पोखराकै स्कुलमा किताब अभाव

६५-७० प्रतिशत किताब पुगिसकेको जनक शिक्षा केन्द्रको भनाइ

रिखिराम जिसी २०७९ जेठ २७ गते १०:२८

पोखरा ।
‘गण्डकी प्रदेशको राजधानी पोखरा, त्यसमाथि पनि पोखरा विमानस्थलदेखि ५ सय मिटर नजिकै रहेको मेरो विद्यालय पार्दी माध्यमिक विद्यालयमा अझैसम्म पनि सरकारी पाठ्यपुस्तक आएको छैन भने अन्यत्र के हालत होला ?’

शिक्षक रोमहर्षण पौडेलले फेसबुकमा पोखेको व्यथा हो यो । मुस्ताङ चोकमा रहेको विद्यालयमा शैक्षिक सत्र सुरु भएको करिब १ महिना हुँदासम्म आधासम्म विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध नभएको पौडेलले बताएका छन् ।

शिक्षक पौडेलका अनुसार ६ सयभन्दा बढी विद्यार्थीमध्ये हालसम्म २ सय विद्यार्थीलाई मात्र पाठ्यपुस्तक उपलब्ध भएको छ । पाठ्यपुस्तकको अभाव हुँदा शिक्षण सिकाइमा कठिन भएको शिक्षक पौडेलले बताए । ‘पाठ्यपुस्तक नहुँदा विद्यार्थीलाई पठनपाठन गर्न कठिन भएको छ,’ उनले भने, ‘राजधानीका विद्यालयको अवस्था यस्तो छ, झन् ग्रामीण क्षेत्रको विद्यालयको अवस्था कस्तो होला ?’

Advertisement

शिक्षण सहजताका लागि विद्यालयलाई छिटोभन्दा छिटो पाठ्यपुस्तक उपलब्ध गराउन उनले आग्रह गरे । जनक शिक्षा सामग्री केन्द्रबाट विद्यालय र विद्यार्थीले सिधै खरिद गर्न मिल्ने व्यवस्था भए पाठ्यपुस्तक उपलब्धता सहज हुने उनको भनाइ छ । जनक शिक्षाले नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक पुर्‍याउने दायित्व लिएको छ । सरकारी स्वामित्वको यो संस्थाले यो वर्षमात्रै किताब पुर्‍याउन ढिला गरेको होइन । वर्षभरिको पढाइ सकिएर जाँच दिने बेलासम्म पनि जनक शिक्षाले किताब पुर्‍याउन सकेको छैन ।

माछापुच्छ्रे गाउँपालिका २ भुर्जुङखोलामा रहेको माछापुच्छ्रे माध्यमिक विद्यालयमा पनि आवश्यक मात्रामा पाठ्यपुस्तक पुग्न सकेको छैन । ‘विद्यालयमा हालसम्म ५० प्रतिशतमात्र पाठ्यपुस्तक प्राप्त भएको विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले बताए । हालसम्म ५० प्रतिशत पाठ्यपुस्तक प्राप्त भएको छ,’ उनले भने, ‘पाठ्यक्रम परिवर्तन नभएको कक्षाका लागि पुराना पाठ्यपुस्तक मिसाएर ७५ प्रतिशत विद्यार्थीलाई वितरण गरेका छौँ ।’ अब पाठ्यपुस्तक परिवर्तन नभएका कक्षामा २५ प्रतिशत र परिवर्तन भएको कक्षामा ५० प्रतिशत पाठ्यपुस्तक विद्यालयलाई आवश्यक रहेको आचार्यले जनाए ।

Advertisement

पोखरा महानगरपालिकाको शीतलादेवी सामुदायिक विद्यालयमा हालसम्म ९० प्रतिशत पाठ्यपुस्तक प्राप्त भएको छ । विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीका अनुसार कक्षा ६ र ९ का केही विषय अपुग छ । हालसम्म ६५ प्रतिशत पाठ्यपुस्तक सम्बन्धित जिल्लालाई पठाइसकिएको जनक शिक्षा सामग्री केन्द्र गण्डकी प्रदेश कार्यालय प्रमुख जयराम अर्यालले बताए । केन्द्र प्राप्त भए अनुसार पाठ्यपुस्तक माग बमोजिम जिल्लामा पठाइसकेका छौँ,’ उनले भने, ‘प्रदेशका जिल्लामा न्यूनतम ५० प्रतिशत र अधिकतम शतप्रतिशत पाठ्यपुस्तक पठाएका छौँ ।’

मनाङ र मुस्ताङमा शतप्रतिशत र पर्वतमा सबैभन्दा कम पर्वतमा ५० प्रतिशत पाठ्यपुस्तक पठाइएको प्रमुख अर्यालले जिकिर गरे । अन्य जिल्लामा पनि ६० देखि ७० प्रतिशतसम्म पाठ्यपुस्तक पठाइसकेको उनको भनाइ छ । ‘कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम लागु भएकाले उक्त कक्षाका पाठ्यपुस्तक अधिक अभाव छ,’ उनले भने, ‘कार्यालयमा उपलब्ध हुनासाथ हामी जिल्लामा पठाउँछौँ ।’

अर्यालका अनुसार गण्डकीका १० जिल्लामा पोखरा कार्यालयले किताब आपूर्ति गर्छ । केन्द्रबाट किताब लगेर बिक्री गर्न ३ सय बिक्रेता सूचीकृत भएका छन् । तीमध्ये कास्कीका १ सय ७५ छन् । तिनले आआफ्ना पसलबाट किताब बेच्छन् । त्यसको बिल विद्यार्थी-अभिभावकले बुझाएपछि विद्यालयबाट पैसा फिर्ता पाउँछन् । विद्यालयलाई विद्यार्थी संख्या अनुसार पालिकाले पैसा उपलब्ध गराउँछ । पालिकालाई सरकारले पठाएको हुन्छ । पोखरा कार्यालयमा जनक शिक्षा सामग्री केन्द्रले अधिकांश विषयका ३०-३० हजार प्रतिका दरले र केहीको ३५ हजार प्रति किताब पठाउने अर्यालले जानकारी दिए ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया