हरेक वर्ष लाखौं रुख रोपिन्छन्, हुर्कदैनन्

पोखरा ।
देशैभर धेरै संघ, संस्थाले वर्षमा लाखौं विरुवा रोप्छन् । ती विरुवामध्ये आधा पनि हुर्किदैनन् । विश्व वातावरण दिवसको अवसरमा आइतबार पोखरामा भएको कार्यक्रमका वक्ताहरुले यसबारे गम्भीर चिन्ता व्यक्त गरे ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयले संयुक्त रुपमा गरेको कार्यक्रमका वक्ताहरुले सामाजिक सञ्जाल भर्नमात्र गरिने कार्यक्रमले उपलब्धि नहुने टिप्पणी गरे । कृषि विज्ञ डा अनिल सुवेदीले संरक्षण नगर्ने भए वृक्षारोपण गर्दासमेत २ पटक सोच्न आग्रह गरे ।
उनले भने, ‘अब हामीले विरुवा रोप्दा २ पटक सोच्नुपर्ने बेला आएको छ । बिगारेको हामीले नै हो ।’ डा सुवेदीले कृषि उत्पादनमा पछिल्लो समय अत्यधिक रसायनिक पदार्थ प्रयोग गर्दा क्षणिक उत्पादन बढेको जस्तो देखिए पनि दीर्घकालीन असर पारिरहेको जनाए ।
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा परेको बताए । यसका कारण नेपालका हिमनदी, ताल फुट्ने, बेमौसमी बाढी पहिरो, प्रकोपको समस्या बढिरहेको उनले औंल्याए ।
अधिवक्ता पराजुलीले नेपालजस्तो विकासोन्मुख देशमा विकास र वातावरण कसलाई महत्व दिने भन्नेबारे सधैं बहसको विषय हुने उल्लेख गरे । ‘हामीलाई विकास पनि चाहिएको छ, वातावरण पनि जोगाउनु छ,’ उनले भने ।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत खिमलाल सुवेदीले मानव अधिकार र वातावरण संरक्षण एकअर्काका परिपूरक रहेको बताए । नागरिक समाज कास्की संयोजक ईन्द्रकमल मानन्धरले वातावरण संरक्षणमा सबै स्वस्फूर्त रुपमा लाग्नुपर्नेमा जोड दिइन् ।
वातावरण विज्ञ कुलराज चालिसेले जनताको जीवनशैलीसँग वातावरण संरक्षणको मुद्दा पुर्याउन नसक्दा पृथ्वी विनास हुँदै गएको तर्क गरे । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले वातावरण संरक्षणका लागि सञ्चार जगतले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख चन्द्रकान्त चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल अध्यक्ष सुनिल पाण्डेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया