हारकाे निर्मम समीक्षा गर्छाैं: एमाले नेता न्यौपाने

समाधान संवाददाता २०७९ जेठ १३ गते १०:४९

पोखरा ।
पोखरा महानगरपालिकाको मेयर तथा अधिकांश वडामा भएको पराजयकोसमीक्षा गर्दै नेकपा (एमाले)ले फेरि पनि पार्टीलाई व्यवस्थित र अनुशासित बनाउने प्रतिबद्धता गरेको छ ।

पार्टीका महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले आन्तरिक व्यवस्थापकीय कमजोरीका कारण अनपेक्षित परिणाम व्यहोर्नु परेको प्रश्न उठेका कारण वस्तुनिष्ठ भएर समीक्षा गर्ने प्रतिक्रिया दिएका छन् । अध्यक्ष न्यौपानेले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा चौतर्फी घेराबन्दी र सत्ताको चरम दुरुपयोगले विगतको परिणामसँगको तुलनामा अनपेक्षित परिणाम आएको दाबी गरे ।

विज्ञप्तिमा पार्टीमा दुबो जस्तै प्रतिकूलमा पनि अनुकुलताको खोजी गर्दै फेरि हराभरा हुन सक्ने भौतिक विशेषता भएको दाबी गरिएको छ । ‘कहिँ कतै पार्टीको आन्तरिक व्यवस्थापकीय कमजोरीका कारण अनपेक्षित परिणाम व्यहोर्नु परेको हो कि भन्ने तर्क, प्रश्न र आशंकाहरु उब्जिएका छन्,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चुनावको सन्दर्भमा यस प्रकारका आशंका र प्रश्नको निवारण गर्न वस्तुनिष्ठ ढगले निर्मम समीक्षा हुनेछ भन्ने विश्वास दिलाउन चाहान्छौं ।’ विज्ञप्तिमा पार्टीलाई फेरि पनि व्यवस्थित, अनुशासित ढंगले तीव्र गतिमा अगाडि बढाउन राजनीतिक, वैचारिक कार्यशैलिगत रूपमा एकताबद्ध बनाउँदै जनचाहना अनुरूप नै अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

Advertisement

विगतको परिणामको तुलनामा अनपेक्षित परिणाम आएको उल्लेख गर्दै विज्ञप्तिमा यस्तो प्रतिकूल र विषम परिस्थितिमा प्राप्त जनमत एमालेको पक्षमा रहेको पुष्टि गरेको दाबी गरिएको छ । सत्ताको चरम दुरुपयोगदेखि साम, दामको प्रयोग गरी मतदातालाई प्रभावित पारेको चर्चा गर्दै विज्ञप्तिमा अनेक जालझेल तथा षड्यन्त्रबीच महानगरमा उपमेयर, वडा अध्यक्षसहित बहुमत (८६) नगर परिषद् सदस्य जितेको उल्लेख छ । विज्ञप्तिमा समृद्ध पोखरा निर्माणका लागि अगाडि सारिएका राम्रा काममा सहकार्य र गलत कार्यको निरन्तर खबरदारी गर्ने उल्लेख गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया