मादीको कार्यपालिका सदस्यमा एमाले विजयी

समाधान संवाददाता २०७९ जेठ १७ गते १८:४३

पोखरा, १७ जेठ । कास्कीको मादी गाउँपालिकामा कार्यपालिका सदस्यको लागि मंगलबार निर्वाचन भएको छ ।

पालिकाको कार्यपालिकाको सदस्यमा नेकपा (एमाले)बाट दलित तथा अल्प संख्यकतर्फ २ र महिलातर्फ ४ गरी ६ जना निर्वाचित भएका हुन । दलिततर्फ वीरबहादुर परियार र अल्पसंख्यकतर्फ बामदेव भुजेल निर्वाचित भएका छन् । महिलातर्फ गंगादेवी सार्की, पूर्णसुवा गुरुङ, सिता परियार र लक्ष्मी गिरी चुनिएको निर्वाचन अधिकृतको कार्यलय मादीले जनाएको छ ।

कार्यपालिका सदस्यको चुनावको लागि ६२ मतदाता रहेको मादीमा नेकपा (एमाले)को ३३ र गठबन्धनको २७ मतदाता रहेका थिए । निर्वाचन अधिकृत दुर्गाप्रसाद भट्टराईले निर्वाचित कार्यपालिकाका सदस्यलाई प्रमाणपत्र वितरण गरे ।

Advertisement

गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले कार्यपालिका सदस्यलाई सपथ ग्रहण गराए । योसँगै मादीको कार्यपालिकामा नेकपा (एमाले)को उपाध्यक्ष कल्पना गुरुङ सहित ११ र गठबन्धनको अध्यक्ष देवीजंग गुरुङ सहित गठबन्धनको ९ सदस्य छन् ।

मादी गाउँ सभामा पनि एमालेको बहुमत छ । गत ३० वैशाखमा भएको चुनावमा उपाध्यक्षसहित एमालेका ३३ र अध्यक्षसहित गठबन्धनका २९ जना निर्वाचित भएका थिए । मादी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका थिए ।

Advertisement

नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँ कार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । त्यस्तै वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् । मादीमा १२ वडा छन् । त्यसमा ६ वटा कांग्रेस, ४ वटा एमालेले र २ वटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ । निर्वाचित महिला वडा सदस्यबाट चार जना र सोही गाउँका दलित वा अल्पसङ्ख्यक सर्वसाधारणबाट दुई जना कार्यपालिकामा निर्वाचित हुने संविधानमा व्यवस्था छ । कार्यपालिकाका जनप्रतिनिधि छनोट गर्न निर्वाचित जनप्रतिनिधि नै मतदाता हुन्छन् ।

मादीमा गठबन्धनले आफ्ना जनप्रतिनिधिलाई गठबन्धनले आर्थिक प्रलोभन देखाएको भन्दै विरोध जनाएको थियो । एमालेका ३३ जना जनप्रतिनिधि एकढिक्का भएपछि मादी गाउँ कार्यपालिकामा एमालेको बहुमत पुगेको हो । गाउँसभामा बहुमत विजयी हुँदा एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका शिवबहादुर गुरुङ (महेन्द्र)ले कार्यपालिकामा बहुमत नपुगेसम्म अबिर, खादा र माला नलगाउने अठोट गरेका थिए । कार्यपालिकामा बहुमत पुगेपछि मंगलबार नेता-कार्यकर्ताले अबिर, खादा र माला लगाइदिएका थिए ।

तपाईको प्रतिक्रिया