घतलाग्दा संवादहरुको संगालो

समाधान संवाददाता २०७९ जेठ १४ गते २०:२५

युनिश गुरुङ
सिनेमालाई कलाको अर्थान्वित स्वरुप मानिन्छ । अमूर्तवाद, बिम्वजस्ता तत्वले सिनेमा सिर्जनालाई कलात्मक बनाउँछ । बिम्व, काव्यिक अभिव्यक्ति बिनाको सिनेमाले मानव संवेदना, जीवनलाई जोड्न मुस्किल पर्छ । गन्ध, स्वाद, संवेदना देखिने चिज हैन, अनुभूत गरिने कुरा हुन् । एउटा कुशल सर्जकले अमूर्त कला मार्फत यी कुराहरुलाई आफ्नो सिर्जनामा पोख्छन् । बिम्वको माध्यमबाट सिर्जनाको शिल्प खिप्छन् ।

खाँटी निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित कबड्डीको अन्तिम सिक्वेल (उपक्रम) शुक्रबारदेखि प्रदर्शन आएको छ । मुख्यतः गुलाबी रङले लेखेको चलचित्रको नाममै रङको बिम्व छ । सिनेमामा गुलाबी रङले प्रेम, दया, आत्मीयता इंगित गर्छ । निर्देशकले चलचित्रको नाममा मात्र हैन पात्रको पहिरनदेखि शृंगारमा समेत नियोजित रुपमा रङ प्रयोग गरेका छन् । चलचित्रका पात्र बमकाजी (सौगात मल्ल) र शान्ति (मिरुना मगर) ले अधिकांश भन्दा धेरै दृश्यमा गुलावी रङको पहिरन लगाएका छन् तर प्रमुख पात्र वीरकाजी (दयाहाङ राई) ले भने कलेजी रङको पहिरन प्रयोग गर्छन् । कलेजी रङले अन्तस्करण, त्याग बुझाउँछ । प्रेम, विवाहदेखि विरक्तिएका वीरकाजीलले सोल्टिनी शान्तिप्रति प्रेमभाव जागेपछि मात्र गुलाबी रङको सर्ट लगाएको देखाएको छ । यसरी निर्देशकले रङको बिम्व मार्फत हरेक पात्रको मनोभाव अभिव्यक्त गर्न खोजेका छन् ।

सरल कथावावाचन र मौलिक कथामा बनेको कबड्डी ४ को गुरुत्वबल भनेको चोटिला र हास्यरसयुक्त संवाद पनि हो । जसले दर्शकलाई पेट मिची मिची हँसाउछ । साहित्यिक चेत, सामाजिक धरातल र ग्रामीण मनोविज्ञानलाई मिहिन रुपमा छिचोलेका उपेन्द्र सुब्बाको लेखन साझेदारी तारिफयोग्य छ । सिनेमा दृश्य भाषा हो । पात्रले बोलिने संवाद र भाषाले भन्दा दृश्य मार्फत कथावाचन हुनु राम्रो सिनेमाको गुण हो ।

Advertisement

सिनेमामा गुलाबी रङले प्रेम, दया, आत्मीयता इंगित गर्छ । निर्देशकले चलचित्रको नाममा मात्र हैन पात्रको पहिरनदेखि शृंगारमा समेत नियोजित रुपमा रङ प्रयोग गरेका छन्

एउटा निर्देशकले कल्पना गरेको सिर्जनात्मक दुनियाँ निर्माणको एउटा अंशगत अस्तित्व नै दृश्य हो । अर्थपूर्ण सिनेमा बन्न अर्थपूर्ण दृश्य आवश्यक हुन्छ । कबड्डीका दृश्य केलाउँदा नियोजित रुपमा समावेश गरिएको फूल हो । फरक दृश्यमा फरक फूललाई बिम्बको रुपमा प्रयोग गरेको छ । वियोगपछि बमकाजीले प्रेमपथ भत्काउनु अथवा पृष्ठभूमिमा फूलबिनाको गमला देखाउनु, छोराको क्रियाकलापले बुबा माओत्से गुरुङ (लालकाजी) को टोपी खस्नु जस्ता सांकेतिक दृश्य प्रशंसनीय छ ।

