तारा एयर दुर्घटनामा एकै परिवारका ७ जना परे

समाधान संवाददाता २०७९ जेठ १६ गते ११:१७

पाेखरा ।

Advertisement

दुर्घटनाग्रस्त तारा एयरको जहाजमा धनुषा जिल्ला मिथिला नगरपालिका –११ तुलसीलोटा गाउँका सात जना सवार थिए। चालक दलबाहेक १९ यात्रुमध्ये सात धनुषाको एकै परिवारका हुन् । जहाज दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएपछि धनुषाको मिथिला नगरपालिका शोकमा डुबेको छ ।

एकै परिवारको अवकाश प्राप्त शिक्षक मकरबहादुर तामाङ, उनकी श्रीमती सुकुमाया तामाङ, राजन कुमार गोले , राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ रहेको मकरबहादुरका कान्छा छोरा सुरेश तामाङले जानकारी दिएका छन्।

Advertisement

गोले र उनका आफ्न्तहरु सवार जहाज सम्पर्कविहीन बनेको समाचार थाहा पाएदेखि नै मिथिला नगरपालिका ११ का बासिन्दा चिन्तित थिए । सोमबार बिहान जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र सवार सबैको निधन भएको खबर बाहिरिएको छ । गोलेको घरमा बिहानैदेखि मानिसहरुको भीड लागेको छ ।

एकै परिवारका उनीहरु शुक्रबार काठमाडौं आएका थिए। राजन काठमाडौं बस्छन्। उनैसँग शुक्रबहादुरका कान्छा छोरा सुरेश पनि काठमाडौंमै काम गर्छन्। उनीहरू नातामा दाइभाइ (फुपूको छोरा) हुन्।

Advertisement

मकरबहादुरसहितका परिवारजन मुक्तिनाथ दर्शन गर्ने भनेर शुक्रबार काठमाडौं आएका थिए। शनिवार राजनसहित सात जना परिवारका सदस्य जहाजबाट पोखरा पुगेका थिए। उनीहरु काठमाडौंबाटै जोमसोमका लागि टिकट बुक गरेका थिए। मुक्तिनाथ दर्शनका लागि उनीहरु आइतबार तारा एयरको ट्विनअटर जहाज चढेका थिए।

पोखराबाट जोमसोमका लागि उडेको केही मिनेटमै जहाज सम्पर्कविहिन हुन पुगेको थियो। हराइरहेको जहाज सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङको सानोस्वारे भीरमा दुर्घटनाग्रस्त अवस्थामा नेपाली सेनाको खोजी टोलीले फेला पारेको छ। दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया