स्थानीय सरकारसँग सम्भावना खोज्दै निजी क्षेत्र
पोखरा उद्योग वाणिज्य संघले कास्कीका जनप्रतिनिधिसँग विकास, निर्माणका योजनासँगै आर्थिक समृद्धिका खाकाबारे छलफल गरेको छ
पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, रुपा प्रमुख नवराज ओझा, माछापुच्छ्रे गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ तथा उपप्रमुख सीता अधिकारी एवं पोखराका वडाध्यक्षहरुलाई सम्मानित गरेको हो । संघले कास्कीका सबै पालिकाका प्रमुख र उपप्रमुख तथा पोखराका ३३ वटै वडाका वडाध्यक्षसँग अन्तक्र्रिया गरेको छ ।
नवनिर्वाचित जनप्रतिनिधिलाई निजी क्षेत्रका एजेन्डाहारे जानकारी गराउने, सहकार्य र सम्भावनाका क्षेत्र प्हिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघ अध्यक्ष नारायण कोइरालाले बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्यसमेत रहेका पोखराका मेयर धनराज आचार्यले महानगरको सबैभन्दा ठूलो चुनौती नै सुशासन कायम गर्नु रहेको बताए । उनले आउँदा केही दिनभित्रै महानगरले एउटै ढोकाबाट सबै सुविधा दिने र सुशासनका सबै सूचकांक पालना गरिने उद्घोष गरे ।
करका दरहरु अव्यवहारिक र चर्को भएको व्यवसायीको गुनासो सुनेपछि उनले करको दर परिवर्तन गर्न आफू तयार रहेको जनाए । ‘राजस्वको दायरा बढाउँछौँ, जग्गाको मूल्यांकनमा पुर्निर्वचार गरिन्छ तर करको दर घटाएपछि राजस्व बढाउने ठाउँ देखाउने काममा निजी क्षेत्रले सहयोग गर्नुपर्छ,’ उनले भने । मेयर आचार्यले नागरिकको दैनिक जीवन सजिलो र सस्तो बनाउने योजना सुनाउँदै चुनावमा गरिएका प्रतिवद्धता पूरा गर्ने उल्लेख गरे । पोखराको ट्राफिक व्यवस्थापनको योजना बनिरहेको सुनाउँदै उनले वरपरका गाउँपालिकाको विकासमा पनि महानगरले सहयोग गर्ने वचतवद्धता गरे ।
केही वर्षयता पोखरा महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध तथा दातासँगको सम्बन्ध खासै राम्रो नभएको जिकिर गर्दै उनले बिहीबार नै १२ देशका राजदूत पोखरा आउँदै गरेको जानकारी दिए । उनले तालचोकदेखि बेगनाससम्मको नमुना सडकको टेन्डर खोल्ने तयारी भएको पनि बताए । मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङले मादीले कृषि र पर्यटनको माध्यमबाट समृद्धिको परिकल्पना गरेको उल्लेख गरे । उनले सो क्षेत्रको कृषि र पर्यटनमा लगानी गर्न व्यवसायीलाई आग्रह गरे । ‘गाउँमा ठूलो व्यवसाय हुने सम्भावना अझै बनेको छैन’, उनले भने, ‘कृषि र पर्यटनमा भने सम्भावना छ । आउनुहोस् लगानी गर्नुहोेस् । हामी सघाउँछौंँ ।’
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले भूमि बैंक स्थापना गरेको र त्यही बैंकमार्फत कृषि कर्म गर्न चाहने व्यवसायीलाई जग्गा उपलब्ध गराउने योजना सुनाए । ‘हामी निजी जग्गा भाडामा उपलब्ध गराउँछौँ । ५ वटा बैंकसँग ऋण सम्झौता गरेका छौँ । पुँजी पनि दिन्छौँ र उत्पादित सामान बजारसम्म पुर्याउन सघाउँछौँ,’ उनले भने । पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरामा बनाउने भनिएको चक्रपथलाई नै ट्राम चल्ने खालको बनाउनुपर्नेमा जोड दिए । ट्रामसहरी क्षेत्रमा चल्ने रेल नै हो । संघीय सरकारको बजेट वक्तव्यमा पोखरासहितका नगरमा ट्राम सञ्चालनको सम्भाव्यता खोजिने उल्लेख छ ।
मादी करिडरले सो क्षेत्रको सम्भावनाको ढोका खोल्ने भएकाले करिडर निर्माणमा सहजीकरण गर्न जनप्रतिनिधिसँग उनले आग्रह गरे । पोखरा महानगर सुशासनमा अब्बल बन्नुपर्ने, यहाँको प्रदूषण घटाउनेतिर लाग्नुपर्ने तथा आर्थिक सामथ्र्य बढाउने काम हुनुपर्ने उनको जोड छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले पोखरामा सम्पत्ति कर अन्य पालिकाको भन्दा महंगो भएको गुनासो गरे । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरा महानगरले एउटै ढोकाबाट कर तिर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । फुटपाथको अनधिकृत व्यवसाय रोकिनुपर्ने, ट्राफिक व्यवस्थापन हुनुपर्ने, महानगरले प्रविधिमा आधारित रहेर नागरिकलाई सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड छ ।
‘फुटपाथमा अनधिकृत व्यवसाय भएको छ, त्यो व्यवसायले कर तिर्ने व्यवसायी नै विस्थापित हुने अवस्था छ’, उनले भने, ‘मुख्य सहरी क्षेत्रमा पार्किङको पनि समस्या छ । रिङरोड बन्यो भने पोखराको आधा सवारी साधन त्यता जान्थे, मुख्य सहरमा सहजता हुन्थ्यो ।’ पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । पार्किङको समस्या सुल्झाउन अभियान सुरु गरिएको उनको भनाइ छ ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की र महासचिव सुरेन्द्रमान बिजुक्छेले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया