आर्वा विजय स्कुलमा नयाँ भवन निर्माण

समाधान संवाददाता २०७९ जेठ १२ गते १२:४९

पोखरा l
पोखरा महानगरपालिका वडा नं. १३ ढाँडबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयमा नयाँ पक्की भवन निर्माण भएको छ । भारत सरकारको ३ करोड ९८ लाख ३४ हजार आर्थिक सहयोगमा २ तले १६ कोठे भवन निर्माण गरिएको हो ।

भारतीय राजदूतावासका चार्ल डी अफेयर्स नामग्य सी खम्पा र जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले मंगलबार भवन उद्घाटन गरे । राजदूतावासका खम्पाले भारतले नेपालको शैक्षिक एवं सामाजिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको बताइन् ।

नेपाल भारत बीच सदियौ बर्षको प्रगाढ मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै उनले २ देश बीच साझेदारीका आधारमा भएका विकास निर्माण उपलब्धिमूलक हुनुपर्नेमा जोड दिइन् । भौतिक पूर्वाधार निर्माणले शैक्षिक क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले यसको उपयोग र निरन्तरताका लागि स्थानीय समाज सचेत हुनुपर्ने आवश्यकता औंल्याइन् ।

Advertisement

जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले नेपालको शैक्षिक क्षेत्रको विकासमा भारतीय दूतावासको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्देसुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि गुणस्तरीय शिक्षाको खाँचो औंल्याए ।
विद्यालयको कम्पाउन्ड वाल निर्माणका लागि पोखरा महानगरको साझेदारीमा समन्वयको तर्पmबाट २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता उनले गरे । अधिकारीले गुणस्तरीय शिक्षाको माध्यमबाट मात्र विद्यार्थीको आकर्षण बढ्न सकिने विश्वास व्यक्त गरे ।

स्थानीय शिक्षाप्रेमी प्राडा कमलमणि बराल, स्वर्गीय ढुण्डीराज बराल, दयासागर बराल र धनश्याम बरालले निशुल्क दिएको १३ रोपनी ४ आना जग्गामा सो भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर बरालले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका सल्लाहकार एवं पूर्व जिविस उपसभापति श्रीनाथ बराल, शिक्षा विकास शाखा प्रमुख नारायण प्रसाद सुवेदी, विद्यालयका प्रधानाध्यापक पद्मादेवी बराल लगायतले भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाको महत्वमाथि प्रकाश पारेका थिए ।

Advertisement

डिएसआर निर्माण सेवा प्रालिका प्रोपाइटर ऋषिराम गौतमले तोकिएको समयमा निर्माण सम्पन्न भई नयाँ भवनमा कक्षा सञ्चालन भएको र सम्झौता अनुसार समयमा रकम भुक्तानी नपाउदा अप्ठेरो पर्ने गरेको सुनाए । कार्यक्रममा विद्यालयका छात्राले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया