स्थानीय तह

लोमान्थाङ गाउँ कार्यपालिकाको १५ जनमुखी निर्णय

पशु बीमा निशुल्क,प्राविधिक धार पढ्नेलाई ५ लाख अनुदान

सुन्दरकुमार थकाली २०७९ जेठ २० गते १९:४३

जोमसोम–लोमान्थाङ गाउँपालिका, गाउँ कार्यपालिकाको पहिलो बैठकले लोमान्थाङ गाउँपालिकाको ५ वटै वडाहरुमा पशुपालन गर्ने पशुपालक किसानलाई पशु बीमा वापत लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यवहोर्ने निर्णय गरेको छ ।गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उपल्लो मुस्ताङ पशुपालन व्यवसायको प्रचुर संम्भावना रहेका यहाँका किसानको जिवन स्तर उकास्न पशु बीमा वापत लाग्ने सबै खर्च गाउँपालिका अनुदान निर्णय गरेको हो ।
उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको खुल्ला पठार ,पर्याप्त चरनक्षेत्र र अनुकुल हावापानी भएकाले याकचौरी र भेडा च्यांग्रा पालन गर्न उपयुक्त छ ।यहाँका मानिसले सदिंयौ वर्षदेखि याकचौरी र भेडा च्यांग्रा पालन गर्दैआईरहेका छन् । उपल्लो मुस्ताङमा ४ वर्षअघि भारी हिमपातका कारण सयौं पशुचौपाया हिमपातमा पुरिएर मर्दा त्यहाँका किसानले लाखौं रुपैयाको क्षति व्यवहोर्न पुगेका थिए ।पशुपालन व्यवसायलाई सुरक्षित र पशुपालकलाई व्यवसायिक रुपमा उभ्याएर पशुपालनको प्रर्वद्धन गर्ने उद्देश्यले गाउँ कार्यपालिकाले पशुपालकलाई बीमा शुल्क वापत लाग्ने खर्च पालिकाले दिने निर्णय गरेको अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिए ।
लोमान्थाङ गाउँकार्यपालिकाले पशु बीमासहित विभिन्न १५ बुँदे निर्णय गरेको छ ।उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दीव्यदिप स्कुलमा माध्यमिक शिक्षा उर्तिण विद्यार्थीले यदी प्राविधिक धारको शिक्षा अध्ययन गरेमा त्यस्ता परिवारलाई कार्यविधि निर्माण गरी छात्रवृद्धि स्वरुप ५ लाख रुपैया अनुदान दिने निर्णय गरेको छ । गापाका एसईई परीक्षा उर्तिण गरेका अन्य विद्यार्थिको तथ्यांक संकलन गरी आवश्यक छात्रवृद्धि उपलब्ध गराउने निर्णय गरेको छ ।
लोमान्थाङले सरकारले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुने पालिकाबासीलाई बीमा शुल्क वापत लाग्ने खर्चमा ५० प्रतिशत अनुदान निर्णय गरेको छ । पालिकाको अनुदानले पालिकाबासी जनता स्वास्थ्य बीमा कार्यक्रममा समेटिने विश्वाश पालिकाले गरेको उपाध्यक्ष छिमी बिष्टले उल्लेख गरिन् ।उनका अनुसार कार्यपालिकाले गापा भित्र तरकारी हरियो तरकारी खेती गर्ने किसानलाई ट्रनेल निर्माण गर्न र प्रािवधिक लागत खर्च मूल्यांकन गरी अनुदान दिने व्यवस्था मिलाएको छ ।पालिकाको १ मात्र दिव्यदीप स्कुलाई कक्षा १२ सम्म स्तरोन्नति गर्न आवश्यक प्रक्रिया अघि बढाउने र गुम्बा विद्यालयले पेश गरेको छात्राबास प्रस्तावको आधारमा छात्रावास व्यवस्थापनका लागि आर्थिक सहयोग गर्ने जनाईएको छ ।
यस्तै,लोमान्थाङ कार्यपालिकाले सामुदायिक विद्यालयका छात्रावासलाई यसअघि उपलब्ध गराईएको प्रति विद्यार्थी सय रुपैयामा २० रुपैया वृद्धि गरेको छ । यसबाट वृद्धि गरिएको रकमबाट विद्यार्थीका साथै शिक्षकलाई समेत खाना र खाजाको व्यवस्था मिलाई शिक्षकलाई अतिरिक्त कक्षा संञ्चालन गर्नुपर्ने जनाईएको छ । गापा भित्र वितरण गरिने सामाजिक सुरुक्षा भत्ता बेंकसंग समन्वय गरी सेवाग्राहीको घरदैलोमै उपलब्ध गराउने र यसरी वितरण गर्दा भत्ता वितरण गर्ने टोलीको सवारी तथा खाजा खाना खर्च पालिकाले व्यवस्था मिलाउने निर्णय गरिएको छ । पालिकामा कार्यतर ६० वर्ष उमेर कटेका स्वाथ्य स्वयंसेविकालाई सुविधा र ससम्मान बिदाई गर्ने ,योजनाहरुको वडा तथा पालिका तहबाट नियमित अनुगमन र सुपरिवेक्षण गर्ने निर्णय गरिएको छ ।
लोमान्थाङको पहिलो कार्यपालिका बैठकले पालिका भित्र आवश्यक झोलुङे पुलको क्षेत्रगत निर्धारण गरी झोलुङे पुल कार्यक्रममा माग प्रस्ताव अघि बढाउने,सरकारले घोषणा गरेको आईतबारको बिदामा पनि कार्यालय सेवा खुल्ला राख्ने र आईतबारको बिदामा काम खटिएका कर्मचारीलाई सट्टा बिदा दिने व्यवस्था गरिएको छ ।कार्यपालिकाले योजनाहरुका् भरियसन र योजनाको प्रस्तावमा समेत थप निर्णय गरेको जनाईएको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया