आलोकलाई ललितकला पुरस्कार

समाधान संवाददाता २०७९ जेठ २४ गते १३:१९

पोखरा ।
ललितकला पुरस्कार २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई २ वर्षमा प्रदान गर्ने यो पुरस्कारको राशि वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालन गरेका हुन् ।

Advertisement

आलोक गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार हुुन् । गुरुङले हजारभन्दा बढी मुहारचित्र बनाउनुका साथै अन्य सिर्जना गरिसकेका छन् । एकल चित्रकला प्रदर्शनी २०१३ दमौली, २०१४ मा पोखरामा, दुईव्यत्ति (दुर्गा बराल–गोपाल श्रेष्ठ) तथा सामूहिक कलाकार्यशाला अन्तर्गत हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका थुप्रै ठाउँमा उनले कला प्रदर्शनी गरिसकेका छन् ।

गुरुङको अर्को बिषेशता भनेको लाइभ डेमोस्ट्रेसन हो । उनले सिर्जना फाइन आर्ट कलेज र ललितकला क्याम्पसमा समेत आफ्नो कला देखाइसकेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गुरुङले नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पुर्‍याएको योगदानको कदर गर्दै ललितकला पुरस्कार २०७८ प्रदान गर्न लागिएको प्रतिभा छनोट समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बरालले जानकारी दिए ।

Advertisement

ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भुर्तेल, सरोजा खड्की, मुकेश मल्ल, लोकप्रसाद गुरुङ र राजन काफ्ले पुरस्कृत भइसकेका छन् । असार ४ गते शनिबार हुने समारोहमा नगद, ताम्रपत्र र दोसल्लासहित उनलाई पुरस्कृत गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया