अनेरास्ववियु केन्द्रीय सदस्य महेन्द्र रिहा
पोखरा ।
अभद्र व्यवहार गरेको आरोपमा उजुरी परेपछि पक्राउ परेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सदस्य महेन्द्र उपाध्याय रिहा भएका छन् । तीन दिनदेखि प्रहरी हिरासतमा रहेका महेन्द्रलाई जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबार पाँच हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गत हप्ता अखिलको केन्द्रीय कार्यक्रमअनुसार कास्की जिल्ला कमिटीले पोखरामा सरकारी गाडी सञ्चालन रोकेको थियो ।
त्यतिबेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको शासकीय सुधार तथा समन्वय महाशाखा सचिव मनमाया भट्टराई पंगेनीको गाडी पनि रोकिएको थियो । त्यसमा असन्तुष्ट सचिव भट्टराईले अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएपछि अखिलका केन्द्रीय सदस्य महेन्द्र सोमबारदेखि प्रहरीको नियन्त्रणमा थिए ।
विद्यार्थी नेता पौडेलको रिहाइ माग गर्दै अखिलका विद्यार्थी विरोधमा उत्रिएका थिए । त्यही घटनाको भिडियो खिचेपछि सचिव भट्टराईको जाहेरीका आधारमा पक्राउ परेका माधव पौडेल पनि एक हप्ता हिरासत बसेर बुधबार पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनी भने अनेरास्ववियुसम्बद्ध होइनन् । गाडी रोकेको भिडियो खिचेपछि पौडेल पक्राउ परेका थिए ।
तपाईको प्रतिक्रिया