प्रादेशिक बसपार्क बनाउन सघाउँछौंः मेयर आचार्य

समाधान संवाददाता २०७९ जेठ २० गते १३:००

पोखरा ।
पोखराको लामे आहालमा बन्ने प्रादेशिक बसपार्क निर्माणका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण र सहकार्य गर्ने भएको छ । महानगरका मेयर धनराज आचार्यले स्थानीयका समस्या समाधान गर्दै छिट्टोभन्दा छिटो बसपार्क निर्माणका लागि अग्रसर हुने प्रतिवद्धता गरेका छन् ।

Advertisement

बिहीबार पोखरा महानगरको वडा नम्बर ३२ पर्ने लामे आहालमा प्रस्तावित बसपार्क निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् । पोखराको ट्राफिक व्यवस्थापन सहज बनाउन र सहरलाई व्यवस्थित बनाउनका लागि पनि बसपार्क निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । त्यसका लागि प्रदेश सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ छ ।

‘प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्छौ । तपाईका समस्यालाई सम्बोधन गर्ने गरी हामी अगाडि बढ्छौं । बसपार्क निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउनुपर्ने छ,’ उनले भने । प्रदेश स्तरीय बसपार्क भनेप नि बाइपास रोड बनिनसकेकाले यहाँबाट छुट्ने बस पोखरा भित्रिएरै बाहिरी जिल्ला जानेछन् । यसअघि प्रदेश स्तरीय बसपार्कबाट सिधै बाइपास रोडमार्फत स्याङ्जा र पर्वत जोड्ने भनिएको थियो । तर बाइपास रोड नबनिसकेकाले पोखराका भित्री बाटोबाटै बस अन्य जिल्ला भित्रिने गरी बसपार्कको डिपीआर तयार पारिएको छ ।

लामेआहालमा १ सय ७२ रोपनी जग्गा बसपार्क लागि छुट्याइनेछ । सुरुमा ७० प्रतिशत सार्वजनिक ३० व्यक्तिगत जग्गा भए पनि अहिले ३० प्रतिशत सार्वजनिक ७० प्रतिशत जग्गा व्यक्तिको बनेको पाइएको आचार्यले खुलाए । प्रदेश बसपार्कमा ८० लामो दूरीमा चल्ने बस, ३० सिटी बस, पेट्रोल पम्प, पसल बस्ने टहरा समेतको डिजाइन छ । जसको लागत १ अर्ब ४२ करोड अनुमान गरिएको छ । तत्काल १ सय २० रोपनी जग्गा बसपार्क लागि प्रयोग गर्ने र बाँकी जग्गा आवश्यकता अनुरुप पछि थप गर्दै लैजाने योजना रहेको इन्जिनियर जगन्नाथ कोइरालाले बताए ।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल र वडा नम्बर ३२ का वडाध्यक्ष रामचन्द्र अधिकारीसमेत सहभागी थिए । टोलीलाई स्थानीयले आफ्ना समस्याका बारेमा जानकारी गराएका थिए । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको पुडिटार स्थित औद्योगिक क्षेत्रको समस्याका बारेमा पनि मेयर आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले चासो राखेका छन् । औद्योगिक क्षेत्र निर्माणका लागि पनि महानगरले आवश्यक सहजीकरण गर्ने मेयर आचार्यले बताए ।

Advertisement

माथिल्लो पुडिटारमा रेलिङ महानगरको तर्फबाट निर्माण गर्ने र आवश्यक संरक्षणका लागि सहयोग गर्ने उनले आश्वासन दिए । यसका लागि त्यहाँका ४५ घर स्थानात्नरण गर्नुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया