चौतर्फी घेराबन्दीले एमाले हार्यो: पृथ्वीसुब्बा

समाधान संवाददाता २०७९ जेठ १२ गते १४:५३

पोखरा ।
पोखरा महानगरपालिकामा उपमेयर मञ्जुदेवी गुरुङ ९ वडा अध्यक्षसहित ८६ महानगर सभा सदस्य जितेको नेकपा (एमाले)ले बुधबार विजय र्‍याली तथा धन्यवाद सभा गरेको छ । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना स्थल सहिदचोकबाट सुरु भएको र्‍याली रत्नचोक, सिर्जनाचोक हुँदै पोखरा सभागृहमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमाथि भएको चौतर्फी घेराबन्दीको कारण विगतको विरासतलाई जोगाउन नसकेको बताए ।

Advertisement

दोस्रो, तेस्रो, चौथो र पाचौं नम्बरको शक्तिले एमालेबिरुद्ध घेराबन्दी गरेको उल्लेख गर्दै उनले सत्ताको चरम दुरुपयोगका कारण पोखराको मेयर गुमाएर विरासत जोगाउन नसकेको दाबी गरे । ‘पोखरामा एमालेले ५-६ हजारले जित्ने अपेक्षा थियो । ३-४ वडा वाहेक २८-२९ वडा जित्ने आसा गरेका थियाैं,’ उनले भने, ‘यस बीचमा सत्ताको चरम दुरुपयोग गरेर र पोखराको कुना कुनामा रहेका बस्तीमा पैसाको खोलो बगाएर परिणामलाई उल्ट्याउने काम भयो ।’

मेयरमा कृष्ण थापा पराजित भएकोमा सहानुभूति प्रकट गरे । मेयर गुमाए पनि उपमेयरसहित नगर सभा र कार्यपालिकामा एमालेको बहुमत रहेको उनले उल्लेख गरे । उनले ०७४ सालमा निर्वाचित जनप्रतिनिधि जनताको सेवक भएर काम गर्दा विरासत जोगाएको उल्लेख गर्दै उनले सेवक नभएर शासक जस्तो प्रस्तुत भएको ठाउँमा एमाले हारेको तर्क गरे । ‘वैशाख २७ र २८ गतेको मौन अवधिलाई हामीले उपयोग गर्न सकेनौं,’ उनले भने, ‘त्यो समयमा सत्ता गठबन्धनले मतदाताको ध्यान तान्यो । एमालेले मौनअवधिलाई उपयोग गर्न नसक्दा चुकेको हाम्रो निष्कर्ष हो ।’

एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले एमालेको प्रशस्त जनाधार र जनमत हुँदा पनि सफलता हासिल गर्न नसकेको बताए । पार्टीले महत्वपूर्ण मोर्चामा आंशिक सफलता हासिल गरेको उल्लेख गर्दै उनले कास्कीका मतदाता र पार्टीको स्थायी समितिको सदस्यको हैसियतले पार्टीका उम्मेद्वारलाई जिताउन अधिकतम प्रयास गरेको जनाए । उनले एमालेका ८६ नगर सभाका सदस्यलाई ५ वर्षसम्म एमालेको नीति तथा देश र जनताको हित विपरीत नजान निर्देशन दिए ।

मेयरका उम्मेदवार कृष्ण थापाले आफूले पाएको ५२ हजार ८ सय ४८ मतलाई शिरमाथि राखेर पोखराको विकास र समृद्धिमा लाग्ने प्रतिवद्धता गरे । ‘पार्टीलाई आम पोखरेलीले अमूल्य मत दिनु भएको छ । पार्टीले यसको उच्च सम्मान व्यक्त गर्दछौं,’ उनले भने, ‘अबको लडाईमा कहि कतै तलमाथि नगरी प्रतिवद्धतापत्रको कार्यान्वयन गर्ने छौं । ५ वर्ष हर हमेसा इमान्दार प्रतिपक्षमा बसेर काम गर्ने छौं ।’

Advertisement

उनले पार्टीले विश्वास गरेर उम्मेदवार बनाएकोमा आभार प्रकट गरे । पार्टीको पराजयले कताकता अफ्ठेरो असहज हुन सक्ने उल्लेख गर्दै उनले सबै नेता तथा कार्यकर्तालाई धैर्यता पूर्वक सबै परिस्थितिको सामना गर्न आग्रह गरे ।

निर्वाचित उपमेयर मञ्जुदेवी गुरुङले जनताले दिएको मतको कदर गर्दै इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता गरिन् । महानगर चलाउन धेरै कानुन बनेको र र विगतको अनुभवका कारण पदभार गरेलगत्तै द्रुत गगिमा सेवाग्राहीको काम गर्ने उनले उल्लेख गरिन् । पार्टीका पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने र सचिव जीवनप्रसाद आचार्यले चुनावको निर्ममता पूर्वक समीक्षा हुने सुनाए ।

तपाईको प्रतिक्रिया