विपन्न विद्यार्थीलाई महिला क्लबको साथ

पोखरा ।
पोखरा ७ मा रहेको महिला क्लब पोखराले विपन्न तथा न्यून आय भएका परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । पोखरा ७ मा रहेको एकमात्र सामुदायिक विद्यालयमा अध्ययनरत २५ छात्र तथा छात्रालाई स्कुल ब्याग, कपी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले महिला क्लबले गर्दै आएका विभिन्न सामाजिक कार्यको प्रशंसा गरे । उनले आफ्नो वडामा रहेको एकमात्र सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न लागिपर्ने प्रतिवद्वता जनाए ।
श्री कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुरुषोत्तम रेग्मीले क्लबले गर्दै आएको सामाजिक सेवा यस पटक विद्यालयका विद्यार्थीका लागि समर्पित गरेकोमा धन्यवाद दिए । महिला क्लबका अध्यक्ष मिना आचार्यले क्लबले ९ वर्षदेखि सामाजिक काम गर्दै आएको उल्लेख गरिन् । उनले आफ्नै वडामा रहेको विद्यालयका विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण गर्न पाउदा निकै खुसी लागेको जनाइन् ।
कार्यक्रममा प्रधानाध्यापक टीकाराम लामिछाने र महिला क्लबका उपाध्यक्ष सुनिता बरालले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया