पोखरा-जोमसोम रुटमा मात्रै ८ हवाई दुर्घटना

यो रुटमा भएका हवाई जहाज दुर्घटनामा ११४ को मृत्यु भएको छ

समाधान संवाददाता २०७९ जेठ २१ गते ११:१९
Print

सञ्जय रानाभाट/रिखिराम जिसी/
पोखरा ।
२०५० सालको कात्तिक २३ गते जोमसोममा नेपाल एयरलाइन्सको जहाज दुर्घटना भयो । सौभाग्यबस कसैको हताहती भएन । त्यस्तै संयोग परेको थियो २०७० सालको जेठ २ गते । नेपाल एयरलाइन्सकै जहाज जोमसोम विमानस्थलमा अवतरण त भयो, तर रोकिएन । धावनमार्गबाट गुड्दै गुड्दै गएर कालीगण्डकी नदीमा खस्यो । त्यो जहाजमा १५ जना यात्रु थिए । चालक दलका सदस्य ३ सदस्य थिए । उक्त दुर्घटनामा भाग्यवस कसैको ज्यान गए । तर ७ जना भने गम्भीर घाइते भए ।

Advertisement

जोमसोम एयरपोर्ट जाँदा वा त्यहाँबाट पोखरा आउँदा भएका जहाज दुर्घटना र मृत्युको संख्या ठूलो छ । इतिहासमै गण्डकी प्रदेशमा १० वटा जहाज दुर्घटना भएका छन् । तीमध्ये ८ भने पोखरा—जोमसोम, जोमसोम—पोखरा रुटमा भएका हुन् । जेठ १५ गते तारा एयरको दुर्घटना नै पछिल्लो दुर्घटना हो ।

मुस्ताङको मार्फा गाविसस्थित पुथाङमा विमानस्थल निर्माण भएपछि मुस्ताङमा यातायातको सुविधा पुग्यो । स्थलमार्गबाट सवारी साधन पुग्न भने त्यसपछि पनि ३ दसक लाग्यो । त्यसैले छिटो जान आउन मुस्ताङमा जहाजकै माध्यम धेरैको रोजाइ भयो । अहिले पनि सडकमार्ग समेत उत्तिकै जोखिमपूर्ण छ ।

पोखरा—जोमसोम उडान गर्दै आएका एक पाइलट यो मार्ग आफैमा जोखिमपूर्ण रहेको बताउँछन् । उनका भनाइमा पोखराबाट जोमसोम २० मिनेटको हवाई दुरी हो । उनी भन्छन्, ‘यति छोटो दुरीमा ८ सय मिटर उचाइको पोखराबाट २७ सय ४३ मिटरको जोमसोम पुग्नुपर्छ ।’ यो मार्गको घोरेपानीबाट लेतेसम्म दुवैतिरका डाँडाको बिचबाट उडान गर्नु जोखिमपूर्ण भएको उनी बताउँछन् । यो त्यही ठाउँ हो जहाजहरु बिना सम्पर्क उडान गर्छन् ।

पोखरा र जोमसोम विमानस्थल दुवैको टावरले त्यो ठाउँमा सम्पर्क गर्न नसक्ने हुँदा अनुमानकै भरमा उडान गर्दै आउनुपरेको विमान चालक बताउँछन् । पोखरा—जोमसोम रुट पहाडी तथा हिमाली क्षेत्र हो । नागरिक उड्डयन प्राधिकरणका रिपोर्टहरुले हिमाली क्षेत्र नै धेरै हवाई दुर्घटना हुने ठाउँमा पर्छन् । त्यसमाथि प्राधिकरणले सोलुखुम्बुको लुक्ला, हुम्लाको सिमकोट, जुम्ला, मुस्ताङलगायत दुर्गम गन्तव्यको उडानमा बढी दुर्घटना भइरहेको प्राधिकरणको रिपोर्टमा छ ।

Advertisement

मुस्ताङमा सबैभन्दा पहिलो हवाई दुर्घटना २०६ सालमा भएको थियो । रोयल लाइट एयरलाइन्सको उक्त दुर्घटनामा एकजनाको मात्रै मृत्यु भएको प्राधिकरणको रिपोर्टमा छ । नेपालमै सबैभन्दा पहिला हवाई दुर्घटनाचाहिँ तराई क्षेत्रमा भएको थियो । ५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो । नेपालमा र पोखरा जोमसोम रुटमा पनि अहिलेसम्मको अन्तिम दुर्घटनाचाहिँ जेठ १५ गतेको तारा एयर दुर्घटना हो ।

जसमा २२ जनाले ज्यान गुमाए । तारा एयर मुस्ताङको थासाङ गाउँपालिकाको मानापानी हिमालको फेदीमा दुर्घटना भएको थियो । जुन भोलिपल्टमात्रै भेटियो । बादल लागेका कारण त्यो जहाज खोज्न हेलिकोप्टरसमेत जान सकेको थिएन । पोखरा—जोमसोम रुटमा छिनछिन मौसम परिवर्तन हुनु पनि दुर्घटनाको कारण भएको पाइलटहरु बताउँछन् । नेपालकै पुराना पाइलटमध्येका एक अनन्त राणा यो मौसमको अत्यन्तै ख्याल गर्नुपर्ने रुट भएको बताउँछन् ।

उनी जोमसोम, लुक्लाजस्ता ठाउँका लागि बिहान १० बजेसम्म उडान गरेपछि बन्द हुने गरेको अनुभव सुनाउँछन् । ‘भिज्युअल फ्लाइट रुल (भिएफआर) भन्ने सरकारकै नियम नै छ । यो भनेको बादलभित्र प्लेन छिर्दैन, भिएफआर मान्नैपर्छ,’ उनी भन्छन्, ‘बादल देख्यो भने फर्कनै पर्छ । एक अनुभवी विदेशी पाइलटले भन्थे, ‘इफ यू इन्टर दि क्लाउड, यू आर अ ब्लाइन्ड मेन विथ आउट स्टिक !’ अर्थात्– तपाईंले विमानलाई बादलभित्र छिराए तपाईं छडी बिनाको दृष्टिविहिन बन्नुहुन्छ ।’

पहाडतिर हवाई जहाज चलाउँदा बादलभित्र छिर्नै नहुने राणा सुनाउँछन् । भन्छन्, ‘अचेल किन हो, मान्छेहरु बादलभित्र छिर्न थाल्यो ! झन् त्यो घोरेपानीतिरको मौसम कस्तो भने छिनछिनमै बद्लिन्छ । मनसुनको हुस्स आउँछ, एकैछिनमा डाँडा छोपिदिन्छ । एकैछिनमा क्लियर भइसक्छ । अनसर्टेन हुन्छ त्यहाँको मौसम ।’ टुइनअटर विमानको त इन्जिन एन्टि–आइस हुन्छ भन्छन् क्याप्टेन राणा । उनकै भनाइमा केही गरी इन्जिनमा आइस जम्यो भने हटाउने केही पनि उपाय नै हुँदैन ।

तपाईको प्रतिक्रिया