Advertisement

त्यस्तै प्रेम–धोकाको कबड्डीमा धेरै फेर हन्डर खाएर क्षुब्ध भएका वीरकाजीलाई सोल्टिनी शान्तिले शालिग्रामसंँग तुलना गर्छिन् । थाक खोलाको बगरमा ठोक्किदै, टुक्रिँदै लडिरहेको शालिग्रामको संज्ञा दिन्छिन् । बिम्वात्मक शैलीमा देखाएको यस दृश्यले चलचित्रलाई झनै कलात्मक बनाएको छ । निर्देशकले थकाली रीतिथितिलाई मसिनो तरिकाले प्रस्तुत गरेका छन् । संस्कार अनुसरण गर्दा त्यसको चेपमा परेका सम्भ्रान्त परिवारका २ पुस्ता बीचको लुछाचुँडीलाई मजबुत रुपमा देखाएका छन् । चलचित्र काँचको पर्दा मात्र हैन, काँचको ऐना पनि हो ।

चलचित्रमा हाम्रो सामाजिक यथार्थ पनि प्रतिबिम्वित भएको छ । ३ कक्षा पढेका हस्ताक्षर गर्नसमेत नजान्ने वीरकाजी विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष छन् भने डिग्री पढेका बमकाजी बेरोजगार छन् । त्यस्तै वीरकाजी बौद्ध धर्ममा विश्वास राख्छन् तर उनकी सोल्टिनी शान्ति हिन्दु हुन् । जुन कुरा शान्तिको घरको भित्तामा टाँगेको शिव र मुक्तिनाथको फोटोले दर्शाउँछ । यसरी धार्मिक सहिष्णुता देखाउन प्रयास गरेका छन् ।

दयाहाङले आफ्नो करिअरमा सबैभन्दा लामो समयसम्म निर्वाह गरेको पात्र काजी हो । उनले काजीपात्र माथि न्याय गरेका छन् । शीर्ष कलाकारहरुको अभिनयमा खोट लगाउने ठाउँ छैन । चलचित्रको सराहनीय काम भनेको पाश्र्व संगीत पनि हो । संगीतकारले पात्रको मनोभाव, पटकथा अनुसार सुक्ष्म रुपमा संगीतले बुट्टा भरेका छन् । चलचित्रमा छायाकारको काम सन्तोषजनक छ । कैद गरिएका सुरम्य दृश्य, कथा प्रवाह अनुसारको ‘क्यामरा वर्क’, कैद गरिएका ‘लङ टेक सर्ट’ बाट उनको मिहिनत देखिन्छ । चलचित्रमा वाइड रुपमा कैद गरिएको एउटा दृश्यमा वीरकाजी अघि हुन्छ, अनि वीरकाजीलाई पछ्याइरहेकी शान्ति हुन्छिन् र शान्तिलाई बमकाजीले पछ्याएको देखाएको दृश्य अर्थपूर्ण छ । जुन दृश्यबाट पात्रहरुको मनोभाव चित्रण गरिएको छ ।

कस्तो छ कथा ?
मनोहर मुस्ताङको परिवेश, थकाली रीतिथिति, घत लाग्दा पात्रहरु, प्राकृतिक अभिनय सहित कबड्डी आएको थियो । नेपाली सिनेमा परम्परागत कथ्य शैलीमा रमाइरहेको बेला कबड्डी मौलिक स्वाद बनेको थियो । त्यसपछि कबड्डी २ मा राजनीतिको उपकथा बुनेको थियो । मुस्ताङबाट सुरु भएको प्रेम– कबड्डी खेल ‘कबड्डी ३’ सम्म आइपुग्दा घान्द्रुक ओर्लिएको थियो । यसरी ३ वटै संस्करणको प्रेम–धोकाको कबड्डीमा प्रमुख पात्र वीरकाजी हारेको थियो ।

कबड्डी ४ मा आफूलाई प्रेममा असफल ठानेका वीरकाजी सन्यासी बन्ने तरखरमा छन् । त्यसैबीच कथामा सोल्टिनी शान्ति (मिरुना मगर) प्रवेश गर्छिन् । सोल्टिनी शान्तिले शालिग्राम जस्तै बगरमा लडिरहेको बीरकाजीलाई प्रेमको भाव जगाउन खोज्छिन् । तर शान्तिमाथि (सौगात मल्ल)को झिंगे दाउ पर्छ । त्यसपछि फेरि कबड्डी खेल दोहोरिन्छ । कबड्डीको यो अन्तिम खेलमा कसले बाजी मार्ला ? को नकआउट हुन्छ ? त्यसको सकसकी मेटाउन चलचित्र नै हेर्नु पर्छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया गुरुङ, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको अभिनय गरेका छन् । त्यसैगरी चलचित्रमा काली प्रसाद बास्कोटा, एस डी योगी र अनुपम शर्माको संगीत छ । शैलेन्द्र डी कार्कीले फिल्म खिचेका छन् । बाँसुरी फिल्म र सुष्मा प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।

जब सिर्जनामाथि व्यावसायिक लाभको प्रभाव पर्न थाल्छ । सर्जकले सिर्जनात्मक दायित्व बिर्सिन्छ अनि उसको सिप बोधो हुँदै जान्छ । सीमित बजेटले निर्माण थालेको कबड्डी अन्तिम सिक्वेल आउँदासम्म व्यावसायिक रुपमा जति उकालो लागेको देखिन्छ त्यति नै निर्देशकीय कौशल ओरालो लागेको हो कि ?

चलचित्रमा लेखकलाई पटकथामै विज्ञापन घुसाउनुपर्ने बोझ देखिन्छ । जबर्जस्ती घुसाएको विज्ञापनले कथा प्रवाहलाई बाधा पु¥याएजस्तो भान हुन्छ । विज्ञापन प्रयोजनकै लागि पम्फा (गौमाया गुरुङ) पात्र स्थापित गरेको जस्तो देखिन्छ । गौमाया पात्र स्थापित गर्न लेखकको आलस देखिन्छ । एउटा दृश्यमा बमकाजीले पप्फालाई अनपढको संज्ञा दिएको हुन्छ तर अर्को दृश्यमा उनकै चिठ्ठी पढेर सुनाउछिन् । जुन दृश्यले दर्शकको दिमाग हुँडल्न सक्छ । निर्देशकले बमकाजी पात्रलाई ‘एन्टागनिस्ट’ देखाउन अनावश्यक रुपमा मदिरा पिलाएको छ ।

चलचित्रको दृश्यमा झ्याली पिट्दै माइकिङ गरेको, प्रेमपत्र कोरेको अनि विद्यालय परिसरमा राजाको फोटो झुण्ड्याएको देखाइएको छ । अर्को दृश्यमा भने डिजिटल युगको सुरुआत भएर पनि ‘फोन पे’ गरेको देखाइएको छ । यी दृश्यहरुले के सावित गर्छन् भने निर्देशकले कुन काल खण्ड देखाउन खोजेको हो स्पष्ट छैन ।

चलचित्रमा शान्ति पात्रको मनस्थिति, भावनालाई प्रभावकारी रुपमा देखाइएको छैन । उनले लिएको अडान कसरी आयो भन्ने कुरा स्पष्ट छैन । सिक्वेल भएकै कारण निर्देशकसँग पात्रलाई स्थापित गराइरहनुपर्ने चुनौती नहुँदा पनि पहिलो हाफ अनावश्यक तन्काएको जस्तो लाग्छ । खासमा कबड्डी ४ मा नवीन कथा छैन । अघिल्लो संस्करणको जस्तो उपकथा, रहस्य अनि अनुराग घटनाक्रम छैन । दमदार क्लाइमेक्स छैन ।

मुख्यतः पहिलो संस्करणले पाएको लोकप्रियतालाई क्यास गर्ने चतु¥याइँ मात्र देखिन्छ । अन्तिम शृंखलाले ‘कबड्डी’को विरासत धानेको छैन । हेरुञ्जेल यथेष्ट मनोरञ्जन त दिन्छ । बक्स अफिसमा ठूलै तरंग पनि ल्याउला तर सिनेमा व्याकरणको शुद्धशुद्धि हेर्ने हो भने पहिलो संस्करणजस्तो नलाग्न सक्छ ।

तपाईको प्रतिक्रिया