कवि रमेशलाई शिरोमणि पुरस्कार

समाधान संवाददाता २०७९ जेठ २७ गते १७:३७

पोखरा ।
शिरोमणि पुरस्कार २०७८ कवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदान गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई २ वर्षमा यो पुरस्कार प्रदान गर्ने गरेको छ ।

रमेश ४ दशकदेखि कविता र चित्रकला क्षेत्रमा क्रियाशील छन् । २०२३ पुस १७ गते पोखराको तेर्सापट्टीमा जन्मिएका श्रेष्ठले पृथ्वीनाराण क्याम्पसबाट संस्कृति र इतिहास विषयमा स्नातकसम्म अध्ययन गरेका छन् । उनले २०६६ मा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य र २०७१ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य तथा चित्रकला विभाग प्रमुख, पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।

आफ्ना कविता र चित्रकलालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेका श्रेष्ठले दोस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन लन्डन, १६ औं आर्ट बाइनाले बंगलादेश, कलाकार्यशाला तथा प्रदर्शनी बेइजिङ, सार्क आर्ट क्याम्प भुटानमा सहभागिता जनाएका छन् । नपोतिएका रङहरू गीतसङ्ग्रह २०५२ श्रेष्ठको पहिलो प्रकाशित कृति हो । ‘मलामी पहाड र सारङ्गी’, ‘आँसुमा खसेको पृथ्वी’, र ‘कोलाज उत्सव’काव्य कृति प्रकाशनको तयारीमा छन् ।

Advertisement

उनी राष्ट्रिय प्रतिभा पुरस्कार २०५७ बाट पुरस्कृत भइसकेका छन् । प्रतिभा छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीतकार कृष्णबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष मोती भुजेल र सहसचिव शिव त्रिपाठी थिए । राष्ट्रिय स्तरमा साहित्य, कला र संगीतका क्षेत्रमा विशिष्ट योगदान दिने सर्जकलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

यसअघि शिरोमणि पुरस्कारबाट मुक्तिनाथ शर्मा, अली मियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानांग, सरूभक्त, देवीप्रसाद वनवासी, गोविन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रेम छोटा, अमृत गुरुङ, ओम खत्री र अनुप बराल सम्मानित भइसकेका छन् । असार ४ गते शनिबार पोखरामा कार्यक्रम गरी प्रदान गरिने पुरस्कारको राशि नगद १५ हजार, ताम्रपत्र र दोसल्ला रहेको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया