सडकबाट छाडा चौपाया हटाउन थालियो, आजबाट ढल तथा नाला सफाइ अभियान
पोखरा ।
पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्नका लागि छाडा चौपाया संकलन थालिएको छ । पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले मेयर धनराज आचार्यको निर्देशन अनुसार बिहीबारदेखि सडकमा देखिएका छाडा चौपाया हटाउने अभियान सुरु भएको जानकारी दिए ।
उनले बिहीबार सेतीवारीका सडकमा रहेका छाडा चौपाया संकलन गरिएको बताए । बिहीबार ३७ छाडा चौपाया संकलन गरी कान्जी हाउसमा राखिएको छ । शुक्रबार पनि अभियान जारी रहनेछ । ‘पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्ने प्रयास स्वरुप हामीले बिहीबार ३७ छाडा चौपाया संकलन गरे कान्जी हाउसमा राखेका छौं । शुक्रबार पनि अभियान जारी रहन्छ,’ उनले भने ।
यसरी संकलन गरिएका छाडा चौपाया पोखरा १४ स्थित बाच्छेबुढुवामा रहेको गौशालामा लगिनेछ । ल्यान्डफिल साइटसँगै रहेको गौशालामा हाल १ सय ५० हारारहारीमा छाडा चौपाया छन् । करिब ३५ रोपनीमा चौपायाको चरन क्षेत्र र १० रोपनीमा तारबार लगाएर छानाको व्यवस्थापन गरिएको छ । वरिष्ठ कानुन अधिकृत शर्माले सडकमा छाडा चौपाया देखिए वडा हुँदै महानगरमा खबर गर्न नगरवासीलाई आग्रह गरेका छन् ।
पोखरामा शुक्रबारबाट ढल र नाला सफाइ अभियान सुरु हुने भएको छ । महानगरका मेयर आचार्यको सक्रियतामा सडक विभाग र पोखरा महानगरपालिकाले संयुक्त रूपमा ढल सफा गर्ने अभियान हुन लागेको हो । ३ दिनसम्म चल्ने यो अभियानमा साथ दिन संघ, संस्था र नगरवासीलाई मेयर आचार्यले आह्वान गरेका छन् ।
पोलिथिनजन्य पदार्थबाट भएको फोहोरका कारणले अत्यधिक वर्षाका बेला ढल बन्द हुनुका साथै बाटोमा पानी बग्दा दुर्घटनासमेत हुने गरेको छ । अभियान शुक्रबार बिहान ७ बजे पोखराको पृथ्वीचोक स्थित ट्राफिक प्रहरी कार्यालयबाट सुरु हुनेछ ।
तपाईको प्रतिक्रिया