जिसस बागलुङको चुनाव जेठ ३१ गते

कांग्रेसको बहुमत भए पनि प्रमुख राजमो र उपप्रमुख १ सिटसमेत नजितेको नेकपा एसले पाउने सत्ता गठबन्धनमा सहमति

समाधान संवाददाता २०७९ जेठ २१ गते १२:३४

बागलुङ ।
जिल्ला समन्वय समिति बागलुङको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार जिससको नयाँ नेतृत्व चयनका लागि मतदान जेठ ३१ गतेका लागि तोकिएको छ ।

जेठ २४ गते एकै दिन मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधन मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २५ गते मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

जेठ २६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएका उमेदवारको सूची प्रकाशन गर्ने रहेको छ । २७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २८ गते मनोनयन पत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । २९ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने रहेको छ ।

Advertisement

निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै जिल्ला समन्वय समितिको नेतृत्वको विषयमा चर्चा सुरु भएको छ । बागलुङमा ११ प्रमुख तथा उपप्रमुख जितेको नेपाली कांग्रेस जिससका लागि एकल बहुमत भएको पार्टी हो । दोस्रोमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले समान ४ सिट जितेका छन् । नेकपा (एमाले)ले भने १ सिट मात्रै जितेकाले उसको मतभार एकमात्रै हो । जिससका लागि १० स्थानीय तह रहेको बागलुङमा २० मत छ ।

बहुमत रहेको पार्टी कांग्रेस भए पनि यहाँ जिससको नेतृत्व भने राष्ट्रिय जनमोर्चाले पाउने चर्चा छ । पालिका प्रमुख÷उपप्रमुख १ सिटसमेत नजितेको नेकपा (एकीकृत समाजवादी)ले जिसस उपप्रमुख पाउनेछ ।
‘पहिले भएको सहमतिको आधारमा राजमोलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख दिने निर्णय भएको छ’, जिससका संयोजकसमेत रहेका राजमो नेता राजेन्द्र ढुङ्गानाले भने, ‘बाँकी ७ सदस्यको विषयमा दलहरुबीच छलफल हुनेछ ।’ तर, कांग्रेसका एक तहका नेताले भने एकल बहुमत भएका बेला सहमति तोडेरै भए पनि जिससको प्रमुख आफैंले लिनुपर्ने धारणा राख्दै आएका छन् ।

Advertisement

जिससको पदाधिकारी वा सदस्य हुन पालिका वा वडा तहमा निर्वाचन जितेको हुनुपर्ने व्यवस्था छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा काठेखोला गाउँपालिकाको वडासदस्यमा निर्वाचित भएकाले उनी नै सम्भवत जिल्ला समन्वय समितिको संयोजक बन्ने चर्चा छ ।

स्थानीय तह निर्वाचन–२०७९ को कार्यविधिअनुसार पालिकामा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको बढीमा १५ दिनभित्र कार्यपालिका सदस्यको लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने जिससमा एक महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

बागलुङमा पहिलो पदभार ग्रहण जेठ ५ गते भएकाले आउँदो असार ५ गतेभित्रै जिल्ला समन्वय समितिको नेतृत्व चयन हुनुपर्ने थियो । यसअघि २०७४ साल साउन १९ गते जिल्ला समन्वय समितिको निर्वाचन भएको थियो । एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनले त्यति बेला जिससको नेतृत्व गरेको थियो भने यस पटक एमाले जिससबाट बाहिरिनेछ ।

तपाईको प्रतिक्रिया