकोले कृषिमा लक्ष्य अनुरुप सफलता पाउन नसकेको बताए । ‘प्रदेशका लाखौं युवा रोजगार नपाउँदा विदेशिनुपरेको अवस्थामा प्रदेश संवेदनशील छ,’ उनले भने, ‘आगामी आर्थिक वर्ष युवालाई देशमै रोजगार सिर्जना गर्ने, सबै जसो क्षेत्रमा आत्मनिर्भर प्रदेशको जग बसाल्न कोसेढुंगा साबित हुनेछ ।’

राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले स्थानीय निर्वाचनमा महिलाको सहभागिता खुम्चिनुपर्ने बाध्यता सिर्जना भएको बताइन् । ‘यो वा त्यो कारणले महिलाको सहभागिता खुम्चाउने विषय गम्भीर विषय हो,’ उनले भनिन्, ‘महिला सरकार क्रियाकलापमा सहभागिता हुनु हुँदैन भन्ने नकारात्मक कुरा सबै दलबाट हट्न जरुरी छ । प्रदेश संरचनाले जनताको काम गरेको छ भनेर भन्न सक्ने अवस्था छैन त्यस कारण प्रदेश संरचनालाई सेतो हात्ती यसलाई अझै ५ वर्ष कायम राखौं भने देशलाई अझै कंगाल बनाउनेछ । यसको विकल्प खोज्नुपर्छ ।’

गणतन्त्रको विकल्प वैज्ञानिक समाजवाद भएको विचार थापाले राखिन् । ‘गणतन्त्रको विकल्पमा राजतन्त्र ल्याउन जुन किसिमको हर्कत भइराखेको छ यो एउटा चुनौतीको विषय बनेको छ, महँगी अकासिएको छ । दलप्रति वितृष्णा बढेको छ । दलप्रति हेर्ने नजर निकै बदलिएको छ,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया