‘जीवन पनि सगरमाथा उक्लिने बाटोजस्तै’

‘जीवनमा खुम्बु आइसफलहरु छन्’

समाधान संवाददाता २०७९ जेठ २२ गते १०:३२


पोखरा ।
म तिमी उभिएको ठाउँको घडी भनिदिन सक्छु
तिमी हिँडेको बाटोको लम्बाइ भनिदिन सक्छु
तिमीले तरेको नदीको चौडाइ भनिदिन सक्छु
तिमीले चढेको पहाडको उचाइ भनिदिन सक्छु ।

Advertisement

तिम्रो कित्तामा फित्ता लगाई
तिम्रो सम्पत्ति यत्ति छ पनि भनिदिन सक्छु ।
अनि यी सारा बेनामे पहाडहरु पूरै पढाइ दिन पनि सक्छु ।
देख्दै नदेखेर पनि नापेर नक्सा
तिम्रा सबै खेल थाहा पाइदिन सक्छु ।
अपसोच,
मेरो नियतिको खेल म थाहा पाउन सक्दिनँ ।

०००
यो कविताको अंशमा सर्भेयर खिमलाल गौतमले आफ्नै जीवनको छायाँ उतारेका छन् । पोखरामा शनिबार यो कविताका सुनाउँदा दर्शक मन्त्रमुग्ध देखिए, उनी आफैं भावुक बने ।

गौतमको घरको धुरीबाट माछापुच्छ्रेको धुरीसम्मको दूरी जम्मा २० किलोमिटर छ । यो उनले त्यहीं पुगेर मापन गरेका होइनन्, प्राप्त नक्सालाई मापन गर्दा निस्किएको हो । तर, उनी आफ्नो क्षेत्रभन्दा कोशौं परको सगरमाथाको उचाइ नापेर आएका छन् ।

Advertisement

८ हजार ८४८.८६ मिटर अब संख्यामात्रै रहेन । विश्वकै सर्वोच्च शिखर सगरमाथाको पछिल्लोपटक पुष्टि भएको नयाँ उचाइ हो । र, यस सर्वेक्षण टोलीका अगुवा थिए, सर्भेयर गौतम । उनी एक पटक आरोहीका रुपमा र अर्को पटक सगरमाथा उचाइ नाप्ने टोलीको संयोजकका रुपमा शिखर पुगिसकेका छन् ।

आफू २ पटक सगरमाथा चुलीमा पुग्दाको अनुभव र केही संस्मरण समेटेर गौतमले ‘पन्ध्रौं चुली’ नियात्रा संग्रह प्रकाशन गरेका छन् । शनिबार सोही कृतिको पोखरामा गृह विमोचन भयो । पुस्तक साहित्यकार सरुभक्त र नापी विभागका पूर्वमहानिर्देशक मधुसूदन अधिकारीले सार्वजनिक गरे ।

Advertisement

कार्यक्रममा गौतमले आफूले सगरमाथा चढ्दा भागेका, पाएका र गुमाएका प्रसंग सुनाए । उनले सगरमाथा चढ्दा अक्सिजन अभावमा मृत्युलाई नजिकबाटै नियाल्नेदेखि आरोहणकै दौरान सन्तान पनि गुमाएका छन् । ०७५ फागुन अन्तिममा जब उनको नेतृत्वमा सगरमाथाको उचाइ नाप्ने टोली उकालो उक्लँदै थियो । ठीक त्यही समय उनकी गर्भवती श्रीमती दिल्लीको एक अस्पतालमा थिइन् ।

एकातिर राज्यले गौतमलाई ऐतिहासिक जिम्मेवारी सुम्पिएको थियो भने अर्कातिर प्रशव पीडामा श्रीमती थिइन् । न उनको सन्तान जीवित रहे, न दुःखको बेला उनी जीवनसाथीसँग हुन सके । उनले राज्यले दिएको जिम्मेवारी भने पूरा गरे । मान, सम्मान, इज्जत, सम्पत्ति सबै पाए । तर, सबथोक पाएर पनि केही गुमाएको लागिरहने उनी सुनाउँछन् ।

‘सानो तहदेखि नेपाल सरकार उपसचिव तहमा आइसकेको छु । सबै चिज पाएको छु । सबै चिज छ । तर, पनि केही केही नभएको जस्तो फिलिङ्स भइरहन्छ,’ गौतम भन्छन्, ‘मान्छेको जीवन पनि सगरमाथा उक्लिने बाटोजस्तै रहेछ ! सम्म, सजिलो बाटो हुँदैन । जीवनमा पनि खुम्बु आइसफलहरु छन् । कहिले अकस्मात टाउको बज्रन्छ, कहिले टेकेको जमिन भासिन्छ ।’

