कृषि
घरपझोङका किसानलाई सूचिकरण प्रणालीमा जोड्न ३ जना सहजकर्ता खटाईयो

जोमसोम :
मुस्ताङको घरपझोङ गाउँपालिकाले किसान सूचिकरण प्रणालीमा आवद्ध हुन ५ वटै वडाका किसानलाई दुईदिने आवश्यक तालिम दिएर ३ जना सहजकर्ता कार्यस्थलमा खटाएको छ। पालिकाले वडा नं १ र २ मा इसाद घताने, ३ र ४ मा रोशनी नेपाली र वडा ४ र ५ मा जुमा थकालीलाई किसान सूचिकरण प्रणालीमा आवद्ध गराउन कार्यस्थल खटाएको किसान सूचीकरण कार्यक्रमका फोकल पर्सन कृषि अधिकृत श्री रोशन थकालीले जानकारी दिए
केन्द्रिय तथ्याङ्क विभागको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार यहाँ ९२१ घरधुरीहरु छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेको वेभबेस किसान सूचीकरण व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ।
उक्त प्रणालीबाट नेपाल भरीका किसानहरुको एकीकृत तथ्याङ्क तयार हुने र तिनै तहको सरकारलाई नीति निर्माण, बजेट व्यवस्थापन, अनुदान बाँडफाँड सहज, किसान पहिचान गरी वर्गीकरण, सुशासन व्यवस्थापन हुने उद्देश्यका साथ मन्त्रालयद्वारा सो स्वफ्टवेयर निर्माण गरिएको हो।
सूचिकरण प्रणालीमा आवद्ध हुनका लागि वेभ ब्राउजरमा गई farmer.moald.gov.np नयाँ दर्तामा किल्क गरी किसान स्वयंले दर्ता गरी आफ्नो व्यक्तिगत खाता खोली विस्तृत विवरण भर्न सकिनेछ भने किसान सहजकर्ताद्वारा समेत उक्त प्रणालीबाट किसानहरुलाई आवद्ध गराउनेछ ।
उक्त प्राप्त तथ्याङ्कको प्रमाणिकरण भने वडा समितिको रोहवरमा पालिकाले गर्नेछ। यस आर्थिक वर्षमा सबै किसानहरुलाई सो प्रणालीमा आवद्व गराउन घरपझोङ गाउँपालिकाको उपाध्यक्षले श्री जमुना थकाली थापामगर ज्यूले निर्देशन दिएकी छिन् ।
आगामी वर्षहरुमा यस प्रणालीमा आवद्ध भएका कृषकले प्राप्त गरेको परिचय पत्रको आधारमा मात्र केन्द्र, प्रदेश र स्थानीय तहको अनुदानमा सामेल गर्ने सम्भावना भएको हुदाँ सबै कृषकहरुलाई सो प्रणालीमा खाता खोल्न आउने सहजकर्ताहरुलाई सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गर्न नि. प्रमुख प्रशासकीय अधिकृत ई. सकल देव शर्मा अनुरोध गरे।
तपाईको प्रतिक्रिया