विश्व वातावरण दिवस

‘३ महिनाभित्र १ घर १ रुख’

समाधान संवाददाता २०७९ जेठ २३ गते ११:४९

पोखरा ।
पोखरा महानगरपालिकाले ३ महिनाभित्र महानगर भित्रका सबै घरका कम्पाउन्डमा विरुवा रोप्न नगरवासीलाई अनुरोध गरेको छ । महानगरका मेयर धनराज अचार्यले अबको ३ महिनाभित्र प्रत्येक घरमा विरुवा रोपिने घोषणा गरे । विश्व वातावरण दिवसको सन्दर्भ पारेर उनले यस्तो घोषणा गरेका हुन् ।

Advertisement

आइतबार ५० औं विश्व वातावरण दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको वृक्षारोपणमा उनले एक घर एक बृक्षारोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउनेसमेत जानकारी दिए । त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उनले बताए ।

केही वर्षअघि सेती नदिमा आएको अप्रत्यासित बाढी, गत वर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि वृक्षारोपण अनिवार्य रहेको जनाए । मेयर आचार्यले सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिने खालका सानातिना विरुवा भए पनि रोप्न नगरवासीलाई आग्रह गरेका छन् ।
पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा र बर पीपल मासिएको उल्लेख गर्दै उनले सडकका किनारामा कस्तो विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग बसेर निस्कर्षमा पुगिने बताए ।

Advertisement

‘विगतमा पोखरामा प्रशस्त पोखरी थिए । चौतारा थिए । प्रशस्त वर पीपलका विरुवा थिए, ती सबै मासिए,’ उनले भने, ‘अब जे जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्ने छौं ।’

मेयर आचार्यले खाली जमिनमा वृक्षारोपण कार्यक्रम गर्न पोखरा स्थित सम्पूर्ण संघसंस्थालाई आग्रहसमेत गरेका छन् । वृक्षारोपणका लागि वृक्षारोपणमात्र नभएर त्यसको संरक्षण हुनुपर्नेमा जोड दिँदै उनले आफूले रोपेका विरुवाको संरक्षण पनि सम्बन्धित संस्थाले नै गर्नुपर्ने बताए । सरकारले निजी जमिनमा रोपिएका रुख कटानको सन्दर्भमा लिएको निर्णयले आम नागरिकलाई आम्दानी दिने विरुवा रोपेर आयअर्जन गर्ने बाटो खोलिदिएको धारणा राख्दै उनले वृक्षारोपण गरेर यसको फाइदा लिनसमेत आग्रह गरेका छन् ।

Advertisement

मेयर आचार्यले पोखरा २४ मा रहेको ठूलीपोखरी (कश्यप ताल)को संरक्षणका लागि महानगरको तर्फबाट समेत योगदान रहने बताए । वडाको समग्र विकासका लागि वडाध्यक्ष र निर्वाचित जनप्रतिनिधिसँग बसेरै योजना बनाउने उनले आश्वासन दिए ।

पोखरा महानगरपालिका वडा नम्बर २४ को कार्यालय र कश्यप ताल परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण गरिएको हो । वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीका अनुसार विभिन्न प्रजातिका २ सय विरुवा त्यहाँ रोपिएको छ ।

वडाध्यक्ष अधिकारीले अहिले वडावासी डोकोमा गाग्री बोकेर कहाँ पानी पाइन्छ भनेर धाउनु पर्ने अवस्था रहेको जनाए । यसको अन्त्यका लागि लिफ्टिङ खानेपानी आयोजना छिट्टै सम्पन्न गरेर खानेपानी उपलब्ध गराउन आफूहरु लागिपर्ने उनको प्रतिवद्धता छ ।

तपाईको प्रतिक्रिया