मेयर आचार्यकी छोरी लेख्छिन्: डर लाग्छ कसैले हजुरलाई केही गर्ने पो हो कि
पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यकी छोरी आश्मा आचार्यले आफ्ना बुवालाई पत्र लेख्दै ५ वर्षे कार्यकाल जूनीजूनीसम्म पोखरेलीले सम्झनलायक बनाउन अनुरोध गरेकी छन् । उनले भनेकी छन्: कलम चिन्हमा भोट नहाल्नेका लागि पनि धनराज भन्ने व्यक्ति मेरोभन्दा हाम्रो मा विश्वास गर्ने रहेछन् भनेर हजुरले देखाउनु छ बाबा ।
आश्माको पत्र :
आश्मा आचार्य
छोरी सौभाग्यले अनि छोरा भाग्यले पाइन्छ भन्ने हाम्रो समाजमा म मेरी बाबाको प्यारी छोरी हुन पाएकोमा आफूलाई निकै भाग्यमानी ठान्छु । हरेक उतावचढावमा ढाल बनेर उभिने मेरो बाबाका लागि आज म केही शब्द लेख्दैछु ।
मेरो बाबा धनराज आचार्यको आदर्श, अनि सबैलाई गर्ने सम्मान र इज्जत गर्ने बानीले आज मेरो छाती चौडा भएको छ । सन्दर्भ हो केही समय अगाडिको म मेरो बाबासँगै लाइन्स क्लबको एक कार्यक्रमका लागि नेपाल बाहिर गएकी थिएँ । जाने क्रममा जब हामी खाजा खान एक रेस्टुरेन्टमा गयौं । त्यहाँ हामी सबैले खाजा अर्डर गर्यौ । हामीसँगै गएका ड्राइभर दाइलाई बाबाले ‘खाना खानु भएको छ ?’ भनेर प्रश्न गर्दा दाइले ‘छैन सर’ भनेर जवाफ दिएपछि बाबाले उहाँका लागि खाना अर्डर गर्नुभयो र सँगै बसेको टेबलमा बस्न भन्नुभयो ।
दाइलाई सायद अप्ठेरो लागेर होला हामीसँगै सिटमा नबसी छेउको सिटमा बस्नुभयो । अनि खाना आएपछि बाबाले दाईलाई आफै लगरे दिनुभयो । त्यो देखेर दाइले अप्ठेरो मान्दै म आफै लिन्छु भन्नुभयो । उहाँ दाइका लागि यति ठूलो रेस्टुरेन्टमा खाना खानु पहिलोपटक थियो होला जसले गर्दा निकै अप्ठ्यारो मान्नुभयो, बाबाले आफूले खानुभन्दा अगाडि आफ्नो चालकलाई गरेको व्यवहार देखेर मन एक छिन त स्तब्ध नै भए । हरेक मानिसलाई उसको सामाजिक, आर्थिक अवस्था हेरेर होइन, एउटा मानवताको धर्म सम्झेर समान व्यवहार गर्नुपर्ने रहेछ भनेर मैले मेरो बाबाको कामबाट सिकेँ ।
निर्वाचनको क्रममा राति ३ बजेसम्म पनि पोखरा महानगरका ३३ वटै वडामा गएर कहाँ के समस्या छ सबैको समस्या आफ्नो डायरीमा लेख्ने मेरो बाबाले निर्वाचन भरी आफूलाई मधुमेह र उच्च रक्तचाप छ भनेर पनि बिर्सनुभयो ।
दिनरात घामपानी नभनी आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी अहोरात्र खटिनु भएको देख्दा म हर्षित त छँदैछु । तर हजुरले सार्वजनिक स्थलमा गएर यो ‘के गरेको ? कसरी भयो ?’ भनेर प्रश्न सोध्दा डर लाग्छ कसैले हजुरलाई केही गर्ने पो हो कि भनेर ।
तर बाबा म डराए पनि मेरो डरको हजुरलाई कहिल्यै आभास नहोस्, मलाई चिन्ता भएपनि हजुरको निधारमा कहिल्यै चिन्ताको रेखा देखा नपरोस् । अब हजुर म र मेरो दाइ उज्ज्वलको मात्र बाबा होइन महानगर प्रमुखमा निर्वाचित भएसँगै जब हजुरले सपथ ग्रहण गर्नुभयो त्यसपछि हजुर सम्पूर्ण पोखरावासीको बाबा बन्नुभएको छ ।
जब मलाई समस्या पर्दा आत्तिनु हुन्थ्यो, दिनरात नभनी मलाई साथ दिनुहुन्थ्यो हो, अब त्यसैगरी, सबै पोखरेलीको आँट, साहस, भरोसा अनि एउटा मजबुत पर्खाल भएर हजुर पोखरेलीवासीको अगाडि उभिएको हेर्न मन छ ।
जनताको भावनासँग खेल्नुभयो भने ‘मेयर साब यो के गर्नुभएको ?’ भनेर हजुरलाई प्रश्न उठाउने पहिलो व्यक्ति मै हुने छु
मलाई थाहा छ यो सब हजुरले गर्न सक्नुहुन्छ । यदि, पदमा पुगेर हजुरले पनि अन्यले जस्तै जनताको भावनासँग खेल्नुभयो भने ‘मेयर साब यो के गर्नुभएको ?’ भनेर हजुरलाई प्रश्न उठाउने पहिलो व्यक्ति म हुने छु ।
‘म जागिर खान होइन र भोलेन्टिएर गर्न आएको’ भन्दै हजुरले दिएको भाषण केबल बोलीमा मात्र सीमित नभई व्यवहारमा लागु भएको हेर्न म र मेरा आँखा लालायित छन् । हजुर हरेक भोटरको आशाको दियो हुनुहुन्छ, हजुरले त्यो दियो बालिराख्नु हुन्छ भन्ने मेरो विश्वास छ ।
हरेक पोखरेलीले कलम चिन्हमा हालेको भोटले हजुर यहाँ हुनुहुन्छ र म विश्वत छु हजुरको कलमले हजुरले पोखराको रूपरेखा सुन्दर रूपले कोर्नुहुनेछ । कलम चिन्हमा भोट नहाल्नेका लागि पनि धनराज भन्ने व्यक्ति मेरोभन्दा हाम्रो मा विश्वास गर्ने रहेछन् भनेर हजुरले देखाउनु छ बाबा ।
आशा छ मेरो आश निरासामा बदलिन्न । हजुरलाई लाखौं लाख शुभकामना । हजुरको यो पाँच वर्षे कार्यकाललाई पोखरेली जनताले जुनीजुनीसम्म सम्झिरहून् । सबैको मन, मष्तिकमा, हजुरको काम , लगन र मिहिनेत गहिरो बनेर छाप छोडोस् । हजुर सबैको प्यारो मान्छे बन्नुहोस् हजुरको यो सानी छोरीको मुरीमुरी शुभकामना अनि न्यायो माया !
हजुरको प्यारी छोरी आश्मा
तपाईको प्रतिक्रिया