गण्डकीका ७ जिल्लामा मात्रै सम्भव छ तालमेलबिना जिसस गठन

समाधान संवाददाता २०७९ जेठ २० गते १४:५१

रिखिराम जिसी/सुन्दरकुमार थकाली/
पोखरा ।
स्थानीय तहको निर्वाचन सकिएपछि दलहरुको ध्यान जिल्ला समन्वय समितिको चुनाव केन्द्रित भएको छ । तह निर्वाचनको परिणाम आएको १५ दिनभित्र कार्यपालिका र त्यसपछि जिससको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ ।

११ जिल्ला रहेको गण्डकी प्रदेशका ७ जिल्लामा पार्टीको एकल बहुमत पुगेको छ भने ४ जिल्लामा तालमेल गर्नुपर्ने देखिएको छ । मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ र नवलपुरमा एमालेको एकल बहुमत पुग्दा गोरखामा माओवादी र बागलुङमा कांग्रेसको एकल बहुमत छ । मनाङ, पर्वत, तनहुँ र स्याङ्जामा कुनै एक पार्टीको बहुमत पुगेको छैन । जसमा जिसस गठन गर्न तालमेल गर्नुपर्ने हुन्छ ।

२० मतदाता रहेको तनहुँमा कांग्रेसका १०, एमालेका ६ र माओवादीका ४ मतदाता छन् । जिससमा चुनिन ११ मत चाहिन्छ

Advertisement

जिसस प्रमुख र उपप्रमुख तथा सदस्य चुन्न पालिका प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्षले मत हाल्न पाउँछन् । त्यस अनुसार पालिका प्रमुख र उपप्रमुख जसका धेरै भए उही पार्टीले जिसस बनाउन सक्छन् । ५ पालिका प्रमुख, उपप्रमुख अर्थात १० मतदाता रहेको मुस्ताङमा एमालेको ७ मतदातासहित एकल बहुमत छ । कांग्रेसका ३ मतदाता छन् । जिसस मुस्ताङको चुनाव जेठ २५ मा हुँदै छ । मुख्य निर्वाचन कार्यालय मुस्ताङले जिसस निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

जेठ २३ गते उम्मेदवार मनोनयपत्र दर्ता गर्ने, उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवार विरुद्ध उजुरी दिने, मनोनयपत्रको जाँच गरी निर्णय गर्ने र नामावली प्रकाशन गर्ने कार्यक्रम छ । जेठ २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र अन्तिम दिन जेठ २५ गते दिउँसो २ बजेबाट मतदान हुने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिए ।

Advertisement

चुनाव नजिकिँदै गर्दा जिसस प्रमुख र उपप्रमुखमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट झारकोटकी माया गुरुङ र तिरीकी ल्हाम्ङे गुरुङको चर्चा छ । घरपझोङ गाउँपालिकाबाट स्याङका आइतलाल थकाली र थासाङ गाउँपालिकाको टुकुचेबाट दीपक थकालीले पनि आकांक्षा देखाएका छन् ।

म्याग्दीमा पनि एमालेको एकल बहुमत छ । ७ मतदातासहित एमालेको एकल बहुमत हुँदा कांग्रेसका ३ र माओवादीका २ मतदाता छन् । ११ पालिका प्रमुख, उपप्रमुख अर्थात् २२ मतदाता रहेको गोरखामा माओवादीको एकल बहुमत पुगेको छ । माओवादीका १५ मतदाता र कांग्रेसका ७ मतदाता छन् । बागलुङमा जिसस गठन गर्न कांग्रेसको बहुमत देखिएको छ ।

२० मतदाता रहेको बागलुङमा कांग्रेस १२ मतदाता छन् । जनमार्चाका ३, माओवादीका २ र एमालेका १ मतदाता छन् । कास्कीमा एमालेका ६ मतदातासहित एकल बहुमत छ । १० मतदाता रहेको कास्कीमा कांग्रेसका ३ र एकीकृत समाजवादीका १ मतदाता छन् ।

लमजुङमा पनि एमालेको एकल बहुमत छ । १६ मतदाता रहेको लमजुङमा एमालेका ९ मतदाता छन् । कांग्रेसका ५ र माओवादीका २ मतदाता छन् । जिसस गठन गर्न नवलपुरमा १६ मतदाता आवश्यक पर्दछ । जसमा एमालेको ११ मतदातासहित एकल बहुमत छ । कांग्रेसका ५ मतदाता छन् ।

मनाङसहित ४ जिल्लामा कुनैै पनि पार्टीको एकल बहुमत पुग्न सकेको छैन । ८ मतदाता रहेको मनाङमा जिसस गठन गर्न ५ मतदाता आवश्यक पर्छ, जहाँ कुनै पनि पार्टीका ५ मतदाता छैनन् । कांग्रेस र एमालेका ३–३ र माओवादी र स्वतन्त्रका १÷१ मतदाता छन् । जहाँ जिसस गठन गर्न कुनै एक पार्टीले अर्काे पार्टीसँग तालमेल गर्नुपर्ने हुन्छ ।

१४ मतदाता रहेको पर्वतमा कुनै एक पार्टीले एकल बहुमत छैन । कांग्रेसको ५, एमालेका ७ र माओवादीका २ मतदाता छन् । जहाँ बहुमत पुर्‍याउन अर्काे पार्टीसँग तालमेल गर्नुपर्ने हुन्छ । तनहुँमा पनि कुनै एक पार्टीले बहुमत छैन । १० वटा पालिकाका प्रमुख, उपप्रमुख अर्थात २० मतदाता रहेको तनहुँमा कांग्रेसका १०, एमालेका ६ र माओवादीका ४ मतदाता छन् । जिसस गठन गर्न ११ मत आवश्यक पर्छ ।

स्याङ्जामा २ पार्टीका मात्र मतदाता छन् । जसमा दुवैको बहुमत पुगेको छैन । ११ पालिकाका प्रमुख, उपप्रमुख अर्थात २२ मतदाता रहेको स्याङ्जामा बहुमत पुर्‍याउन १२ मत आवश्यक पर्छ जुन दुवै पार्टीका मतदाता छैनन् । जिसस गठन गर्ने यी दुई पार्टीले एकअर्कासँग तालमेल गर्नुपर्ने हुन्छ । स्याङ्जामा एमाले र कांग्रेसका ११-११ मतदाता छन् ।

तपाईको प्रतिक्रिया