कानुन नबन्दा कामकाजी भएन जिसस
पोखरा ।
जिल्ला समन्वय समिति(जिसस) कास्कीका निवर्तमान पदाधिकारीले गण्डकी प्रदेश सरकारले सबै जिल्ला समन्वय समितिलाई कानुन बनाएर व्यवस्थित नगरेको गुनासो गरेका छन् । उनीहरुले ५ वर्षे कार्यकालमा कानुन विहीन अवस्थामा काम गर्नु परेको उल्लेख गरे ।
समितिका निर्वतमान प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले प्रदेशले जिल्ला समन्वय समिति सञ्चालन ऐन नबनाएका कारण काम गर्न कठिनाई भएको सुनाए । समन्वय समिति कास्कीका नवनिर्वाचित पदाधिकारीको पदस्थापन तथा निवर्तमानको बिदाइ कार्यक्रममा उनले समन्वय समितिले कानुन बनाउन नपाएको अवस्थामा प्रदेशले बाटो फुकाई दिनुपर्ने उल्लेख गरे ।
‘प्रदेशले समन्वय समितिको काम कर्तव्य र अधिकारबारेका कानुन बनाइ दिनु पर्छ । त्यही कानुनमा टेकेर समन्वय समितिले काम गर्नुपर्छ,’ उनले भने, ‘नयाँ समितिले सशक्त रुपमा पैरवी नगरे समितिको औचित्य पुष्टि हुन सक्दैन ।’ प्रदेश नम्बर १, मधेश, वागमती, लुम्बिनी र ७ नम्बर प्रदेशले कानुन बनाइ दिएको जानकारी दिँदै उनले अरु प्रदेशले दक्ष कर्मचारी र बजेटको व्यवस्था गरेको उल्लेख गरे । प्रदेशले समन्वय समिति चाहिँदै नचाहिने जस्तो व्यवहार गरेको आरोप लगाउँदै उनले प्रदेशले समन्वय समितिलाई ५ लाख दिएर अपमान गरेको दाबी गरे ।
नेपालको संविधानको व्यवस्था अनुसार समन्वय र सहजीकरण गरेर समन्वय समिति चाहिने रहेछ भन्ने ठाउँमा पुर्याएको उल्लेख गर्दै उनले आफ्नो खुट्टामा टेकेर सबैलाई ठीक ठाउँमा ल्याउने गरी काम गर्न सुझाव दिए । उनले विकास निर्माणको औचित्यपूर्ण अनुगमनसहित कानुन निर्माणमा लबिइङ गर्न आग्रह गरे । विकास निर्माणको अनुगमनको कार्यान्वयन गर्ने अधिकार नहुँदा अवलोकन जस्तो भएको चर्चा गर्दै उनले संघीय र प्रदेश सरकारसमक्ष योजनाको लागि लविङ गर्न आग्रह गरे ।
समन्वय समितिको काम, कर्तव्य र अधिकार कार्यविधिमा आउनुपर्ने उल्लेख गर्दै उनले प्रदेश सभाले जिल्ला समन्वय समिति ऐन र जिल्ला सभा सञ्चालन ऐन बनाउनुपर्ने माग राखे । जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर परिणाम र प्रतिफल आउने गरी काम गर्ने प्रतिवद्धता गरे । उनले सबैको साथ सहयोगले समन्वयकारी भूमिका खेल्दै जिम्मेवारी पूरा गर्ने उल्लेख गरे ।
पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले समन्वय समितिको उद्देश्य र लक्ष्य अनुसार कास्कीलाई नमुना जिल्ला बनाउने गरी काम गर्न सुझाव दिए । जनसहभागितामा आधारित कार्यक्रमअघि सार्न आग्रह गर्दै उनले जिल्ला समन्वय समिति महासंघको नेतृत्वमा पुग्नका लागि शुभकामना दिए ।
‘कृषि, पर्यटन, जलस्रोत, उद्योग, पूर्वाधार, समन्वय र सहकार्य सहितको दिगो विकास, समृद्ध कास्कीको मुल आधार’ भन्ने नाराका साथ भएको कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ, एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, जिल्ला समन्वय समिति उपप्रमुख सरिता माल, निवर्तमान उपप्रमुख सावित्री भण्डारी, माछापुच्छे« गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कृष्णकुमारी दवाडी, जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेल, उपसभापति श्रीनाथ बराल र जिल्ला समन्वय अधिकारी नवराज बरालले कास्कीको विकास निर्माणको अनुगमन र सहजीकरणमा समन्वय समितिको भूमिकाका बारेमा बोलेका थिए ।
जिल्ला समन्वय समिति कास्कीको नवनिर्वाचित टिमले बुधबार पोखरा ७ मा रहेको पुष्पलाल स्मृति पार्कको पुष्पलालको शालिक र झपेन्द्र स्मृति पार्कको झपेन्द्र कार्कीको शालिक, पोखरा १६ को मदन आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक र पोखरा १८ सराङकोट जामुनबोटमा रहेको रवीन्द्र अधिकारीको शालिकमा माल्यापर्ण गरेको छ ।
तपाईको प्रतिक्रिया