श्याम मगर।
भाषिक फिल्म भन्नेबित्तिकै तपाईंको मष्तिष्कमा के आउला ? कुनै जाति विशेषलाई आधार बनाएको फिल्म ।
‘मगर भाषाको फिल्म’ ‘गुरुङ भाषाको फिल्म ।’ त्यो भन्दा बेसी केही आउँछ ? अँह ! त्योभन्दा बढी चित्र सम्झनामै आउन्न ।
मुलधारले स्वीकार्न नसकेको । सधै समुदायको साँघुरो घेराभित्र सीमित छ-भाषिक फिल्मको सीमारेखा । त्यो भन्दा माथि उक्लेर मुल धारका भनिएका फिल्मको दाँजोमा लागेको यो पंक्तिकारले सुनेको छैन । देखेको छैन ।
विस्थापनको कथा बोकेको ट्याङ्चलाकले अन्र्ताष्ट्रिय आँगन टेक्नुपथ्र्यो, टेकेको छ । अरु, पनि थुप्रो उपाधि हात पार्नुपर्छ यसले ।
केही महिनाअघि चलचित्र निर्मातासमेत रहेका निर्देशक मेजन पुनमगरले फेसबुक पेजमा पोस्ट गरे, ‘मेरो लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ट्याङ्चलाक’ साउथ अफ्रिकामा आयोजना हुने डर्बान इन्टरनेसनल फिल्म फेस्टिभलमा अफिसियल छनोटमा परेको छ । सबै कलाकार र प्राविधिक टिमलाई धन्यवाद !’ ३ सयभन्दा बढी अन्तर्राष्ट्रिय कोटीका फिल्मसँगको प्रतिस्पर्धामा नेपाली फिल्म छनोटमा पर्नु आफैंमा सुखद खबर थियो । त्यसमा पनि अझ भाषिक फिल्मले अन्तर्राष्ट्रिय फिल्मी वृतमा छनोट हुनु मात्रैले पनि धेरै अर्थ राख्छ ।
हो, साँघुरो सीमा पार गर्दै अन्तर्राष्ट्रिय आँगनमा भाषिक फिल्मले पाइला राख्नुलाई निकै अर्थपूर्ण थियो । सामाजिक सञ्जालमा यसलाई धेरैले सकारात्मक रुपमा लिए । बधाईको ओइरो नै लाग्यो । सामाजिक सञ्जालबाटै मैले पनि फिल्मका लेखक, निर्देशक मेजनलाई बधाई दिएँ ।
ट्याङ्चलाकको यात्रा यत्तिमै सिमित रहेन । डर्बान फिल्म फेस्टिभलमा छनोटमा परेलगत्तै नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल, युएसएमा पनि फिल्म छानियो । त्यसपछि लगालग अन्तर्राष्ट्रिय स्तरका ७ फिल्म फेस्टिभलमा छनोटमा परेको छ । त्यसमध्ये वल्र्ड फिल्म कार्निभल सिंगापुर, टोक्यो फिल्म फेस्टिभल जापान र गान्तोक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उपाधि नै हात पारिसकेको छ ।
उनै मेजनले अर्को छोटो चलचित्र निर्माण गरेका रहेछन् – परिबन्द । यो चलचित्र पनि मगर विषयवस्तुमा निर्माण भएको रहेछ । यो छोटो चलचित्र परिबन्दले पनि स्पाइनी बाब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट खाता खोलेर लगालग अन्य ६ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट हुन सफल भयो । र, अन्तराष्ट्रिय चलचित्र महोत्सवमा चलचित्र छनोट भएकोमा सामाजिक सञ्जालमा मेजनलाई फेरि बधाईको ओइरो लाग्यो ।
यो चलचित्रले भारतमा आयोजना भएको कुक्कु अन्तराष्ट्रिय फिल्म अवार्ड (वेस्ट बंगाल), भर्जिन स्प्रीङ सिनेफेष्ट तमिलनाडु र टेगोर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्ड जित्न सफल भयो । यसरी भाषिक फिल्मले एकपछि अर्को गर्दै अन्र्तराष्ट्रिय स्तरका फिल्म फेस्टिभलमा स्थान पाउनु पनि ठूलो उपलब्धिको रुपमा लिएको छ—यो पंक्तिकारले ।
राज्यसत्ताको दमनमा सोझा आदिवासी
सानोमा आमाले भनेको सुनेको थिएँ, ‘यो गाउँमा जहिले पनि घाँस, दाउराको दुःख । धन्न पानीको धारा भने आयो ।’ त्यो बेला मेरो घरमा बस्तुभाउ अलि बढी नै थियो । अहिले पनि छ । परिवार ठूलो भएकाले सबैलाई काम पु¥याउन पनि वस्तुभाउ धेरै पाल्नुपर्ने बाध्यता थियो ।
पानीको अभाव भएकै कारण वल्लोपल्लो गाउँका कतिपय मान्छे पानी पाइने ठाउँतिर बसाईं सरे । घाँसदाउराको दुःखले हाम्रै गाउँबाट पनि कति मान्छे अन्त गए । आज पनि सुखको खोजीमा सजिलो ठाउँ खोजी हिडी रहन्छ— मान्छे । यो हामी कहाँमात्रै होइन । अरु ठाउँमा पनि लागू हुन्छ । यो चलिआएकै रीति हो ।
तर, राज्यसत्ताबाट उपेक्षामा परेकाहरुको हकमा भने अलि फरक छ । सोझा जनतालाई तड्पाएर, बाध्य पारिनु गलत हो । भोलि पनि गलत हुनेछ ।
हो, ‘ट्याङ्चलाक’ले यही कथा बोकेको छ ।
तनहुँको मानुङकोट । जो पर्यटकीय हिसाबले उँचाई उक्लिदै छ । धेरैको मन लोभ्याएको छ । पोहोर साल खुबै भाइरल थियो मानुङकोट । दमौली बजारमाथि बादल डम्म ढाकिएको । त्यसमाथि सूर्योदय हुँदा त सबै जना कायल नै भए ।
दमौली बजारबाट हिंडेर डेढ घण्टा, सवारी साधनमा गए करिब ३० मिनेट माथिपट्टीको यो डाँडोबाट बादलको महासागर हेर्न सबै लालायित भए । तलदेखि माथि पुगुञ्जेल यो दृश्य हेर्न बिहानैदेखि लाम नै लाग्यो । सामाजिक सञ्जालदेखि विभिन्न मिडियामा प्रथम पृष्ठमा राम्रो स्पेस पनि पायो ।
यति सुन्दर ठाउँको भित्री कथा भने छुट्टै छ ।
बजारदेखि नजिक रहेर पनि दूरको भएको मानुङकोटमा केही वर्षअघि मगर बस्ती थियो । खानेपानी र स्वास्थ्य उपचारका लागि ठूलो सास्ती । डेढ, दुई घण्टा हिंडेर एक गाग्री पानी पाइने ठाउँ थियो मानुङकोट । बाटो पनि पुगेको थिएन । बाटो नपुगेपछि अन्य विकासका पूर्वाधार पुग्ने त कुरै आएन ।
भोक, रोगले आत्तिएका यहाँका सोझा आदिवासी सजिलाको लागि बसाई सर्न थाले । हुँदाहुँदै सिंगो गाउँ नै रित्तियो । र, अन्त्यमा घरहरुमात्रै बाँकी रहे । त्यही ठाउँ अहिले सबैको आँखामा परेको छ । सामरिक हिसाबले अहिले यो ठाउँले निकै सम्भावना बोकेको छ । खानेपानी, बिजुलीदेखि सडक सञ्जालसमेत पुगिसकेको यो ठाउँमा यो सुख भोग गर्ने यहाँका आदिवासी छैनन् । अहिले दलालहरुको कब्जामा छ यो ठाउँ । जबकि, यहाँका आदिमबासी रोग र भोकले यहाँबाट लेखिटए । राज्यसत्ताले लेखिट्न बाध्य बनायो ।
विस्थापनको कथा बोकेको ट्याङ्चलाकले अन्र्ताष्ट्रिय आँगन टेक्नुपथ्र्यो, टेकेको छ । अरु, पनि थुप्रो उपाधि हात पार्नुपर्छ यसले । ट्याङ्चलाकले भाषिक फिल्मलाई अन्तर्राष्ट्रिय फिल्मसँग जोड्ने पुल त बनेको छ नै ! नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारसामु थप सम्भावनाका ढोका पनि खोलिदिएको छ । यो भाषिकमात्रै होइन । मुलधारका फिल्म र फिल्मकर्मीका लागि पनि सुखद् पक्ष हो ।
श्याम रानामगर
मगर पोखरामा क्रियाशील पत्रकार हुन्
तपाईको प्रतिक्रिया