जसले निकाले २२ शव

सुन्दरकुमार थकाली २०७९ जेठ १८ गते १०:४०

सुन्दरकुमार थकाली l
जोमसोम l
जेठ दोस्रो साता । मुस्ताङ घुम्ने अनुकूल मौसम । अर्को महिना त असार सुरु भइहाल्छ । त्यसपछि बेनी–जोमसोम सडक वर्षाले सडक अवरुद्ध हुँदा मुस्ताङ आउजाउ सकसपूर्ण हुन्छ । यसैले धेरैजसो पर्यटक वैशाख र जेठमा मुस्ताङ घुम्न आउँछन् ।
यो समयमा पर्यटक पोखराबाट हवाई सेवामार्फत जोमसोम उत्रन्छन् ।

कुनै बेला यही समय दैनिक १० देखि १८ उडानसम्म हुन्थे । आइतबार पोखराबाट जोमसोमका लागि सुमित एअरले पहिलो उडान गर्‍यो । त्यसपछि जोमसोमबाट फर्किएर पुनः जोमसोमका लागि दोस्रो उडान भर्‍यो । त्यो जहाज जोमसोममा १०ः१४ मा अवतरण भयो ।

तर, त्यही सुमितको जहाजभन्दा १ मिनेटपछि पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको नाइन एनइटी ट्वीनअटर जहाज १०ः१५ बजे जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । जहाज म्याग्दीको घोरेपानी डाँडा छिचोल्दै मुस्ताङको आकाशसम्म आइपुग्यो । तर मुस्ताङ प्रवेश गरेको सो जहाजले गलत दिशा लियो । मुस्ताङ प्रवेश गर्दा सम्पर्कमा रहेको ताराको जहाजको दोस्रोपटक जोमसोम टावरसँग एकाएक सम्पर्क बिच्छेद भयो । साढे १० बजेसम्म पनि सम्पर्क हुन नसेपछि जोमसोम विमानस्थलमा हल्लीखल्ली भयो ।

Advertisement

पोखरा र जोमसोमका टावरबाट सम्पर्क टुटेपछि अनेकन अड्कलबाजी हुन थाले । जहाज हराएको १ घण्टा नबित्दै विभिन्न सञ्चार माध्यम यो समाचारले भरिए । मुस्ताङ प्रवेश गरिसकेको जहाज दुर्घटना भइसकेको धेरैले अनुमान गरे भने सञ्चार माध्यममा पनि त्यही खालका समाचार प्रकाशन गरे । पोखराबाट फिस्टेल एयरको माउन्टेन हेलिकोप्टर जोमसोम आइपुग्यो । त्यसपछि सुरु भयो ताराको जहाज खोजी । हेलीले बिहान साढे ११ बजेबाट थासाङका डाँडाकाडामा पुगेर जहाज खोज्न थाल्यो । मौसम बिग्रेकाले खोजी सार्थक बन्न सकेन ।

मुस्ताङ प्रशासनको समन्वयमा काठमाडौंमा नेपाली सेनाको हेलिकोप्टर कोबाङ आइपुग्यो । हेलीमा जोमसोमबाट सिडिओ नेत्रप्रसाद शर्मा, सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनजंग कार्की, प्रहरी नायब उपरीक्षक रामकुमार दानीसहितको टोली थासाङको कोवाङमा पुग्यो । सेनाको हेली कोवाङमै थियो । जहाज दुर्घटना नै भएको हो भन्ने अनुमान गरियो । थासाङको पानापाथी हिमाल र धौलागिरि हिमाल आसपास बाक्लो हुस्सु र कुहिरो मडारिएको थियो । हवाई मार्गबाट जहाज खोज्न सम्भव भएन । बेलुकी साँझ ५ बजे कैलाश एअर र इएर डाइनोस्टिकको हेली नाउरिकोट आइपुग्यो ।

Advertisement

हेलीमा नेपाल राष्ट्रिय पर्वतारोहरण संघका ट्रेकिङ गाइडको टोली थियो । । उनीलाई त्यही छाडेर पोखराबाट आएको कैलाश र इएर डाइनोस्टिकका हेली फर्किए । सोमबार बिहानैदेखि जहाज खोज्ने सहमति भयो । सेनाको हेली जोमसोम फर्कियो ।
पर्वतारोहीहरु पेम्बातेन्जिङ लामा, रितेन टसी शेर्पा, कमी धोर्जे शेर्पा, पासाङ नुरु शेर्पा, ओङ्छु शेर्पा, नरेन्द्र शाहीसहित तारा एअरका कोअर्डिनेटर राप्के शेर्पा र कर्मचारी पेम्बा छिरी शेर्पा पैदलमार्ग हुँदै मानापाथी हिमाल उक्लिए । गृह मन्त्रालय र नेपाल टेलिकमको समन्वयमा जहाज थासाङको मानापाथी क्षेत्रमा दुर्घटना भएको अनुमान गरिएकाले पर्वतारोहीसहित पर्यटन व्यवसायी ईन्द्रसिंह शेरचन स्थलमार्ग हुँदै ६ घण्टाको दूरी तय गरी बतासे डाँडा पुगे ।

त्यहाँ यार्सा खोज्ने ९ जनाको टोली पाल टाँगेर बसेको थियो । दुर्घटनाको पहिलो दिन उद्धारका लागि खटिएका उनीहरु त्यो रात त्यही पालमा बसे । भोलिपल्ट सखारै सानोसरे नजिक जहाज खोज्न पुगेका विशाल घर्तीमगरले क्षतिविक्षत जहाज देखे । उनले पर्यटनकर्मी ईन्द्रसिंहलाई फोनबाट जानकारी दिए । शेरचनले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई दुर्घटनाबारे जानकारी गराए । त्यसपछि जोमसोमबाट ३ वटै सुरक्षा निकाय सम्मिलित ६० जनाको टोली सानोसरे पठाइयो । माउन्टेनको हेलीबाट पनि सुरक्षाकर्मी त्यहाँ पुगे । सुरक्षाकर्मीको उपस्थितिमा नेपाल पर्वतारहण संघका पर्यटक गाइडहरु शव खोज्न जुटे ।

उनीहरुलाई सुरक्षाकर्मीले ब्याक सपोर्ट गरे । मानापाथी हिमालको फेदी नजिकको सानोसरे पहाडमा जहाज ठोक्किएको रहेछ । जहाजमा सवार चालक दलसहित २२ यात्रु कोही जीवित नभएको सूचना आउन थाल्यो । जहाज खसेको स्थानमा ८–१० शव थिए । घटनास्थलन निकै विभत्स र कारुणिक थियो । आधाजसो शव खोल्सामा, केही भीरमा छरपष्ट देखिन्थे । विदेशी पर्यटक लिएर हिमाल चढ्ने तालिम प्राप्त पर्वतारोही गाइडहरु रेस्क्यु उपकरणसहित त्यहाँ गएका थिए । निकै जोखिम र कष्ट खेपेर सुरक्षा निकायको सहयोगमा दुर्घटनाको दोस्रो दिनको २ बजेसम्म २० जनाको शव संकलन भयो ।

दुर्घटनास्थलमा मौसम बदलिइरहन्थ्यो । दिउँसो २ बजेपछि मौसम बिग्रिएकाले शव खोज्न रोकियो । सानोसरे लेकमा जम्मा भएका २० मध्ये १० शव माउन्टेन हेलीले कोबाङ झार्‍यो । त्यसपछि कोबाङमा आवश्यक प्रक्रिया सकेर सेनाको हेलीले साँझ शव काठमाडौं पुर्‍यायो । लेकमा बाँकी रहेको १० शव नेपाली सेना र प्रहरीको निगरानीमा सुरक्षा आधार शिविरमा राखियो । दुर्घटनाको तेस्रो दिन फेरि शव खोज्न पर्वतारोही टोली खटियो । मंगलबार बिहान ८ बजेअगावै बेपत्ता १ शव पहाडको खोल्सामा भेटियो । अर्को भीरमा अड्किएको शव पनि बाहिर निकालियो ।

त्यस बेलासम्म अघिल्लो दिन संकलन गरिएका १० शव कोबाङ झारिसकेको थियो । पछिल्लो दिन भेटिएका २ शव पनि बिहान साढे १० बजे कोबाङ ल्याइयो । नेपाली सेनाको जहाजले बिहान ११ बजे कोबाङबाट १२ जनाको शव काठमाडौं लग्यो ।
सबै शव र जहाजमा सूचना संकलन गर्न राखिएको ब्ल्याक बक्स फेला परेपछि नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले काठमाडौं लगे । दुर्घटना क्षेत्र पहिचान, रेस्क्युर र हेलिकोप्टर सहजीकरण गर्न पुगेका पर्यटनकर्मी ईन्द्रसिंहले नेपाल पर्वतारोहणको टिम र आफूले धेरै दुख र जोखिम मोलेर शव निकालेको सुनाए ।

‘हुन त सुरक्षा निकायले पनि शव व्यवस्थापनमा अथक मेहनत गरेका हुन् । यद्यपि हाम्रो रेस्क्यु टोली नभएको भए शव निकाल्न निकै मुस्किल पथ्र्यो,’ शेरचनले भने, ‘सुरक्षा निकायसँग प्रभावकारी रेस्क्यु उपकरण थिएनन्, जुन पर्वतारोहण टिमसँग थिए । सामूहिक प्रयासले शव निकाल्यौं ।’ पर्वतारोही पेम्बा तेन्जिङ लामाले शव संकलन आफ्नो टिमले गरेको र त्यसको व्यवस्थापन सुरक्षा निकायले गरेको जनाए । ‘हामीलाई संघले यहाँ पठायो । हामी मानवीय सेवाभावले आयौं,’ पेम्बाले भने, ‘हाम्रो कामको पनि मूल्यांकन भइदिए हामीलाई हौसला मिल्छ ।’

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया