पृथ्वी राजमार्गमा यातायात अवरुद्ध, मर्स्याङ्दीमा कार खस्यो, २ शव भेटियो

समाधान संवाददाता २०७९ जेठ २७ गते ९:५०

दमौली ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बाँधनजिक पृथ्वी राजमार्ग भाँसिदा यातायातका साधन आउजाउ रोकिएको छ । सडक करिब २० मिटर भासिएको छ ।
अविरल वर्षाका कारण सडक छेउको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको छ । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारी साधन फर्काइएको छ ।
सडक भासिएको ठाउँबाट एउटा कार तल खसेको देखिएको छ । सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ ।

Advertisement

प्रहरीका अनुसार उक्त कार आबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र कोको थिए भन्ने खुलेको छैन । तनहुँ प्रहरी प्रमुख रेग्मीले त्यसबारे बुझिरहेको बताए ।

सडक भासिएको ठाउँमा दुई शव फेला परेको छ। मर्स्याङ्दी नदी किनारामा शुक्रबार बिहान शव फेला परेका हुन्। दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए। पोखरा र चितवनबाट आएको गोताखोर टोलीबाट खोजी जारी छ। ‘मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने अनुमान छ,’ उनले भने। अविरल वर्षापछि गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो।

Advertisement

तपाईको प्रतिक्रिया