गौतमले सन् २०११ मा पहिलो पटक निजामती कर्मचारीको रुपमा सगरमाथा चढेका थिए । उनी सगरमाथा टेक्ने पहिलो निजामति कर्मचारी पनि हुन् । तर, दोस्रो पटकको आरोहणमा भने उनी नाप्न त्यहाँ पुगेका हुन् । उनले दोस्रो पटक २०७६ जेठ २ गते सगरमाथा चुचुरोमा पाइला टेकेका थिए । गौतमकै टोलीले ल्याएको नापका आधारमा नेपाल र चिनियाँ सरकारले संयुक्त रुपमा २०७७ मंसिर ८ गते सगरमाथाको नयाँ उचाइ ८८४८.८६ लाई मान्यता दिएका छन् । जुन अघिल्लो पटकभन्दा ०.८६ मिटर अग्लिएको छ ।

‘हाम्रा हिमाललाई हाम्रै दृष्टिले हेर्न संग्रहित गरें’
गौतमले सगरमाथाबाट फर्किइसकेपछि बजारमा नेपाली हिमालबारे पुस्तक खोज्दा पाएनन् । किताब नपाएपछि उनले आफैं लेख्ने योजना बुने । नेपालका हिमालबारे विदेशी आरोहीले थुप्रै पुस्तक लेखेको भए पनि नेपाली आरोहीको भने नगन्य उपस्थितिले उनलाई खिन्न बनायो ।

‘हिमाल देखाएर नेपालले गर्व गर्छ । बजारमा नेपालका हिमालबारे कैयौं मोटामोटा, ठेलीका ठेली किताब पाइन्छ । तर, सबै विदेशीले लेखेका,’ गौतमले पुस्तक तयार पार्नुको भित्री पाटो खुलाए, ‘हाम्रै दृष्टिमा हाम्रो हिमाल के हो त नि ? हामीलाई नै थाहा छैन । त्यसैले पनि लेख्नुपर्छ भन्ने लाग्यो ।’

कार्यक्रममा उनले किताबमा आफूले केही भावना र भूगोललाई समिश्रण गरेको उनले सुनाए । ‘किताबको पहिलो भागमा यात्राका भावना समेटेको छु भने दोस्रो खण्डमा भूगोल समेटेको छु,’ उनले भने । उनको किताब फाइनफ्रिन्टले निकालेको हो ।

गौतमले आफूले किताब लेख्दा थुपै ठाउँमा ठोक्किएको, झुक्किएको, तड्पिएको सुनाए । ‘सगरमाथाको उचाइभन्दा बढी गहिराइ बढी भएको मैले महसुस गरेको थिएँ । त्यसबाहेक पनि थुप्रै निजी अनुभव थिए, जसलाई मर्न दिनुहुँदैन भन्ने लाग्यो र किताब निकाल्नुपर्छ भन्ने सोचें,’ उनले भने ।

२ पटक सगरमाथा चुली पुगे पनि आफू आरोही नभएको उनको प्रष्टोक्ति छ । ‘म आरोही होइन । राष्ट्रसेवक कर्मचारी नै हुँ । म आरोहण गर्न होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्नमात्रै गएको हुँ,’ गौतम भन्छन्, ‘मलाई शेर्पा साथीहरुले आरोही बनाएका हुन् । खास म सर्भेयर नै हुँ ।’

हिमाली साहित्यमा गरिब छौंः सरुभक्त
०६० मा सगरमाथासम्बन्धी ‘चुली’ उपन्यास प्रकाशन गरेका साहित्यकार सरुभक्तले नेपालको हिमाली क्षेत्र संस्कृति र सम्पदामा धनी भए पनि साहित्यको मामिलामा गरिब भएको बताए । नेपाल २ हजारभन्दा बढी हिमाल भए पनि नेपालीले नै चिन्न नसकेको उनको गुनासो छ ।

‘हिमाल छन् भन्नेमात्रै भयो । तर, त्यही हिमालकै कारण धनी छौं भन्ने नेपालीलाई नै थाहा छैन,’ सरुभक्त भन्छन्, ‘नेपालका हिमालबारे लेखिएका विदेशी लेखकका दर्जनौ पुस्तक छन् । तर, ती पुस्तक नेपालीको सीमाभित्र पर्दैनन् ।’ उनले सगरमाथालाई नेपालको हुने गरी मान्यता दिलाउने तत्कालीन प्रधानमन्त्री बिपी कोइराला र चिनियाँ नेता माओ धन्यवादका पात्र रहेको सुनाए ।

नापी विभागका तत्कालीन महानिर्देशक तथा सीमाविद् मधुसूदन अधिकारीले सगरमाथा मापनको कारक ०७२ को भूकम्प रहेको खुलाए । उनले भूकम्पपछि सुरुमा काठमाडौं मापन गरिएको र त्यसपछिमात्रै सगरमाथा मापन गर्ने योजना बनेको सुनाए । प्रकाशक फाइन प्रिन्टका अजीत बरालले हिमाली साहित्य कम रहेको र पन्ध्रौं चुलीले त्यसको पूर्ति गर्ने दाबी गरे । ‘पन्ध्रौं चुली केवल नियात्रामात्रै होइन । यो सगरमाथाको इतिहास पनि हो,’ उनले भने ।

तपाईको प्रतिक्रिया