उपल्लो मुस्ताङमा फौजी किराको आतंक,किसान चिन्तित
विषादी छर्किदा किरा मरे पाप हुने हुँदा लामा पुजा
जोमसोम–चिनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङमा फौजी किराको प्रकोपले स्थानीय किसानको बालीनाली सखाप पारेको छ ।उपल्लो मुस्ताङमा दुई साताअघिदेखि देखिएको फौजी किराको प्रकोप अझै नियन्त्रणमा आउँन नसकेको जनाईएको छ ।
उपल्लो मुस्ताङको घिलिङ देखि कोरलानाकासम्मका बस्तीमा स्थानीयले बर्सेनि एकबाली मात्र खेती गर्ने गर्छन् । अहिले उपल्लो मुस्ताङको खेतबारीमा उवा,जौ,गहु लगाएको छ ।उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा फौजी किराको प्रकोप देखिएको हो । उपल्लो मुस्ताङमा डल्लो खालको फट्याङग्रा प्रजाती फौजी किराको प्रकोपले स्थानीयको बाली नाली ध्वंस्त पारेको लोमान्थाङका कृषि प्राविधिक कृष्ण गौतमले जानकारी दिए । लोमान्थाङ गाउँपालिकाको वडा १,२,३ र ४ नम्बर वडाहरुमा फौजी किराको प्रकोप देखिएको कृषि प्राविधिक गौतमले जानकारी दिए ।‘ उपल्लो मुस्ताङको खेतबारीमा घाँस,झार,आलु,उवा,जौ र गहु सखाप पारिदिएको छ,कृषि प्राविधिक गौतमले भने,‘हामीले यसबारे स्थानीयले ढिलो गरी खबर गरे,हामीले बिषादी छर्केर २ दिन अघि देखि फौजी किरा नियन्त्रण गर्ने प्रयास गरेका छौं ।’
उपल्लो मुस्ताङमा फोजी किराले लगभग पुरै बालीनाली सखाप पारिदिएको हो ।कृषि प्राविधिक गौतमले भने,‘ हामीलाई पहिला यसबारे खबर गरिएन,हामीले सूचना पाउँदा बालीनाली सोत्तर भईसकेको रहेछ ,त्यही पनि किरा हटाउन बिषादी छर्कने कामलाई अघि बढाएका छौं ।’
यस्तै,उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको वडा १ को चराङ र मराङ र वडा ३ को घिलिङमा पनि फौजी किराको प्रकोपले बालीनाली नष्ट गरिदिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कृषि प्राविधिक मनहादुर सहकारीले जानकारी दिए । उपल्लो मुस्ताङमा स्थानीयले लगाएको अन्नबाली फौजी किराले सखाप पारिदिएपछि स्थानीय किसान चिन्तित देखिएका छन् ।लोघेकर दामोदरकुण्ड १ र ३ मा रातो टाउँको गरेकी फौजी किराको प्रकोपले स्थानीयले लगाएको बालीनाली नष्ट पारिदिएको उनले बताए । ३ वर्षअघि यस्तै फौजी किराको प्रकोपले स्थानीयले लगाएको बालीनाली नष्ट गरेकोमा पुन यसवर्ष पनि सोही फौजी किराको प्रकोप देखिएको कृषि प्राविधिक सहकारीको भनाई छ ।
उपल्लो मुस्ताङमा फौजी किराको प्रकोप देखिएपनि स्थानीयले त्यसलाई नियन्त्रण गर्न नसक्दा समस्या उब्जिएको हो ।कृषि प्राविधिक सहकारीले भने,‘ हामीले चराङको एउँटा खेतमा विषादी छर्केर हे¥यौं,फोजी किरा निकै नियन्त्रण भएको पायौं ,तर स्थानीयले खेतबारीमा बिषादी छर्किन मानेका छैनन् ।’स्थानीयले बिषादी छर्किन ईच्छ्या नदेखाएकाले विषादी छर्किएर फौजी किरा नियन्त्रण गर्ने काम अघि बढाउन नसकेको उनले उल्लेख गरे ।
उपल्लो मुस्ताङमा अहिले खेतबारीमा फापर छर्किने बेला भएपनि फौजी किराको प्रकोपले फापर छर्किने काम हुन नसकेको घिलिङका स्थानीय सम्तेनधावा गुरुङले जानकारी दिए । उनले खेतबारीमा लगाईएका सबै बालीनाली, झारपात र पशुचौपायालाई दिने घाँस समेत सखाप पारिदिएको बताए ।
बौद्ध धर्मप्रति आस्था रहेको हिमाली जिल्ला मुस्ताङमा मारकाट र बली दिने कामलाई पापको संज्ञा दिईन्छ ।उपल्लो मुस्ताङमा देखिएको अहिलेको फौजी किराको आतंक हटाउनको लागि बिषादी छर्किने कामलाई पाप गरेको सम्झिन्छन् उपल्लो मुस्ताङबासी । खेतबारीमा औषधि छर्किएमा देउता र नाग रिसाउने धार्मिक मान्यताका कारण फौजी किरा रोकथामका लागि बिषादी छर्ने काम हुन नसकेको लोघेक दामोदरकुण्ड –१ वडाध्यक्ष टै ढिन्डुक ठकुरीले उल्लेख गरे ।
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा फौजी किराको संक्रमण देखिएपछि स्थानीय स्तरमा लामाहरु राखेर धार्मिक पुजापाठ गर्ने गरिएको छ । बुधबार पनि फौजी किरा धपाउन लोमान्थाङको छोसेर र लोघेकर दामोदरकुण्ड–३ घिलिङमा लामाहरु राखेर धार्मिक अनुष्ठान गरिएको छ ।
तपाईको प्रतिक्रिया