सरकारको होइन, ५ दलको नीति तथा कार्यक्रम: एमाले सांसद, गुरुङ

समाधान संवाददाता २०७९ जेठ २७ गते १४:२३

पोखरा ।
गण्डकी प्रदेशका सासंद मायानाथ अधिकारीले आगामी वर्षको नीति तथा कार्यक्रम ‘पोकैपोकाको संगालो’ भएको बताएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा बुधबार प्रस्तुत गरेको २०७९-८० को नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद अधिकारीले हेर्दा हा कि हो कि जस्तो लाग्ने तर खोज्दा केही नपाउने नीति तथा कार्यक्रम आएको टिप्पणी गरे ।

‘पुराना योजना ओझेलमा परे,’ उनले भने, ‘नयाँ नयाँ योजना बनाउन खोज्दा महत्व बोकेका पुराना योजनाले निरन्तरता पाएनन् ।’ सांसद अधिकारीले गठबन्धनका ५ पार्टीका गुनासो राख्दा जनताका हितका योजना पर्न नसकेको प्रतिक्रिया दिए । जनताले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाएका उनको भनाइ छ ।

‘अघिल्लो सरकारले जनतामा आस जगाएको थियो,’ उनले भने, ‘जनताको सरोकारका विषयलाई प्राथमिकता नदिँदा, सरकार जिम्मेवार नबन्दा संघीयतामाथि नै जनताले प्रश्न उठाएका छन् ।’ सरकारका नीति तथा कार्यक्रम ‘समृद्ध प्रदेश, सुखि नागरिक’ नारामा प्रतिवद्ध नभएको अधिकारीले आरोप लगाए ।

Advertisement

वितरणमुखी नीति तथा कार्यक्रमले समृद्ध प्रदेश र सुखी नागरिक होइन, गरिब प्रदेश र भिखारी नागरिक बनाउने निश्चित छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम एक कदमअघि बढेर आएको सांसद आशा कोइरालाले बताइन् । नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतिपूर्ण रहेको उनको भनाइ छ । ‘कृषि, पशुपालनमा सस्तो ब्याजमा ऋण देउ न त भनेर भनियो तर यसतर्फ सरकारको ध्यान गएन,’ उनले भनिन्, ‘उत्पादनका साधनै नभएकाले कसरी काम गर्छन् ? अनुदानतर्फ उपयुक्त नीति देखिँदैन । अहिलेको अनुदानको तौरतरिका उपयुक्त छैन ।’

Advertisement

सांसद किरण गुरुङले नीति तथा कार्यक्रम एकातिर समस्या अर्काेतिर कार्यक्रम भएको बताए । सांसद गुरुङले समस्याको पहिचान र समाधानको ठोस योजना सरकारले ल्याउन नसकेको टिप्पणी गरे । सरकारले आफ्नो स्रोत र साधन, कार्यक्षमतालाई ध्यान नदिई अन्धधुन्ध नीति तथा कार्यक्रम ल्याएको जिकिर गरे । उनले भने, ‘लक्ष्य के हो, उदेश्य के हो, नीति के हो सरकार आफैं रनभुल्ल छ ।’ नीति तथा कार्यक्रम विषयहीन र गन्तव्य विहीन रहेको उनले आरोप लगाए । सरकारले उत्पादन तथा विकास, पूर्वाधार निर्माणका नीति र कार्यक्रममा जोड दिनुपर्नेमा वितरणमुखी नीति र कार्यक्रममा जोड दिइएको उनले आरोप लगाए ।

‘देश संकटमा होइन, महासंकटमा छ, यस्तो अवस्थामा वितरणमुखी नीति तथा कार्यक्रम आएको छ,’ उनले भने, ‘वितरणमुखी नीति तथा कार्यक्रमले समृद्ध प्रदेश र सुखी नागरिक होइन, गरिब प्रदेश र भिखारी नागरिक बनाउने निश्चित छ ।’ सांसद सरिता गुरुङले सरकारले लिएको बजेटका नीति तथा कार्यक्रम जनताको चौतर्फी हित हुने र जनताको भावना र मर्म बुझ्ने गरी आएको टिप्पणी गरिन् । ‘बजेटका नीति तथा कार्यक्रमले सबै कुरा समेटेको छ,’ उनले भनिन्, ‘यसले गण्डकी प्रदेशका नागरिकको भविष्यको दिशानिर्देश गर्छ ।’

सांसद प्रकाशचन्द्र दवाडीले नीति तथा कार्यक्रमलाई कमलको फूलको संज्ञा दिएका छन् । नीति तथा कार्यक्रम हालसम्मकै उत्कृष्ट भएको उनको दाबी छ । सांसद गायत्री गुरुङले नीति तथा कार्यक्रम निकै लोकप्रिय भएको बताइन् । नेपालको संविधान, पन्ध्रौँ आवधिक योजना, दिगो विकासको लक्ष्य, प्रदेशवासीको चाहना, राजनीतिक दलको विकासका प्रतिवद्धताका आधारमा नीति तथा कार्यक्रम आएको उनले बताइन् ।

सांसद रामबहादुर गुरुङले सरकारले लिएको नीति तथा कार्यक्रमले जनताको सम्बोधन नगरको तर्क गरे । ‘यो नीति तथा कार्यक्रम जनताको होइन,’ ५ दलको हो,’ उनले भने, ‘नीति तथा कार्यक्रम आफैंमा गन्तव्यविहीन छ ।’ सासंद मनकुमारी गुरुङले नीति तथा कार्यक्रम सकारात्मक भए पनि कुनै कुनै योजना दलीय हिसाबले आएको आशंका गरिन् । नीति तथा कार्यक्रमले प्रदेशको मुहार फेर्न नसक्ने सांसद रामशरण बस्नेतले बताए । सांसद विकास लम्सालले सरकारप्रति अविश्वास पैदा हुने बजेट आएको बताए । सरकारको लय, ताल, स्वर नमिलेको यसले प्रमाणित गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया