पोखरा महानगरमा १७ वडामा फरक पार्टीबाट अध्यक्ष र सदस्य

समाधान संवाददाता २०७९ जेठ १८ गते १६:२३

पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर १८ मा नेपाली कांग्रेसका शिव सुवेदी वडाध्यक्ष निर्वाचित भए । तर अरु ४ सदस्यमा भने एमालेका उम्मेदवार विजयी भए । अध्यक्ष एउटा पार्टीको र अरु सदस्य अर्कै पार्टीबाट निर्वाचित मिश्रित नजिता आएका त्यस्ता वडा पोखरामा १७ वटा छन् ।

०७४ सालको स्थानीय निर्वाचनभन्दा धेरै मिश्रित परिणाम यसपालिको चुनावमा आएको छ । त्यति बेला एकाध वडामा मात्रै अध्यक्ष र सदस्य फरक फरक पार्टीबाट निर्वाचित भएका थिए । कांग्रेसले ३३ मध्ये २३ वटा वडामा अध्यक्ष जितेर कार्यपालिकामा बहुमत पु¥याएको छ । वडामा भने सदस्य गुमाएको छ । वडा नम्बर १६ को वडा अध्यक्षमा कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी हुँदा अन्य ४ सदस्यमा एमालेका उम्मेदवार विजयी भए ।

वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवारी दिएका हिमलाल बरालले सत्ता गठबन्धनको समर्थनमा चुनाव जिते तर बाँकी ४ सदस्य भने एमालेबाट निर्वाचित भएका छन् । एमालेले ८ वटा वडामा अध्यक्ष गुमाएर सदस्यमात्रै जितेको छ । यस्तो परिस्थितिलाई कतिपय नेताले वडामा एमालेले टाउको काटेर जिउ जोगाएको उपमा दिएका छन् । एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले केही दिनअघि समाधानसँग भनेका थिए, ‘एमालेलाई टाउकोमा हानेर सिध्याउने कामको देशैभरी ट्रेन्ड चलेको छ । जसरी हाम्रा टाउकाहरु वडाध्यक्ष र मेयर हराउने काम भयो । यो नियोजित भन्ने कुरा रिजल्टले प्रष्ट देखाउँछ ।’

Advertisement

०७४ को स्थानीय तहको निर्वाचनमा २२ वटा वडा जित्न सफल भएको एमाले यसपालि ९ वडामा सीमित भएको छ । अघिल्लो निर्वाचनमा ११ वडा जितेको कांग्रेस अहिले २३ वडाध्यक्ष जित्न सफल भएको छ । तर वडाध्यक्ष जितेर पनि ७ वडामा सबै सदस्य जित्न सकेको छैन । वडा नम्बर २५ मा कांग्रेसका मोती तिमिल्सिना निर्वाचित हुँदा ४ सदस्य एमालेका छन् । यस्तो मिश्रित वडा समिति हुँदा काममा अप्ठेरो पर्ला कि भन्ने संशय पनि पैदा भएको छ । तर तिमिल्सिना भने निर्वाचित भइसकेपछि वडावासीको साझा भएको बताउँछन् । दलगत कुरा त्यागेर जनताको सेवा गर्नुपर्ने भएकाले कार्यसम्पादनमा सबैको साथ मिल्ने वडा नम्बर २५ का वडा अध्यक्ष मोती तिमिल्सिनाको विश्वास छ । ‘चुनावअघि जो जुन पार्टी भए पनि निर्वाचित भएपछि सबै जनताको सेवक हो,’ उनले भने, जनताको साझा भएकाले सबै एकीकृत भएर एक अर्कालाई विश्वास गर्ने वातावरण बनाउने छौँ ।’ निर्वाचित भइसकेपछि दलगत कुराभन्दा माथि उठेर जनताको काम गर्नुपर्नेमा उनको जोड छ ।

वडा नम्बर ७ मा कांग्रेसका राममोहन आचार्य वडाध्यक्ष निर्वाचित भए तर अन्य सदस्यमा भने उनको पार्टीका सदस्य विजयी हुन सकेनन् । अन्य ४ वडा सदस्यमा एमाले उम्मेदवार निर्वाचित भए । वडा नम्बर २४ र ३१ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए तर दुवै वडामा ४ सदस्य कांग्रेसले गुमाउन पुग्यो । ४ सदस्यमा एमाले उम्मेदवार विजयी भए । वडा नम्बर १ को अध्यक्ष र ३ जना सदस्यमा एमालेका उम्मेदवार विजयी हँुदा १ वडा सदस्य कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ६ मा वडा अध्यक्षसहित २ सदस्यमा एमाले उम्मेदवार र २ सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १४ मा वडा अध्यक्षसहित ३ सदस्यमा कांग्रेस विजयी हुँदा १ जना सदस्यमा एमाले उम्मेदवार विजयी भए ।

Advertisement

वडा नम्बर १९ र २३ को कांग्रेसले वडाध्यक्ष र १ वडा सदस्य जित्दा एमालेले ३ वडा सदस्य जितेको छ । वडा नम्बर ३० मा वडा अध्यक्ष र २ वडा सदस्य कांग्रेसले जित्दा २ वडा सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ३२ मा वडा अध्यक्षसहित ३ जना वडा सदस्य कांग्रेसले जितेको छ । १ जना सदस्य एमाले उम्मेदवार विजयी भएका छन् । वडा नम्बर २७ र २८ मा कांग्रेस वडा अध्यक्षसहित ३ सदस्यमा विजयी हुँदा एमालेले १ सदस्यमात्रै जितेको छ । वडा नम्बर ३३ मा एमालेले २ सदस्य जित्दा कांग्रेसले अध्यक्षसहित २ सदस्य जित्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया