जिसस निर्वाचनसँगै स्थानीय तह चुनाव सकियो

समाधान संवाददाता २०७९ जेठ २२ गते १०:४८

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीको निर्वाचनसँगै कास्कीको स्थानीय तहको निर्वाचन २०७९ का सबै कार्यक्रम सम्पन्न भएका छन् । मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्य चुनिएपछि स्थानीय तह निर्वाचनका सबै कार्यक्रम सकिएको जनाए ।

Advertisement

नेपाल मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की पोखराले शनिबार आयोजना गरेको समितिका पदाधिकारी तथा सदस्यको घोषणा सभा, प्रमाणपत्र वितरण तथा सपथ ग्रहण समारोहमा उनले समग्रमा कास्कीको निर्वाचन शान्तिपूर्ण र भयरहित ढंगले भएको दाबी गरे । ‘सबै मतदान केन्द्रका शान्तिपू्र्ण रुपमा चुनाव भयो । कुनै पनि केन्द्रमा विवाद भएर फेरि निर्वाचन गर्नु परेन,’ उनले भने, ‘सुरक्षा व्यवस्था चुस्त, दुरुस्त भयो । मतदाता ढुक्क भएर मत हाल्ने व्यवस्था भयो ।’

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले ३ तहका सरकारको समन्वय, सहकार्यले संघीय शासन व्यवस्था सुदृढ हुने बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मनमाया पंगनी भट्टराईले गण्डकी प्रदेश सरकारले जिल्ला समन्वय समिति सञ्चालन ऐन बनाउन सहजीकरण गर्ने बताइन् । स्थानीय तहको निर्वाचन २०७४बाट निर्वाचित समन्वय समितिले पाँच वर्षे कार्यकाल पूरा गर्दासमेत प्रदेश सरकारले कानुन बनाई दिएको छैन ।

Advertisement

कार्यकारी अधिकार नपाएको समन्वय समितिले आफैं कानुन बनाउन पाउदैन । सचिव पंगेनीले प्रदेशले समन्वय समितिको काम, कर्तव्य र अधिकारबारे कार्यविधि बनाउन सहयोग गर्ने उल्लेख गरिन् । ‘समन्वय समितिको कामलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन कार्यविधि आवश्यक पर्छ,’ उनले भनिन्, ‘समन्वय समितिका पदाधिकारीसँग एकाकार भएर कार्यविधिलाई अन्तिम रुप दिइनेछ ।’

उनले संघीयताको मर्म अनुसार स्थानीय सरकारसँग सहकार्य, साझेदारी र सहअस्तित्व कायम गरी काम गर्ने प्रतिवद्धता गरिन् । स्थानीय तह निर्वाचन २०७९ का अनुगमन अधिकृतसमेत रहेकी पंगेनीले राजनीतिक दलले सभ्य र उच्च राजनीतिक आचरण देखाएको बताइन् ।

Advertisement

जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले दलगत प्रतिस्पर्धाबाट निर्वाचित भए पनि सबैलाई समेटेर निष्पक्ष ढंगले काम गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भट्टराईले जिल्ला समन्वय समिति कास्कीका प्रमुख पौडेललाई सपथ गराए । प्रमुख पौडेलले उपप्रमुख सरिता माल तथा समन्वय समितिका सदस्यलाई सपथ गराए ।

कार्यक्रममा निर्वाचनमा सहयोग गर्ने सशस्त्र प्रहरी बलका उपरीक्षक विजयकुमार केसी, राष्ट्रिय अनुसन्धान आयोगका उपनिर्देशक मनोज ढकालसहित सुरक्षाकर्मी तथा कर्मचारीलाई सम्मान गरिएको अनुगमन अधिकृत निर पनेरुले जानकारी दिए । जिल्ला समन्वय समिति कास्कीका निवर्तमान प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले नवनिर्वाचित प्रमुख लीलाधर पौडेललाई शुक्रबार पदस्थापन गराएका छन् ।

तपाईको प्रतिक्रिया