सुत्केरी र किरिया बिदा नदिएको भन्दै मणिपालका कर्मचारी धर्नामा

पोखरा ।
मणिपाल शिक्षण अस्पतालले सेवा, सुविधा कटौती गरेको भन्दै त्यहाँका कर्मचारी ४ दिनदेखि धर्नामा छन् । अस्पतालका कर्मचारीका युनियनले गत बिहीबारबाट सुत्केरी बिदा, किरिया बिदाका साथै सम्झौता अनुसार उपदान नपाएको भन्दै धर्ना दिएका हुन् ।
अस्पताल प्रशासनले कर्मचारी युनियनसँग गरेको सम्झौता अनुसार सेवा, सुविधा नदिएकाले धर्ना दिएएको मणिपाल इकाइ अन्तर्गत नेपाल स्वास्थ्य कर्माचारी तथा कर्मचारी युनियन अध्यक्ष अमृत पौडेलले जानकारी दिए । ‘यत्रो ठूलो अस्पताल छ । कर्मचारी कटौती भएको छ । कामको लोड त छँदै छ, त्यसमाथि काम गरे अनुसारको तलब रोक्ने, सेवा, सुविधा कटौती गर्ने गरी दुःख दिइयो,’ उनले भने । युनियनले जिल्ला प्रशासन कार्यालय कास्की र श्रम तथा रोजगार कार्यालय पोखरामा समेत निवेदन दिएको थियो ।
श्रम तथा रोजगार कार्यालय पोखराले दिएको निर्देशनसमेत मणिपालले कार्यान्वयन नगरेको कर्मचारीको आरोप छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिएर कर्मचारी खटाइएको उनीहरु बताउँछन् । न्यूनतम सुविधासमेत कर्मचारीलाई नदिने अटेरी प्रशासनका बारेमा विभिन्न निकायमा निवेदन उजुरी दिँदासमेत सुनुवाई नभएको मणिपाल इकाइ स्वतन्त्र कर्मचारी संघ अध्यक्ष नवराज भण्डारीले बताए ।
‘प्रशिक्षार्थी स्टाफ नर्स राखी वर्षौै काम गरेकालाई निरुत्साहित गरिएको छ,’ उनले भने । मेडिकल कलेजले प्रशिक्षार्थी स्टाफ नर्सलाई बढीमा ६ महिनामात्र बिरामीको उपचारमा लगाउन पाउँछन् । तर, प्रशिक्षार्थीलाई वर्षौसम्म उपचारमा खटाइएको कर्मचारी युनियनको आरोप छ । कर्मचारीले पाउनुपर्ने सञ्चित बिदा पनि नपाएको उनी बताउँछन् ।
कर्मचारीले गत वर्ष जेठ र चैतमा पनि सेवा, सुविधा नपाएको भन्दै आन्दोलन गरेका थिए । त्यति बेला पनि कर्मचारीको माग तलबभत्ता वृद्धि नै थियो । अस्पतालले २०७७ कात्तिक ५ मा बनेको सामूहिक सौदाबाजीको मागपत्रमा पनि हालसम्म छलफल गर्न नमानेको कर्मचारी युनियनको दाबी छ ।
अस्पतालले वर्षौंदेखि काम गरेका कर्मचारीको उपदानसमेत सम्झौता भए अनुसारको नदिएको उनीहरुको आरोप छ । २०५९ मा नेपालमा पहिलो पटक निजी क्षेत्रबाट खुलेकोे अस्पतालले पोखरामा मेडिकल सेवासँगै ठूलो संख्यामा रोजगारी दिएको छ । यहाँ सयौं नेपालीले रोजगारी पाएका छन् ।
तपाईको प्रतिक्रिया