मनाङ जिल्ला अस्पताल अहेवकाे भरमा

राष्ट्रिय समाचार समिति (रासस) २०७९ जेठ २४ गते १४:५०

मनाङ ।
हिमाली जिल्ला मनाङको एक मात्रै अस्पताल अहेवकै भरमा सञ्चालन हुँदै आइरहेको छ । सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी अहेवलाई सुम्पदा स्थानीयवासी झन चिन्तित बनेका छन् । अहेवको भरमा जिल्ला अस्पताल छोड्दा सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत जाने गरेकोे गुनासो स्थानीयवासीले गरेका छन् ।

उपचारका लागि अस्पताल पुगेका स्थानीयवासी लक्ष्मण गुरुङले उपचार हुनेभन्दा झन् बढी पीडा थपिने गरेको गुनासो गरे । “अस्पतालमा चिकित्सकको दरबन्दी भएपनि उपलब्ध हुँदैनन् । यहाँ सामान्य उपचार पनि नपाउँदा लामो दूरी पार गरेर छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यता छ । अब त झन बर्खा लाग्यो । मौसमको समेत भर हुँदैन उपचार गर्न कसरी पुग्न सकिन्छ खै ,” उनले भने ।

केही समयअघि मात्र जिल्लामा नेपाल प्रहरीका हबल्दार अकस्मात लड्दा उपचारको अभावमा उनको मृत्यु भएको थियो भने अर्का सशस्त्र प्रहरीका जवानको पनि भिरबाट लडेर तत्काल उपचार नपाउँदा मृत्यु भएको थियो । बिरामीलाई अस्पताल लग्यो चिकित्सक छैन । जिल्ला अस्पतालमा आवश्यक चिकित्सक नहुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सर्वसाधारणको दुःखद घटना बढेको छ ।

Advertisement

मनाङवासीले भौगोलिक विकटता, मौसमको प्रतिकूलताका साथै जिल्लाको एक मात्र अस्पतालमा आवश्यक जनशक्ति र उपकरण अभावले अकालमै ज्यान गुमाइरहेका छन् । अस्पतालमा समयमै पुर्‍याइए पनि चिकित्सकको अभावले बिरामी बचाउन नसकिएको स्थानीयवासीले बताए । सदरमुकामसमेत रहेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार जनताका हरेक समस्याहरु आफूसम्म आइपुगे पनि प्रदेश तथा सङ्घीय सरकारबाट उचित पहल नहुँदा उनीहरुको जीवनमाथि नै खेलबाड भइरहेको महसुस भएको बताए ।

“मनाङ जिल्ला अस्पताल प्रदेश सरकारले सञ्चालन गरिरहेको र अस्पतालमा तीनजना चिकित्सकको दरबन्दी छ भन्ने सुनिएको हो तर जनता र राष्ट्रसेवक कर्मचारीलाई समेत आवश्यक पर्दा एकजना पनि चिकित्सक उपलब्ध नहुनु विकटका जनताको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार रहेको प्रस्ट देखिएको छ,” उनले भने । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्ला अस्पतालमा कोभिड दरबन्दीमा चिकित्सकको पद रिक्त रहेको र हाल एकजना मात्र चिकित्सक जिल्लामा रहेको हुनाले नागरिकले खोजेको बेलामा चिकित्सक उपलब्ध नभएको बताए । “

Advertisement

भएका एक चिकित्सक पनि बिदामा रहेकाले जिल्ला अस्पताल चिकित्सकविहीन हुनु स्वाभाविक मान्नुपर्छ,” उनले भने । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराको वेबसाइटबाट अरू जिल्लाका विवरणहरु हेर्दा मनाङ जिल्लामा रहेका स्वास्थ्य संस्थाहरू र तिनमा कार्यरत स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको कुनै विवरण उपलब्ध भएको पाइँदैन ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया