‘सरकार टुक्रे र मसिना कार्यक्रममा अल्झियो’: पूर्व अर्थमन्त्री गुरुङ

सञ्जय रानाभाट २०७९ जेठ २६ गते १२:५६

पोखरा ।
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रमुख प्रतिपक्ष दल एमाले सांसद किरण गुरुङले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार टुक्रे र मसिना कार्यक्रममा अल्झिएको आरोप लगाएका छन् । प्रदेश सरकारले विगतकै कुरा दोहोर्‍याए पनि नीति तथा कार्यक्रममा टुक्रे र मसिना कार्यक्रम ल्याएको उननको भनाइ छ ।

‘शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका सम्बन्धीका कुरा पटक पटक दोहोरिएका छन् । खास गरी प्रदेशको नीति के हो, कार्यक्रम कस्तो हुनुपर्छ भन्ने भन्दा पनि मसिना मसिना कुरामा जोड दिएको देखिन्छ’, उनले भने, ‘त्यो नीति हो कि होइन, बजेट छुटिन्छ कि छुट्टिदैन कुनै आधार नभइकन नीति तथा कार्यक्रम ल्याइएको छ । केन्द्र सरकारले बजेट छुट्याइएका कार्यक्रममा नीति तथा कार्यक्रममा समेटिएका छन् ।’

प्रदेश सरकारले आफ्नो क्षेत्र अधिकार कुन हो जानकारी नलिइ नीति तथा कार्यक्रम ल्याएको उनको टिप्पणी छ । ‘अधिकारभित्र हो कि होइन जानकारी नराखी नीति तथा कार्यक्रम आएको छ । टुक्रे योजना समेट्दा बजेट टुक्रयाउन मिल्छ कि मिल्दैन ? पनि सरकारलाई थाहा छैन,’ गुरुङले भने, ‘नीति तथा कार्यक्रम अनुसार बजेट कस्तो आउँछ, हेर्न बाँकी छ ।’

Advertisement

उनले प्रदेश सरकार सिद्धान्त र प्रथामिकता ल्याउँदा अल्झिएझैँ नीति तथा कार्यक्रम ल्याउँदा पनि अल्झिएको जनाए । प्रमुख प्रतिपक्ष दल एमालेका अन्य सांसदले पनि टुक्रे योजना समेटेर प्रदेश र संघको चुनाव केन्द्रीत नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरिसकेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार प्रदेश सभामा २०७८-७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेशको अधिकांश नीति तथा कार्यक्रममा पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ । नीति तथा कार्यक्रममा गण्डकी प्रदेशलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य विकास गर्नेदेखि पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने नीति लिइएको छ । केन्द्र सरकारसँग समन्वय गरी पर्यटकीय पूर्वाधार तथा सेवाको गुणात्मक वृद्धि गरेर ३ वर्षमा बाह्य पर्यटकको संख्या, बसाइँ अवधि तथा खर्च दोब्बर बनाउने नीति प्रदेश प्रमुख गुरुङले जनाएका छन् ।

Advertisement

‘हनिमुन टुरिजम’ नारा दिएर प्रदेशका केही ठाउँमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘पर्यटन प्रवर्धनका लागि नेपाल सरकारसँग समन्वय गरी पोखराको लेकसाइडमा रहेको रत्न मन्दिर र हिमागृहलाई सर्वसाधारणका लागि समेत खुला गरी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ,’ गुरुङले भने, ‘गण्डकी प्रदेशमा रहेका तर नामाकरण गर्ने साथै प्रदेशका विभिन्न स्थानमा रक क्लाइम्बिङ र प्याराग्लाइडिङको सम्भावना पहिचान गरिनेछ ।’

किशोरीको स्वास्थ्य सुरक्षाका लागि प्रदेशका सबै सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण र विसर्जनको सुविधा उपलब्ध गरी महिनावारी विभेद अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख गुरुङले सुनाए । ‘प्रदेशवासीलाई मृगौलाको नियमित डायलायसिस सेवा प्रदान गर्न गोरखा अस्पताल, लमजुङ अस्पताल र मध्यबिन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तार गरिनेछ,’ उनले भने ।

नीति तथा कार्यक्रममा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर लगायत प्रजनन अंगको क्यान्सरको निशुल्क उपचारलाई निरन्तरता दिने उल्लेख छ । जिल्ला अस्पतालहरूबाट प्रत्येक महिना पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ जाँच निःशुल्क गर्ने कार्यक्रममा छ । १६ वर्ष मुनिका बालबालिकामा हुने सबै प्रकारका क्यान्सरको निःशुल्क उपचार गर्ने प्रदेश प्रमुख गुरुङले सुनाए । गण्डकी प्रदेशको विज्ञान तथा प्रविधि प्रतिष्ठानको कार्यालय तथा प्रयोगशालाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने जनाएको छ । ‘श्रमको सम्मान गरौँ’ भन्ने भावनालाई प्रदेशभर विस्तार गरी समाजमा कामप्रति सकारात्मक धारणा विकास गर्दै युवालाई काममा लाग्न प्ररित गर्ने योेजना सरकारले अगाडि सारेको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया