
सञ्जय रानाभाट
पोखरा ।
स्वदेशमा बेरोजगारी समस्या चुलिँदै जाँदा विदेशिनेको संख्या दिनप्रति दिन बढ्दो छ । उत्पादन भएका युवा जनशक्ति विदेश पलायन हुँदा देशले विकासको फड्को मार्न सकेको छैन । लाखौं यूवा विदेशिने तरखरमा हुँदा यति नै संख्यामा स्वदेशमै बेरोजगार भएका छन् । यही अवस्थालाई ख्याल गर्दै गण्डकी प्रदेश सरकारले आउँदो साउन दोस्रो साता ‘रोजगार मेला’को कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रदेश सरकारको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदेशका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले मेला आयोजना हुन लागेको हो । ‘स्थानीय तह र रोजगारदातासँगको रोजगार मेला’ मा प्रत्यक्ष २ सय बेरोजगार युवालाई रोजगारी दिने उद्देश्य रहेको प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले बताए ।
उनका अनुसार साउन महिनामा एसइई परीक्षाको नतिजा प्रकाशन भइसक्ने हुँदा विद्यार्थीलाई लक्ष्य गरेर कार्यक्रम आयोजना गरिने सुनाए । ‘प्रदेशभरका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्नुका साथै कार्य क्षेत्रमा परिचालन गर्ने गरी मेला आयोजना गर्छौं,’ उनले भने ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले असंगठित क्षेत्रमा काम गर्नेहरुलाई संगठित बनाउन मेला आयोजना गर्न लागिएको जानकारी दिए । ‘हाम्रा उद्यमी, व्यवसायीले आफूलाई चाहिने जनशक्ति भेट्नुभएको छैन, जागिर खोज्नेले उद्योग धन्दामा पहुँच पाएका छैनन्,’ उनले भने, ‘दुवैथरीको भेट एकै ठाउँमा हुने मौका रोजगार मेलाले दिनेछ । मेलामा सयौंजनालाई नियुक्ति नै दिने हाम्रो तयारी छ,’ उनले भने ।
रोजगार मेला गर्ने विषयमा प्रदेशको राजधानी पोखरामा मंगलबार सरोकारवाला निकायहरु, पत्रकार, रोजगारदाता, उद्यमी, व्यवसायी, परामर्श केन्द्र र सरकारी कार्यालयका कर्मचारीबीच अन्तरक्रिया भएको छ । यसअघि पनि मन्त्रालयले सरोकारवासँग छलफल गरेको छ । मन्त्री श्रेष्ठले बढीभन्दा बढी बेरोजगार युवाहरुलाई रोजगार र स्वरोजगार बनाउन मेलाले सहयोग गर्ने बताए । ‘कामदार र रोजगारदाताबिचमा भएको जुन किसिमको दुरी छ । यसलाई प्रदेश सरकारले जोड्न चाहन्छ । प्रदेशलाई उत्पादन मुलका क्षेत्रमा जनशक्ति तयार गरेर प्रदेशलाई आत्मनिर्भर बनाउन चाहन्छ,’ श्रेष्ठले भने ।
मेलाबाट रोजगारी पाउनेमात्रै नभई स्वरोजगार पनि बनाउने उद्देश्य प्रदेश सरकारको भएको उनले बताए । उनले रोजगार मेलाबाट रोजगारी पाएका सम्पूर्णको रेखदेखदेखि तलब भत्तासम्म सम्पूर्ण कुराको पहल सरकारले गर्ने बताए । ‘हामी दक्ष उत्पादन गर्न चाहन्छौं । उत्पादन भएका कामदारको खपत प्रदेशमै गर्छाैं,’ उनले भने, ‘मेलामा १० हजार बढी युवा आउने हाम्रो योजना छ । ती युवालाई क्रमश रोजगार र स्वरोजगार बनाउँछौं ।’ नेपालको शिक्षा प्रणालीलाई सटिफिकेट तयार गर्ने थलोको रुपमा नभई उत्पादनमूलक क्षेत्रको वृद्धि गर्ने थलोको रुपमा विकास गर्ने बताए । स्वदेशमा काम गर्न सक्ने वातावरण प्रदेशले विकास गर्छ ।
मन्त्री श्रेष्ठले सबैजना डाक्टर र इन्जिनियर बनेमा जीवन सुखी र धनी हुन्छौं भन्ने सोच हुँदा पनि दक्ष कामदार उत्पादनमा ह्रास आएको बताए । ‘अहिले देशमा नर्सको संख्या अध्यधिक वृद्धि भइसक्यो । कति धेरै अहिले पनि वेरोजगार छन् । यस्तो सोच सबैले बदल्नुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘पेसा व्यवसाय राजगार सबैका सम्मान हामी सबैले गर्न सक्नुपर्छ । श्रमको सम्मान गरेर अगाडि बढेमात्र सफलता हासिल गर्न सकिन्छ ।’
