दुर्घटनाग्रस्त जहाज ४३ वर्ष पुरानो
पोखरा ।
आइतबार बिहान पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएपछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको ट्विनअटर जहाज ४३ वर्ष पुरानो थियो । उक्त जहाज सन् १९७९ मा निर्माण भएको थियो ।
क्यानडाको जहाज निर्माता कम्पनी डे हेभिल्यान्डले निर्माण गरेको उक्त जहाज ‘डिएचसी–६–३००’ सिरिजको ट्विनअटर थियो। दुईथान टर्बोप्रप इन्जिन जडित उक्त जहाज २२ सिट क्षमताको थियो । क्यानडाकै इन्जिन निर्माता कम्पनी प्राट एन्ड ह्विट्नीका दुईथान इन्जिन जडित उक्त जहाज यसअघि चारपटक विभिन्न देशका वायुसेवा कम्पनीले खरिद गरेर केही सयम उडाएपछि बिक्री गरेका थिए ।
सन् १९७९ मे ४ मा पहिलोपटक उक्त जहाज दर्ता गरिएको थियो। त्यसपछि थप अन्य तीनवटा वायुसेवाले खरिद गरेर उडाएका थिए । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले खरिद गर्नुभन्दा अगाडि यो जहाज नेपालकै अर्को निजी कम्पनी लुम्बिनी एयरवेजले खरिद गरेको थियो । पछि लुम्बिनीले बेचेर अर्कै विदेशी कम्पनीको स्वामित्वमा पुगेको उक्त जहाजलाई छिल्लोपटक भने यतीले खरिद गरेको थियो ।
पछि उसैको भगिनी वायुसेवा तारा एयरको नाममा दर्ता गरेर नियमित यात्रुवाहक उडान गरिरहेको थियो । दर्ता नम्बर ‘९एन–एइटी’ रहेको उक्त जहाजलाई वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे र को–पाइलट उत्सव पोखरेलले उडाएका थिए । साथमा एयरहोस्टेस किस्मी थापा तथा १९ यात्रु थिए । तीमध्ये भारतका चार, तेस्रो मुलुकका दुई र १६ जना नेपाली हुन् ।
जहाज आइतबार बिहान ९ः५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । जोमसोमबा १०ः१५ बजे अवतरण गर्ने तालिका भए पनि घोडेपानीबाट १०ः०७ बजे अन्तिमपटक जोमसोम विमानस्थल कन्ट्रोल टावरसँग सम्पर्क भएको थियो । त्यसपछि सम्पर्कविहीन भएको जहाजलाई सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा क्षतविक्षत अवस्थामा दुर्घटनाग्रस्त भेटिएको थियो । जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया