मतदातालाई धन्यवाद दिँदा पोखरा कांग्रेस सचिव थापालाई सभापति बिजुक्छेले मागे प्रष्टीकरण
पोखरा ।
कांग्रेस पोखरा महानगर कार्यसमिति सभापति सुरेन्द्रमान बिजुक्छेले सचिव गणेशबहादुर थापालाई प्रष्टीकरण सोधेका छन्। सचिव थापाले सोमबार महानगरका ३३ मध्ये २३ वडा कांग्रेसलाई र प्रमुखमा गठबन्धनका धनराज आचार्यलाई विजयी गराएको भन्दै मतदातालाई धन्यवाद दिँदै विज्ञप्ति जारी गरेका थिए।
सोही कारण थापालाई सभापतिले प्रष्टिकरण सोधेका हुन् ।
थापाले भनेका थिए, ‘स्थानीय तह निर्वाचन २०७९ मा पोखरा महानगरपालिकामा नेपाली कांग्रेसलाई पोखरा नगरबासीले गरेको विश्वासप्रति आभारी छौँ। महानगरपालिकाको कार्यपालिकामा प्रष्ट बहुमत दिएर पोखरेली जनताले पोखरालाई नयाँ उचाइमा लैजाने जिम्मेवारी नेपाली कांग्रेसलाई सुम्पिनुभएको छ। यो महान् जिम्मेवारी दिने पोखरेली जनताप्रति आभारी छौँ।’
उनले जनताले दिएको विश्वासलाई घाटा नहुने गरी पार्टी र जनप्रतिनिधि मिलेर काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
तर पोखरा महानगरका सभापति बिजुक्छेले भने सचिव थापाले पार्टीको लेटर हेड र छापा दुरुपयोग गरेको भन्दै प्रष्टीकरण सोधेका छन्। बिहीबार थापालाई थमाइएको प्रष्टीकरण पत्रमा विज्ञप्ति जारी गर्नु पर्नाको कारण र कारबाही नहुने भए त्यसको जवाफ सात दिनभित्र दिन निर्देशन दिइएको छ।
बिजुक्छेले लेखेको प्रष्टिकरण पत्रमा उल्लेख गरिएको छ, ‘आभारसहितको प्रतिबद्धता भनि विद्युतीय सञ्चार माध्यमबाट प्रेषित विज्ञप्तितर्फ नेका पोखरा महानगरपालिका कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ। यसै विषयमा नेका पोखरा महानगरपालिका कार्यसम्पादन समितिको मिति २०७९ साल जेष्ठ १७ गते बसेको आकस्मिक बैठकको
निणर्यबाट तपाईंले ने.का. पोखरा महानगरपालिका कार्यसमितिको लेटरप्याड र छापको अनधिकृत प्रयोग र संस्थागत धारणा भनि विज्ञप्ति प्रेषित गर्नु अनुशासनको ठाडो उल्लङ्घन होइन? समितिका पदाधिकारीहरुसँगको छलफल, सल्लाह, निर्णय र निष्कर्ष विना नै विज्ञप्ति निकाल्नु आफू संलग्न समितिकै मान मर्दन गर्नु होइन? यसरी मान मर्दन गर्नुको दुरासय के हो?’
सचिव थापाले आफूले जनताप्रति आभार व्यक्त गर्ने र जिम्मेवारी लिने जस्तो महत्वपूर्ण काम गर्दा पनि प्रष्टिकरण सोध्नु खेदजनक भएको बताए। उनले पार्टी र जनताको हितलाई छाडेर व्यक्तिगत रिसमा प्रष्टीकरण सोधेको आरोप लगाए।
यस्तो थियो थापाले जारी गरेको विज्ञप्ति
तपाईको प्रतिक्रिया