बुधबार पोखरामा भएको कार्यक्रममा सहभागी व्यवसायी तथा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले सरकारले बेरोजगार युवाहरुको क्षमता बुझेर समन्वय गरे रोजगार दिन आफूहरु तयार भएको बताए । ‘सरकारले युवाहरुको क्षमता बुझेर हामीसँग कोडिनेसन गरे ३-४ जना पाइलट आजकोभोलि नै म रोजगारी दिन्छु, म संलग्न रहेका अन्य व्यवसायहरुमा कामदारको आवश्यकता छ । सरकारले सहजीकरण गरे मेरो यसमा समर्थन छ,’ श्रेष्ठले भने ।
‘रोजगारी अघि तालिमको माग’
बेरोजगार युवालाई रोजगार र स्वरोजगार बनाउने उद्देश्यले हुन लागेको मेला अघि नै युवालाई दक्ष बनाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । मेला आयोजनाको तयारी स्वरुप बिहीबार आयोजित भेलाका सहभागीले उक्त सुझाव दिए ।
२ सय युवालाई एकैपल्ट रोजगारी दिने उद्देश्यले हुन लागेको मेलामा दक्ष जनशक्ति उत्पादन हुनुपर्र्ने आवाज उठेको थियो । स्वेदशमा भएका जनशक्तिलाई काम गर्न सक्ने वातावरण मिलाउनुपर्ने, दक्ष जनशक्ति उत्पादन नहुँदा विदेशिन बाध्य युवालाई स्वदेशमै रहेर काम गर्न सक्ने वातावरण मिलाउन आवाज उठेको हो ।
बजारको आवश्यकता हेरर जनशक्ति उत्पादन हुनुपर्ने फर्निचर व्यवायी संघका निवर्तमान अध्यक्ष प्रेमराज बस्यौलाले बताए । ‘बजारको आवश्यकता के हो ? यतातिर ध्यान दिनुपर्यो । फर्निचर व्यवसायमा भन्नुहुन्छ भने, नेपालीभन्दा भरतीय जनशक्ति धेरै छन्,’ उनले भने, ‘फर्निचर व्यवसायमा सिकर्मी हेर्यो भने, सबै भारतीय छन्, यतातिर हामीहरुले ध्यान नदिएको देख्छौं ।’
उनले बजारमा प्लम्बिङ, मार्वल लगाउने कामदार, वेरिङदेखि सानासाना कुरामा विदेशबाट जनशक्ति ल्याउनुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकारको भूमिका हुनुपर्ने बताए । ‘सुरुमा हामी हाम्रो साना साना कुरामा आत्मनिर्भर छैनौं । धेरै मसिनामसिना कुरा केलाउनुपर्यो,’ उनले भने, ‘सबैभन्दा बढी आम्दानी गर्ने पेसा व्यवसायमा हामी विदेशी जनशक्ति ल्याउनु अवस्था छ । यसले गर्दा यसलाई चिर्न दक्ष दनशक्ति उत्पादन गरेर नेपालीलाई नै फर्निचर सम्बन्धी तालिम दिएर रोजगारी र स्वरोजगारी बनाउनुपर्छ ।’
उनले नेपालमा श्रमको सम्मान नभएकै कारणले धेरै युवा जनशक्ति विदेशिन बाध्य भएको बताए । ‘नेपालमा १८ घण्टा काम गरे पनि सरकारले दिएको न्यूनतम तलब पाउन मुस्किल छ । अनि मान्छे बिहानबेलुका छाक टार्न धौ भएपनि विदेशिन बाध्य हुँदैन त ?’ उनले भने, ‘अब विदेशी सिटममा जानुपर्यो कामदारलाई घण्टाको हिसाब गरेर तलब पाउने व्यवस्था प्रदेश सरकारले गर्नुपर्छ । श्रमको सम्मान गर्न व्यवसायी, उद्योग, समन्वय केन्द्र तयार हुनुपर्छ ।’
पोखरा उद्योग वाणिज्य संघ उपाध्यक्ष गोकर्ण कार्कीले समय सान्दर्भिक कामदारलाई तलब नदिए विदेशिनेको ग्राफ बढेर जाने बताए । ‘समय सान्दर्भिक तलब नहुँदा धेरै जनाले जागिर छोडेका छन्, उनीहरुको अन्तिम विकल्प भनेको विदेशिनु भएको छ,’ उनले भने, ‘सरकारको नीति कार्यक्रमलाई चेञ्ज गरेर हुन्छ कि के गरेर हुन्छ कामजारको उचित ज्याला दिनुपर्छ तबमात्र भएका नयाँ कामदार थप गर्न सकिन्छ ।’ उनले प्राप्त गरेकार कामदारले पनि एउटा निश्चित समयसम्म काम गर्न सम्झौता गर्नुपर्ने बताए । ‘काम सिकायो २ महिना नहुँदै छोड्छ । रोजगारदाता पनि हैरानै छन्, यसकारण हामीहरुले देशको आर्थिक अवस्था वृद्धि गर्न रोजगारदाता, कामदार र राज्यबिचमा सम्झौता हुन आवश्यक छ,’ उनले भने ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले दक्ष कामदार नहुँदा पालिकामा लाखु छोप्न भारतबाट कामदार ल्याउनुपरेको बताए । ‘पालिकामा लाखुले खेती बाली खाइदिएपछि लाखु धपाउन मान्छे खोजियो । नेपाली कोही नभेटिएपछि भारतबाट मान्छे ल्याइयो,’ उनले भने, ‘एउटा बाँदर समातेको २ हजार तिर्ने सम्झौता भयो । एक फेर जालो थापेपछि एकैचोटि ३०-३५ वटा परे । एकैपटक यति धेरै पर्दा ६० हजार कमाइ हुँदो रैछ ।’

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया